२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड–१९ जितेका इन्द्र भन्छन्, ‘मेरा लागि त डाक्टर नर्स भगवानै हुन्’

कोभिड–१९ जितेका इन्द्र भन्छन्, ‘मेरा लागि त डाक्टर नर्स भगवानै हुन्’


कञ्चनपुर –‘मजदुरी गर्छु, केही कमाउँछु अनि घर फर्किएर परिवार पाल्न सहज होला,’ कञ्चनपुर बेदकोट १० चथरीका ४१ वर्षीया इन्द्र विक गत फागुन अन्तिम साताको फ्ल्यासब्याकमा पुगे । मजदुरीका लागि भारत जाने योजना बुन्दा उनले यस्तै सोचेका थिए । अहिले पनि त्यो सोच कल्याब्ल्याङ गर्दै उनको दिमागमा ताजा हुन्छ ।

मजदुरीका लागि नेपाली ठेकेदारका पछि लागेर विकसहित अन्य १२ जना नेपाली भारत उत्तराखण्डको लोहाघाट पुगेका थिए । सडक बनाउने कामका लागि त्यहाँ पुगेका उनीहरुको ११ दिनसम्म नियमित काम भयो ।

संयोग भारतको लोहाघाट पुगेको १२ दिन (१० चैत्र) मा नै नेपाल फर्कनुप¥यो । कारण थियो कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै भारतमा लकडाउन सुरु भइसकेको थियो । भोलिपल्टबाट नेपालमा लकडाउन सुरु हुँदै थियो । ‘ठेकेदारले एक महिनासम्म त्यसै बस्नुपर्छ भनेपछि हामी हिडेरै फर्कियौ,’ उनले भने, ‘दुई दिन पैदल हिँडेर कञ्चनपुरको सीमावर्ती बजार टनकपुर आइपुग्यौं ।’

टनकपुरबाट नेपाल छिर्ने बेलामा भने टोली बाडियो विकसहित ५ जना प्रति व्यक्ति एक–एक सय रुपैयाँ तिरेर नदीबाटै ट्युवमा त¥यो भने बाँकी ७ जना पुलबाटै नेपाल आए । नदीमा ट्युबबाट तरेका उनीहरु भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेव बजार पुगे ।

नेपाल प्रवेश गर्ने बित्तिकै अर्थात १३ चैत्रमा नै विकसहितको टोलीलाई त्यहाँ तैनाथ सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएर गड्डाचौकीमा स्वास्थ्य चौकीमा पु¥याएर जाँच ग¥यो । जाँचपछि बेदकोटमा रहेको क्वारेन्टाइनमा पु¥याइयो । ‘दुई दिनको पैदल यात्राले यहाँ पुग्दा शरीर गलेको र अल्छीजस्तै भएको थिएँ।’ कोरोना जितेर बुधबार घर फर्किएका विक सम्झन्छन्, ‘भारतबाट आउँदा अरु कुनै खाले बिसञ्चो थिएन ।’

वेदकोट क्वारेन्टाइनमा १० दिन रहेका उनको शरीरमा कुनै बिसन्चो थिएन । क्वारेन्टाइमा बसेको १० औ दिन त्यहाँ तैनाथ सुरक्षाकर्मीले उनलाई कोभिड–१९ पोजेटिभ आएको जानकारी दिए । ‘अन्य बेलाझै सामान्य रुपमा बसिरहेको थिएँ । सुरक्षाकर्मी आएर तपाईलाई पोजेटीभ भएछ अस्पताल जानुपर्छ भने,’ उनले भने, ‘त्यसपछि एम्बुलेन्समा राखेर घनगढी ल्याउनुभयो ।’

कोरोना पोजेटिभ रिपोर्ट आएको भने पनि आफ्नो शारीरिक अवस्थामा केही नभएको हुँदा आफूलाई सामान्य लागेको उनको भनाइ छ । ‘शरीरमा तल माथि केही भएको थिएन्,’ उनी सम्झन्छन्, ‘उपचार होला निको भइहाल्छ भन्ने लाग्यो ।’

उनलाई अस्पताल आइसकेपछि भने केही तनाव भयो । एउटा कोठामा एक्लै बस्नुपर्ने बाध्यता थियो । ‘मनमा धेरै किसिमका कुरा सोच्दासोच्दै मानसिक तनाव हुन्थ्यो,’ उनी भन्छन्, ‘ कोरोनाभन्दा पनि एक्लोपनाले धेरै सताउँथ्यो । आँखा चिम्लिए पनि निदाउन सकिदैन्थ्यो ।’ बुधवार घर फर्किएका विक झण्डै २१ दिनपछि राम्ररी निदाएको अनुभव सुनाउँछन् ।

‘हिजो त मज्जाले निदाएँ,’ निको भएर घर फर्किएको भोलिपल्ट हेल्थआवाजसँगको कुराकानीमा उनले भने । विक भारतमा भएका भाइको घरलाई क्वारेन्टाइन बनाएर बसिरहेका छन् ।

श्रीमतीले नेपाल आएको चार दिन पछि थाहा पाइन

श्रीमानलाई क्वारेन्टाइनमा राखिएको चार दिनपछि उनकी श्रीमती सिता विकले थाहा पाएकी थिइन् । श्रीमानलाई संक्रमण भएपछि परिवारका सबै तनावमा थिए । ‘मजदुरी गर्न गएका श्रीमान् बिरामी लिएर आउँदाको पीडाले घरपरिवार पूरै बेचैन भयो,’ उनले भनिन्, ‘उपचारपछि निको भएर आएका श्रीमानलाई आँखा अगाडि देख्दा खुशीको सीमा नै रहेन ।’

श्रीमानको स्वास्थ्य लाभको कामना गर्दै सिता भगवान् पुकार्दै बसिन । यतिसम्मकी श्रीमानको स्वास्थ्यलाभका लागि भन्दै भगवानलाई भाकलसमेत गरेको उनी बताउँछिन् ।

त्यसो त इन्द्रका १२ वर्षीय छोराले बुवा बिरामी भएपछि घरको जिम्मेवारी सम्हालेका छन् । ‘आमा बुबालाई ठूलो रोग लागेको छ भनेर सधै रुनुहुन्थ्यो । खाना पनि खानुभएन’ बुवा घर फर्किएपछि हर्षित मुद्रामा देखिएका उनले भने, ‘मैले बुवाको स्वास्थ्यलाभका निम्ति घरभित्र रहेको भगवान् कोठामा सधैँ पूजा गर्ने, फूलपाती चढाउँथे ।’ कक्षा ५ मा अध्ययनरत उनका छोराले आमा र बहिनीलाई बुवा चाडै निको भएर आउने भन्दै ढाडस दिन्थे ।

डाक्टर नर्स भगवान

इन्द्रले अस्पतालमा रहँदा चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीहरुले सालीन व्यवहार गरेको बताए । समय–समयमा आउने, फोनबाट जानकारी लिने, आत्तिनु हुँदैन भनेर सम्झाउने गरेको उनी बताउँछन् । ‘उपचारका क्रममा चिकित्सक र स्वास्थ्यकर्मी सबैले राम्रो गर्नुभयो । उहाँहरुकै कारण चाडै घर फर्कन पाएँ,’ उनी भन्छन्, ‘मेरा लागि त उहाँहरु भगवानै हो ।’

स्वास्थ्य परीक्षणका लागि स्वाब र रगत नमूना लिँदा निकै सावधानी अपनाइएको उनी बताउँछन् । उनले कोरोनाबाट बच्न सरकारले जारी गरेको सावधानी सबैले अपनाउनुपर्ने बताए ।

त्यसैगरी बेदकोट नगरपालिका–१० का वडाध्यक्ष केश रावलले कोरोना भाइरस जितेर विक गाउँ फर्किएपछि खुशीयाली छाएको बताए । ‘कोरोना लाग्यो कि मर्छन् भन्ने गाउँमा त्रास थियो’, गाउँमा राहत वितरण गरिरहेका वडाध्यक्ष रावलले भने, ‘निको भएर आएपछि सबै हर्षित छन् । सावधानी अपनाएर चाडै उपचार भए निको हुनेरहेछ भन्ने भएको छ ।’


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ