२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिम प्रदेश : अस्पतालले भेन्टिलेटर, आईसीयु खरिद प्रक्रिया थाले

सुदूरपश्चिम प्रदेश : अस्पतालले भेन्टिलेटर, आईसीयु खरिद प्रक्रिया थाले


धनगढी–सुदूरपश्चिमका अस्पतालमा कोभिड–१९ का गम्भीर बिरामी भए उपचारका लागि चाहिने सघन उपचार कक्ष (आईसीयु) र भेन्टिलेटर व्यवस्थापनमा ढिलाइ भएको छ । कोभिड–१९ विश्वव्यापी महामारीका रुपमा फैलिएको तीन महिनापछि बल्ल सुदूरपश्चिमका अस्पतालमा तयारी थालेका छन् ।

प्रदेश सरकारले तीन महिना ढिलो गरी बजेट व्यवस्थापन गरेपछि खरिद प्रक्रिया थाल्नमा समेत समय लागेको छ । सेती प्रादेशिक अस्पतालमा एउटा भेन्टिलेटर सहित पाँच शैय्याको सघन उपचार कक्ष (आईसीयु) रहेपनि कोरोनाका बिरामीका लागि छुट्टै आवश्यक पर्ने भएपछि खरिदका लागि प्रक्रिया थालिएको छ ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले प्रदेश सरकारले दिएको बजेटले दुई वटा भेन्टिलेटर र आईसीयु खरिदको प्रक्रिया थालिएको बताए । ‘दुई भेन्टिलेटर र पाँच शैय्या रहनेगरी आईसीयु खरिदको प्रक्रियामा अगाडि बढेको छ,’ मेसु पाण्डेले भने, ‘केही दिन भित्र त्यो तयार हुन्छ होला ।’

कञ्चनपुरको महाकाली अस्पतालमा चार शैय्याको सघन उपचार कक्ष आईसीयु सञ्चालन गर्न चार वर्ष पहिले उपकरण खरिद गरेपनि अहिलेसम्म जडान भएको छैन् । एउटा भेन्टिलेटर रहेकोमा त्यो पनि बेला–बेला बिग्रिने समस्याले गम्भीर प्रकृतिका बिरामीको उपचारमा समेत समस्या हुँदै आएको छ । तर, भेन्टिलेटर लगायतका उपकरण खरिदका लागि प्रक्रिया सुरु गरेको महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले बताए ।

ढिलोगरी भएपनि सेती र महाकाली अस्पतालमा आईसीयु र भेसिन्टेटर मेसिन खरिदको प्रक्रिया अगाडि बढेपनि प्रदेशका अन्य अस्पतालहरुको हकमा भने सम्बन्धित निकायले कुनै पहल थालेका छैनन् । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले तत्काल सेती र महाकाली अस्पताललाई मात्र कोरोनाको उपचारका लागि आवश्यक पर्ने उपकरण व्यवस्थापनका लागि एक–एक करोड बजेट दिइएको बताए । तर, अन्य अस्पतालमा भौतिक संरचना नहुँदा तत्काल कुनै प्रक्रिया अगाडि नबढेको उनी बताउँछन् ।

अहिले सुदूरपश्चिममा एकजनामा कोभिड १९ को पुष्टि भएपनि संक्रमितको अवस्था समान्य भएकै कारण भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आएको छैन् । कोरोनाको संक्रमणले मानिसको श्वासप्रश्वासमा समस्या पार्ने भएकै कारण गम्भीर अवस्थामा श्वास दिन भेन्टिलेटर अनिवार्य भएको चिकित्सकहरुले बताएका छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ