२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड—१९ संक्रमित बिरामी भन्छिन्, ‘मलाई केही भएकै छैन्, रिपोर्ट कसरी आउँछ पोजेटिभ’

कोभिड—१९ संक्रमित बिरामी भन्छिन्, ‘मलाई केही भएकै छैन्, रिपोर्ट कसरी आउँछ पोजेटिभ’


धनगढी—विगत २८ दिन देखि सेती अस्पतालमा उपचाररत धनगढीकी कोरोना संक्रमित महिलाको छैटौं कोरोना रिपोर्टमा पनि ‘पोजेटिभ’ आएको छ । ३४ वर्षीया महिलाको ६ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट ‘पोजेटिभ’ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिएका हुन्।

सूचना अधिकारी श्रेष्ठका अनुसार चिकित्सकहरुको सल्लाहअनुसार उनको थ्रोट स्वाब फेरी संकलन गरी परीक्षण गरिनेछ । बिहीबार साँझ २८ दिनदेखि सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत कोभिड—१९ संक्रमित बिरामीले हेल्थआवाजका संवाददाता पदमराज भट्टसँग टेलिफोनमा आफ्नो अनुभव यसरी साटिन् ।

संक्रमित बिरामीको अनुभव, ‘मलाई केही भएकै छैन्, रिपोर्ट कसरी पोजेटिभ आउँछ’

दुबईबाट फर्किएका परिवारकै एक जना सदस्यलाई कोरोना पुष्टि भएको ९ दिनपछि बल्ल मलाई कोभिड—१९ पोजेटिभ देखिएको हो । परिवारका अन्य सबै सदस्यको थ्रोट स्वाब संकलन गरेको तेस्रो दिन अस्पतालबाट फोन आयो । ‘तपाईमा कोरोना देखिएको छ । हामी एम्बुलेन्स पठाउँदैछौं । तपाईले सेती प्रादेशिक अस्पतालमा आउनुपर्छ,’ भनेर फोन आयो ।

चार दिन धनगढीको क्वारेन्टाइनमा बसेर हामी परिवारका सबै सदस्य घर फर्किसकेका थियौँ र घरमै एम्बुलेन्स आएपछि म अस्पताल आएँ । मलाई विश्वास नै लागेको थिएन, आफूमा कोरोनाको संक्रमण होला भनेर । तर, पनि डाक्टरले भनेपछि विश्वास गर्नै प¥यो र अस्पतालमा भर्ना भए ।

मलाई कोरोनाको पुष्टि २२ गते भएपनि चैत ११ गतेभित्र संक्रमण भएको हुनुपर्छ । किनभने चैत ११ गते दुबईबाट फर्किएका देवर सेती अस्पताल भर्ना भइसकेका थिए । देवरमा कोरोना पुष्टि १४ गते भएको थियो । ११ गते भित्र संक्रमण भएको हो भने मलाई संक्रमण भएको एक महिना नौं दिन भइसकेको छ ।

आज (बिहीबार) पनि छैटौं पटक गरिएको नमूना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको खवर पाएँ । लगातार रिपोर्ट पोजेटिभ देखाइरहेको छ । तर, कोरोनाको लक्षण भने केही पनि छैन् । न ज्वरो आएको छ न त रुघाखोकी नै लागेको छ । मनमनै धेरै कुरा खेलिरहन्छन् । २८ अस्पतालको आइसोलेसनमा छु । मलाई केही भएकै छैन, कोरोना रिपोर्ट पोजेटिभ कसरी आउँछ ?

कतिबेला सोच्छु, मलाई त केही भएकै छैन्, कोरोना रिपोर्ट पोजेटिभ कसरी आइरहेको छ ? कतै परीक्षण गर्दा त्रुटी त भएको छैन् । फेरी सोच्छु एक पटक त त्रुटी भएको होला तर पटक–पटक कसरी त्रुटी सम्भव छ ? र आफ्नो भाग्यलाई नै दोष दिन्छु र सम्हालिन्छु ।

लम्कीकी ६५ बर्षको आमाले ११ दिनमा कोरोना जितेर घर फर्किनुभयो । मलाई अस्पताल भर्ना भएको पनि २८ दिन पुगिसकेको छ । ६५ वर्षीया आमाको भन्दा म ३४ वर्षीयाको रोग प्रतिरोधात्मक क्षमता कसरी कम होला भन्ने प्रश्न पनि मनमा उब्जिन्छ ।

मलाई पहिले ग्यास्टिक र एलर्जीको समस्या थियो । सोही कारणले मलाई कोरोनालाई जित्न बढी समय त लागेको होइन भन्ने पनि लागेको छ । अस्पतालका चिकित्सकहरुबाट राम्रै सल्लाह पाएकी छु । उहाँहरुले पनि स्वास्थ्यमा कुनै समस्या छैन, तपाई छिट्टै घर फर्किनुहुन्छ भन्नुभएको छ ।

मलाई पनि लाग्छ कोरोनालाई जित्दै म छिट्टै घर फर्किन्छु भनेर । २८ दिन अस्पताल बसेको हुँदा घर परिवारका सदस्यको याद आउन थालेको छ । घरमा चार वर्षको छोरा र ९ वर्षकी छोरी छ । उनीहरुको पनि माया लाग्छ, बेला–बेला फोन गरिरहन्छु । फेरि फोन पनि कति गर्नुजस्तो लाग्छ । तर, पनि फोन आएको समयमा भने आफूलाई सम्हाल्न सजिलो हुन्छ ।

अहिलेसम्म नेताहरुमा मलाई धनगढी उप–महानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्टज्यूले फोन गर्नुभएको छ । नआत्तिनुहोला भन्नुभएको छ । यसरी कसैले सम्झाउँदा भने आफ्नो मनोबल बढ्छ । जे जस्तो भएपनि छिट्टै कोरोनालाई जितेर घर फर्किनेमा म विश्वस्त छु ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ