२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्र : भौतिक संरचना जीर्ण, औषधिका लागि बजेट अपुग

जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्र : भौतिक संरचना जीर्ण, औषधिका लागि बजेट अपुग


जुम्ला—जुम्लाको चन्दननाथ नगरपालिका–१० बोहरागाउँस्थित आयुर्वेद स्वास्थ्य केन्द्रको भौतिक संरचना जीर्ण बन्दै गएको छ । आयुर्वेदिक उपचार पद्धतिमा संसारभर आकर्षण बढ्दो क्रममा रहेका बेला आयुर्वेद स्वास्थ्य केन्द्रको संरचनामा भने राज्यको ध्यान जान सकेको छैन ।

उक्त आयुर्वेद स्वास्थ्य केन्द्रमा सम्पूर्ण खालका औषधि निःशुल्क उपलब्ध गराइने हुँदा बिरामीको आकर्षण बढ्दैछ । कमजोर आर्थिक अवस्था भएको ठाउँमा यत्तिको सुविधा र निःशुल्क औषधि पाउँदा धेरैजना खुसी छन् । केन्द्रले ल्याब सेवासमेत निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।

तर, आयुर्वेद स्वास्थ्य केन्द्रको भवन भने जीर्ण बनिसकेको छ । डराइ—डराइ सेवा दिनुपर्ने स्थिति रहेको कार्यालय प्रमुख नन्द प्रसाद न्यौपानेले बताए । मुख्य कार्यालय रहेको ठाउँमा भने समस्यामूलक छ । कच्ची संरचनाबाट अस्पताल चलाउन परिरहेको छ । १७ कार्तिकमा आएको भूकम्पले गर्दा घर चर्किएपनि अस्पताल नियमित रुपमा चलाउनुपर्ने बाध्यता छ ।

‘त्यहीबाट सबै प्रकारका सेवा सबै प्रकारका दिइरहेका छौं,’ न्यौपानेले भने, ‘दिसा, पिसाब, रगत, खकार सबैको चेक जाँच निःशुल्क हुन्छ । योग, ध्यान, प्रणायामका लागि जनशक्ति छ ।’ झट्ट हेर्दा अस्पताल जस्तो नदेखिने आयुर्वेद स्वास्थ्य केन्द्रले कयौं समस्याका बाबजुद पनि बिरामीलाई उत्कृष्ट सेवा दिइरहेको उनले बताए ।

महंगा आयुर्वेद औषधि समेत निःशुल्क उपलब्ध गराउने स्वास्थ्य केन्द्रलाई कहिलेकाहीँ औषधि खरिद गर्नसमेत समस्या पर्ने गरेको केन्द्रका प्रमुख न्यौपानेले जानकारी दिए । ‘अहिले चिसोका कारण धेरै बिरामी गाउँमा छैनन् । तराई झरेका छन् । तथापि दैनिक २५–३० जनासम्म बिरामी सेवा लिन आइरहेका छन्,’ उनले भने, ‘एक जना बिरामीलाई एक हजारसम्मको औषधि निःशुल्क उपलब्ध गराउँदै आएका छौं ।’

उनकाअनुसार केन्द्रमा आउने बिरामी हरेक वर्ष बढिरहेका छन् । तर, औषधि खरिदका निम्ति आउने बजेट भने हरेक वर्ष घटिरहेको छ ।
अघिल्लो वर्ष औषधि खरिदका निम्ति केन्द्रले २० लाख रुपैयाँ बजेट आएकोमा यो वर्ष ८ लाख रुपैयाँ मात्रै पाएको छ । ‘गर्मी सिजनमा बिरामी बढ्छन्,’ उनले थपे, ‘औषधि उपलब्ध गराउन नसकिने स्थिती छ ।’

केन्द्रको आफ्नै पञ्चकर्म कार्यालय पनि छ । चन्ददनाथ नगरपालिका–५ मा वृद्धहरुका निम्ति भनेर आयुर्वेद औषधिको मेडिकल समेत छ । ‘नगरका सबै वडा सरकार सकारात्मक भएको हुनाले त्यहाँबाट वृद्धवृद्धालाई औषधि नियमित रुपमा उपलब्ध गराउन सकिनेछ,’ न्यौपानेले भने ।

सरकारले नै अब सरकारी कर्मचारीहरु काममा लाग्नुभन्दा अगाडि १५ मिनेट अनिवार्य योग गर्नु भनेर सर्कुलर गरेको छ । ‘योग, ध्यान, प्रणायामपछिको सेवा मुस्कानसहितको हुन्छ,’ प्रमुख न्यौपानेले भने, ‘त्यसैले हामीले योग सप्ताह मनायौं । अब लगातार एक महिनासम्म योग सिकाउने तयारी गरिरहेका छौं । प्रत्येक दिन टुँडिखेलमा योग गर्न थालिएको छ । योग सप्ताहलाई विस्तार गरेर योग मास चलाइएको छ ।’

आयुर्वेद स्वास्थ्य केन्द्रले महत्वपूर्ण निर्णय गर्नलाई व्यवस्थापन समिति रिक्त छैन । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पठाएको प्रतिनिधि व्यवस्थापन समितिको अध्यक्ष हुने प्रावधान छ । तर, पछिल्लो समय व्यवस्थापन समितिले पूर्णता नपाउँदा समस्या थपिएको प्रमुख न्यौपानेको भनाइ छ ।

सबै पालिकामा नागरिक आरोग्य केन्द्र छन् । तिला र तातोपानी गाउँपालिकाका आफ्नै नागरिक आरोग्य केन्द्र छन् भने हिमा गाउँपालिकाले पनि निर्णय गरेर नागरिक आरोग्य केन्द्र बनाउँदैछ । गुठीचौर, पातारासी र सिंजा गाउँपालिकामा स्थापना गरिएका नागरिक आरोग्य केन्द्र आयुर्वेद स्वास्थ्य केन्द्रको मातहतमा रहेको प्रमुख न्यौपानेले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ