२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाका हरेक स्थानीय तहमा ५० बेडको आइसोलेसन बन्ने

जुम्लाका हरेक स्थानीय तहमा ५० बेडको आइसोलेसन बन्ने


सुर्खेत– जुम्लाका हरेक स्थानीय तहमा ५० बेडकाे आइसोलेसन बन्ने भएका छन् । १ नगरपालिकासहित ७ वटा गाउँपालिकामा पालिकास्तरीय आइसोलेसन निर्माण हुने भएकाे हाे । कर्णाली प्रदेशमा पछिल्लो समय कोराेना संक्रमितको संख्या बढ्दा सबै क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ ।
जुम्लाको हिमा गाउँपालिकामा ५० बेडको आइसोलेसन निर्माण भएर संक्रमित बसिरहेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए । त्यहाँ नेपाली सेनाको रेखेदेख रहने उनको भनाई छ ।

‘हरेक स्थानीय तहमा आइसोलेसन निर्माण प्रक्रिया अघि बढेको छ,’ उनी भन्छन्, ‘लक्षण बिनाका संक्रमित देखिन थालेकाले तत्काल गाउँपालिका स्तरका आइसोलेसनमा संक्रमित राखेर निगरानी गरिने छ ।’

हाल जुम्लाको हिमा गाउँपालिकामा ६१ जना कोराना संक्रमित छन् । जसमध्ये ९ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा छन् । बाँकी गाउँपालिका स्तरीय आइसोलेसनमा बसेका छन् ।

स्वास्थ्य अवस्था सामान्य रहेकालाई मात्र गाउँपालिका स्तरका आइसोलेसनमा राख्ने तयारी भइरहेको छ । लक्षण देखिएका तर स्वास्थ्य अवस्था गम्भीर भएकालाई कर्णाली प्रतिष्ठानको आइसोलेसनमा ल्याइनेछ ।

सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाका अनुुसार जुम्लाका सबै लक्षण बिनाका कोराना संक्रमित भएकोले अवस्था सामान्य छ । कोराना संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङ कार्य धमाधम भैरहेको छ । गाउँपालिकास्थित बजार भएका क्षेत्रमा पिसिआर परीक्षणका लागि स्वाब संकलन कार्य भैरहेको छ । पिसिआर परीक्षणको दायरालाई फराकिलो बनाउँदै लगिएको छ ।

स्वास्थ्यकर्मी सबै स्वाब संकलन गर्न गाउँमा खटिएका छन् । पालिकास्तरका स्वास्थ्यकर्मी नाम संकलन गरिरहेका छन् । स्वास्थ्य कार्यालय र कर्णाली प्रतिष्ठानको स्वास्थ्यकर्मीको टोली स्वाब संकलनमा ब्यस्त छन् । पालिकास्तरमा बस्ने आइसोलेसनमा नेपाली सेना, नेपाल प्रहरी रसशस्त्र प्रहरीले रेखदेखको जिम्मेवारी लिनेछन् ।

सबै पालिका र शंकास्पद ठाउँमा स्वाब संकलन भएर परिक्षण भैैसकेपछि लकडाउन खोल्ने या नखोल्ने निर्णय हुने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । यसअघि जुम्लाका स्थानीयतहमा झण्डै ८ सय क्वारेन्टिन निर्माण भएका थिए । अहिले क्वारेन्टिनमा खालि छन् ।

सहजै रुपमा चिकित्सक, एम्बुलेन्स पुग्न सक्ने र सुरक्षाका हिसाबले अनुकुल क्षेत्रमा आइसोलेसन निर्माण गर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले जानकारी दिए । कोराना संक्रमित देखिएसंगै जुम्लामा निषेधाज्ञा निकै कडा पारिएको छ । स्थानीय तहमा १० बेडको आइसोलेसन अनिवार्य हुनु पर्ने भएपनि जुम्लामा ५० बेडको आइसोलेसन बनाउन थालिएको हो । यो संगै जुम्लामा ५ सय २८ बेडको आइसोलेसन बन्नेछ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ