२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशपोखरामा निःशुल्क स्वाब संकलन गरिने, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र परिवर्तन नेपालबीच सम्झौता

पोखरामा निःशुल्क स्वाब संकलन गरिने, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र परिवर्तन नेपालबीच सम्झौता


पोखरा-प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराले परिवर्तन नेपाल नामक संस्थालाई कोरोना जाँचका लागि निःशुल्क स्वाब संकलन गर्ने सहमति प्रदान गरेको छ । कोरोना परीक्षण गर्ने प्रयोजनका लागि निःशुल्क स्वाब संकलन गर्न परिवर्तन नेपालले अनुमति पाएको हो ।

विभिन्न शर्तसहित निःशुल्क रुपमा स्वाब संकलनका लागि अनुमति दिइएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीले बताइन् । उनका अनुसार कोभिड १९ को जाँचका लागि प्रयोगशालाले स्थानीय तहको समन्वयमा निःशुल्क स्वाब संकलन गर्न र परिवर्तन नेपाल संस्थाकै जनशक्ति परिचालन गर्न सहमति दिइएको हो ।

पोखरा महानगरभित्रका मुख्य बजारभन्दा बाहिरी क्षेत्रमा पुगेर स्वाब संकलन गरिने परिवर्तन नेपालका डा. ढाकाकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्वाब संकलनमा भोलेन्टियर खटाइनेछ । उनी भन्छन्, ‘१ दिनमा ३ ठाउँमा स्वाब संकलन गर्ने योजना छ । एउटा केन्द्रमा ९/१० जना स्वाब संकलनमा खटिनेछन् ।’

उनकाअनुसार तालिम दिएर हरेक दिन फरक ठाउँमा स्वाब संकलन गरिनेछ भने मोबाइबाटै सिधै डाटा इन्ट्री गर्ने सफ्टवेयर राख्नुपर्नेछ । यो काममा पनि ढिलाइ भएकाले सुरुवात गर्न नसकिएको डा. श्रेष्ठले बताए । उनले थपे, ‘नगरपालिकाका कर्मचारी कार्यालयबाहिर रहनुपर्ने अवस्था रहेकाले उहाँ आएपछि छलफल गरेर सुरु गर्छाैं ।’ स्वाब संकलनको काम अर्काे हप्ताबाट सुरु हुने डा. श्रेष्ठले स्पष्ट पारे ।

सहमतिमा स्वाब संकलन गर्दा मन्त्रालयले जारी गरेको प्रोटोकलभित्र रही निःशुल्क रुपमा गर्नुपर्ने पहिलो शर्त रहेको छ । संकलित स्वाबको पिसिआर जाँच भने प्रदेश प्रयोगशालामा गरिने उल्लेख छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला र परिवर्तन नेपालबीच पूर्णरुपमा निःशुल्क स्वाब संकलन गर्ने सहमति भएको छ । तर, विपरीत हुन गएमा सहमति स्वतः रद्द हुने शर्तसमेत समावेश छ । प्रयोगशालाले भिटिएन निःशुल्क उपलब्ध गराउनेछ । त्यसबाहेक अन्य व्यवस्थापन परिवर्तन नेपालले गर्नुपर्ने उल्लेख गरिएको छ ।

पोखराका ३ केन्द्रमा निःशुल्क

पोखरा महानगरपालिकाले भने शनिबारबाहेक कोरोना जाँचका लागि निःशुल्क स्वाब संकलन केन्द्र तोकेको छ । महानगर स्वास्थ्य महाशाखाले दिएको जानकारीअनुसार आइतबार कृषि तालिम केन्द्र पोखरा ५ मा निःशुल्क स्वाब संकलन हुनेछ भने मंगलबार लेखनाथ खेल मैदान पोखरा २७ मा संकलन गरिनेछ ।

महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलका अनुसार सोमबार, बिहीबार र शुक्रबार निःशुल्क स्वाब संकलन पोखरा ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ