विराटनगर—कोरोना संक्रमण पुष्टि भएका विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत दुई जना डाक्टरलाई थप उपचारको लागि काठमाडौं लगिएको छ । कोभिड—१९ निमोनिया भएर स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा सोमबार भर्ना गरिएको हो ।
हस्पिटलको आइसोलेनमा रहेका चिकित्सकको स्वास्थ्यमा थप समस्या देखिएपछि एम्बुलेन्समा हालेर त्रिवि शिक्षण अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचारको लागि पठाइएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
त्रिवि शिक्षण अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना भएका एक जना डाक्टर आईसीयुमा उपचार भइरहेको अस्पतालका कोभिड—१९ नियन्त्रण समन्वय समितिका सयोजक प्रा.डा. सन्तकुमार दासले जानकारी दिए । एकजना चिकित्सकलाई आईसीयुमा राखेर र अर्का एक जनालाई आइसोलेनमा राखेर उपचार भइरहेको उनले बताए ।
‘आईसीयुमा भर्ना भएका चिकित्सकमा कोभिड निमोनिया र ज्वरो आएर श्वासप्रश्वासमा समस्या भएपछि हामीले आईसीयुमा राखेर उपचार गर्दै आएका छौं,’ प्रा.डा. दासले भने, ‘आईसीयुमा राख्दा अक्सिजनको सपोर्ट चाहिन्छ । त्यसैअनुसार उपचार भइरहेको छ ।’ दुवै जनाको स्वास्थ्य अवस्थामा समान्य रहेको प्रा.डा. दासले बताए । उनकाअनुसार मंगलबार एक जना चिकित्सकलाई सोमबार ९ बजे आईसीयुमा राखेर उपचार गर्दै आएको बताए ।
गत शनिबार नोबेल अस्पतलाका दुई जना डाक्टरमा प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षण रिपोर्टअनुसार संक्रमण पुष्टि भएको थियो । संक्रमित दुवै जना ‘रेजिडेन्ट’ डाक्टर रहेको बुझिएको छ । उनीहरू नोबेल मेडिकल कलेजमा एमडी तेस्रो वर्षमा अध्ययरत छन् ।
नोबेलमा कन्ट्रयाट टे«सिङ गरी संक्रमितको सम्पर्कमा आएकाहरूका तीन चरणमा गरेर २ सय २४ जनाको स्वाब संकलन गरिएको छ । केहीको रिपोर्ट बुधबार आउने बुझिएको छ ।