२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिमका विभिन्न अस्पतालमा ४८ कोरोना संक्रमितको उपचार हुँदै

सुदूरपश्चिमका विभिन्न अस्पतालमा ४८ कोरोना संक्रमितको उपचार हुँदै


धनगढी—सुदूरपश्चिम प्रदेशका ४८ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बाँकी दुई हजार दुई सय बढी स्थानीय तहको आइसोलेसनमा उपचाररत छन् ।

मन्त्रालयका अनुसार महाकाली अस्पतालमा १८ जना, टीकापुर अस्पतालमा १३ जना, जिल्ला अस्पताल अछाममा १० जना, मालाखेती अस्पतालमा तीन, सेती अस्पताल र डोटी अस्पतालमा दुई/दुई जना गरी ४८ जनाको उपचार भइरहेको छ ।

४३ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज

सुदूरपश्चिम प्रदेशमा ४२.९७ प्रतिशत संक्रमित डिस्चार्ज भएका छन् । प्रदेशका विभिन्न अस्पताल र स्थानीय तहमा बनाइएका आइसोलेसनबाट एक हजार ६ सय ६८ कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस ब्रिफिङमा शुक्रबार साँझ एक हजार ६ सय ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए ।

उनका अनुसार बिहिवार मात्रै कैलालीका ९ जनालाई घर पठाइएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी कञ्चनपुरका तीन सय ९०, अछामका तीन सय ६२, डडेल्धुराका दुई सय ६७ र बैतडीका दुई सय ५२ जनालाई डिस्चार्ज गरिएको छ ।

डोटीका एक सय ५७ जना, कैलालीका एक सय ३८ जना, बझाङबाट ८७ जना, दार्चुलाबाट १३ जना र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।

संकलित नमुनामध्ये १५१० को रिपोर्ट आउन बाँकी

सुदुरपश्चिम प्रदेशमा पिसिआर परीक्षणको लागि २९ हजार ७ सय ८७ नमुनामध्ये एक हजार पाँच सय १० जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा शुक्रबारसम्म संक्रमितको संख्या तीन हजार ८ सय ८१ पुगेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ