२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशचिनियाँ कम्युनिष्ट पार्टीद्धारा जुम्ला अस्पताललाई हाइड्रोजन अक्सिजन सहयोग

चिनियाँ कम्युनिष्ट पार्टीद्धारा जुम्ला अस्पताललाई हाइड्रोजन अक्सिजन सहयोग


जुम्ला – चिनियाँ कम्युनिष्ट पार्टीले सय वर्ष पुगेको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाल मजदुर किसान पार्टीका नेता निवर्तमान प्रतिनिधिसभा सदस्य प्रेम सुवालले मास्क, हाइड्रोजन अक्सिजन जेनेरेटर उपकरणसहित आवश्यक स्वास्थ्य सामग्री जुम्ला ल्याएर अस्पताललाई बुझाएका हुन् ।

दुई हजार ८ सय ८० थान एन नाइटीफाइभ मास्क र एक थान हाइड्रोजन अक्सिजन जेनेरेटर उपकरण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । दुई हजार माक्स जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिलाई प्रदान गरिएको छ ।

नेमकिपाका केन्द्रीय सचिव समेत रहेका सुवालले कर्णाली जस्तो क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गर्न पाउँदा खुशि भएको बताए । हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन अक्सिजन कन्सेनट्रेटर भन्दा बढी भरपर्दो छ । अत्याधुनिक र बहुउपयोगी छ । ती सामग्रीको बजार मूल्य एक करोड रुपैयाँबढी रहेकोे छ, नेता सुवालले भने, ‘छिमेकी देश चीनले कोभिड माथि विजय प्राप्त गरेको र विश्वका अन्य देशहरुलाई आवश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरिरहेको प्रति खुशी छौँ ।’

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा कोभिड रोकथाममा सहकार्य गर्न नेमाकिपालाई स्वास्थ्य सामग्री सहयोग स्वरुप प्राप्त भएको हो । जनताको स्वास्थ्य सेवामा अधिकतम प्रयोगका लागि खटिएका अस्पताल तथा प्रतिष्ठानहरुलाई सो स्वास्थ्य सामग्री प्रदान गरिएको उनले बताए ।

उनका अनुसार भक्तपुरका ६ वटा अस्पताल र काभ्रे अस्पतालमा प्रदान गरिसकेको छ । जुम्लादेखि विराटनगर सम्मका अस्पतालमा स्वास्थ्य सामग्री पुगिसकेको छ ।

स्वास्थ्य सामग्री बुझ्दै प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर राजिव शाहले उपचारमा रहेका बिरामीका लागि ती सामानको सदुपयोग गरिने बताए । उनले भने, ‘कोरोना महामारीको समयमा गरिएको यो सहयोग निकै प्रशंसनीय  छ । आगामी दिनमा पनि कर्णालीको स्वास्थ्य क्षेत्रलाई अगाडी बढाउनको लागि साथ र सहयोग रहने अपेक्षा गरिएको छ ।’

संविधानसभा सदस्य डिल्लीप्रसाद काफ्लेले चिनियाँ कम्युनिष्ट पार्टीले प्रदान गरेको स्वास्थ्य सामग्रीले राहत मिल्ने बताए । उनले भने, ‘चीनले नेपाली जनताको स्वास्थ्य अवस्थालाई ध्यान दिंदै गरिएको यो सहयोगले कोभिड-१९ महामारीविरुद्ध लड्ने हौसला प्रदान गरेको छ । चीनले नेपालप्रति देखाएको सद्भाव र सहयोगको लागि हामी आभारी छौँ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ