२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोभिड–१९ संक्रमण नियन्त्रण गर्न जुम्लाको राँकागाउँ सिल

कोभिड–१९ संक्रमण नियन्त्रण गर्न जुम्लाको राँकागाउँ सिल


जुम्ला–जुम्लाको तातोपानी गाउँपालिकाले एकपछि अर्काे गाउँ सिल गर्दै गएको छ । गाउँ–गाउँमा कोभिड–१९ संक्रमणले भयावह रुप लिएपछि गाउँपालिकाले गाउँ नै सिल गर्न थालेको हो ।

गाउँपालिका–१ राँकागाउँमा कोभिड–१९ संक्रमित बढेपछि गाउँ नै सिल गरिएको छ । पहिलो पटक मंगलबार २५ जनाको कोभिड–१९ परीक्षण गर्दा २३ जनामा कोभिड–१९ पुष्टि भएपछि मंगलबार बेलुकादेखि १० दिनका लागि राँकागाउँ सिल गरिएको हो ।

गाउँमा रुघाखोकी, ज्वरो आउने र खोकी लाग्ने समस्या देखिन थालेपछि गाउँपालिकाको स्वास्थ्य शाखाले कोभिड–१९ परिक्षण गरेको थियो । यसअघि सोही गाउँपालिका–६ रावतवाडा पनि एक साता सिल गरिएको थियो । १३६ जनाको कोभिड–१९ परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको थियो ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको टोली गाउँमै गएर एन्टीजेन परिक्षण गर्दा एकै दिनमा २३ जना संक्रमित भेटिएपछि गाउँ नै त्रसित भएको छ । स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाइँले भने, ‘गाउँमा बिरामी धेरै छन् । एक÷दुई दिन भित्र सबैको टे«सिङ र टेस्टिङ गर्ने तयारी भइरहेको छ ।’

उनले केही बिरामी परीक्षण गर्न आउन नमानेको बताए । संक्रमित सबैलाई पहिले निर्माण गरिएको क्वारेन्टिनमा आइसोलेसन बेड बनाएर राखिएको उनले जानकारी दिए । आइसोलेसनमा स्वास्थ्यकर्मी तथा चिकित्सकको निगरानी छ । संक्रमितमध्ये दुई तीन जना दम र मुटु रोगी छन् ।

संक्रमण पुष्टि भइसकेपछि चिकित्सकले अक्सिजनको मात्रा जाँच गरेका थिए । ‘अवस्था ठिकै थियो,’ उनले भने, ‘अवस्था क्रिटिकल हुने वित्तिकै कोभिड अस्पतालमा लैजाने तयारी भइरहेको छ । गम्भीर अवस्था आइपुगेको खण्डमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लगिनेछ ।’

राँका गाउँमा बाहिरका व्यक्ति प्रवेश गर्न पाउने छैनन् । गाउँ भित्रका व्यक्ति पनि बाहिरका गाउँबस्तीमा जान पाउने छैनन् । तातोपानी गाउँपालिकाको संस्थागत आइसोलेसनमा ४७ जना संक्रमित छन् । चार जना होम आइसोलेसनमा छन् । १९ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

संक्रमितमध्ये ६० प्रतिशत संक्रमितको अवस्था सामान्य छ । संक्रमित थपिदै गर्दा आइसोलेसन बेड बढ्न थप्नुपर्ने अवस्था रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

पहिलो चरणमा माइकिङ गरेर स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्न सचेत गरिएको थियो । उनले भने, ‘त्यो कार्यले खासै प्रवभाव पार्न सकेन । सम्बन्धित वडाले सचेत नगर्दा सम्म केही हुनेवाला छैन ।’

तातोपानीको कोभिड अस्पतालमा १० वटा अक्सिजन सिलिण्डर छन् । गाउँपालिका भित्रका गाउँमा कोभिड–१९ लक्षणका बिरामी भेटिने बित्तिकै परीक्षण गराएर व्यवस्थापन गर्ने गरिएको संयोजक चौलागाईंले बताए । उनले भने, ‘गाउँमा कोभिड तीब्र रुपमा फैलिइरहेको अवस्था छ । स्थानीय सचेत हुन जरुरी छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आवश्यक रहेको छ ।’ तातोपानी गाउँपालिकाले कोभिड–१९ लक्षित कार्य गरिरहेकोले शंका लाग्ने बित्तिकै खबर गर्न आग्रह गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ