२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २शिल्यान्यास भएको १७ वर्षपछि सप्तरीको तृप्ति मेमोरियल ईएनटी अस्पताल सञ्चालनमा

शिल्यान्यास भएको १७ वर्षपछि सप्तरीको तृप्ति मेमोरियल ईएनटी अस्पताल सञ्चालनमा


जनकपुर– शिल्यान्यास भएको १७ वर्षपछि सप्तरीको तृप्ति मेमोरियल ईएनटी अस्पताल उद्घाटनसँगै सञ्चालनमा आएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ मा निर्माण भएको उक्त अस्पताल शनिबारबाट सञ्चालनमा आएको हो ।

अस्पतालको उद्घाटन भएसँगै रोटरी फाउण्डेशनले १ करोड २५ लाख रुपैयाँ बराबरको उपकरण हस्तान्तरण गरेको छ । फाउण्डेशनको तर्फबाट रोटरी क्लव अफ राजधानी काठमाडौका पूर्व अध्यक्ष प्रताप सिंह तातेडले शनिवार कान सम्वन्धी उपचारमा प्रयोग हुने अत्याधुनिक उपकरण हस्तान्तरण गरेका हुन् ।

सामुदायस्तरमा देशमै पहिलोपटक सञ्चालनमा आउन लागेको उक्त अस्पतालबाट तत्कालका लागि कान सम्वन्धी सेवा सञ्चालन गर्ने तयारी भैरहेको अस्पतालका अध्यक्ष डा. अनिल कुमार झाले बताए । ‘सन् २००३ बाट सुरु गरिएको अस्पताल माओवादी जनयुद्ध र मधेश आन्दोलनले अस्पताल निर्माणमा असर पु¥यायो,’ उनी भन्छन्, ‘धेरै समयको अन्तरालपछि अस्पताल सञ्चालनमा ल्याएका छौं ।’

दुई साताभित्र उपकरण जडान तथा आवश्यक गृहकार्य गरी सेवा विस्तृत रुपमा सञ्चालनमा ल्याउने उनले बताए । कान नाक तथा घाँटीका विशेषज्ञ वरिष्ठ सर्जन प्राध्यापक डा. झाले देशका चर्चित अस्पतालहरुमा सेवा प्रदान गर्नुका प्राध्यापन पेसामा विगत २५ वर्षभन्दा बढी समय बिताएका छन् ।

उद्घाटन समारोहमा झाले आफ्नो बाल्यकाल स्मरण गर्दै भने, ‘म सानो छँदा राजविराजमा समेत उपचार गर्ने ठाउँ नभएर भारतको दरभंगा पटना जानुपर्ने बाध्यता थियो । मेरो सानैदेखि सर्वसाधारण एवं विपन्न जनताको सेवा गर्ने सोच थियो जो अहिलेले आएर पुरा भयो ।’

ईएनटी अस्पताललाई सर्वसुलभ एवम् सुविधा सम्पन्न बनाउँदै एसियाकै नमूना अस्पताल बनाउने आफ्नो सोच रहेको डा. झाले प्रतिवद्धता व्यक्त गरे । उनका अनुसार अस्पतालले दैनिक सय जना विरामीको उपचार गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले रिबन काटेर नयाँ भवनको उद्घघाटन गरेका थिए । गाउँपालिका अध्यक्ष सिंंहले गाउँपालिकामा ईएनटी अस्पताल स्थापना हुनु गौरवको विषय भएको भन्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

अस्पतालका लागि स्वर्गिय कृतिनारायण झाले जग्गा उपलब्ध गराएका थिए । उक्त अस्पतालको शिलान्यास १७ वर्ष अघि हाल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गरेका थिए ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ