काठमाडौं–सरकारले नेपालमा पशुपंक्षीबाट मानवमा सर्ने १० प्रमुख जुनोटिक रोगहरुको प्राथमिकीकरण गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)काअनुसार नेपालमा पशुपंक्षीबाट मानवमा सर्ने प्रमुख १० रोगको प्राथमिकीकरण गरिएको हो ।
प्राथमिकीकरण गरिएका रोगहरुमा इन्फ्लुएन्जा (जुनोटिक इन्फ्लुएन्जा, सिजनल इन्फ्लुएन्जा), रेबिज, कोरोना भाइरस (सार्स, मर्स, सार्स कोभ २), लेप्टोस्पाइरोसिस, ब्रुसेलोसिस छन् । यस्तै, सालमोनेलोसिस, लेस्मिनियासिस, जुनोटिक क्षय रोग, सिस्टिसर्कोसिस/हार्डडाइटिडोसिस र टोक्जोप्लास्मोसिस रहेका छन् ।
इडिसिडीका निर्देशक डा. कृष्ण पौडेलकाअनुसार नेपालमा पशुपंक्षीबाट मानवमा सर्ने प्राथमिकीरण गर्दा यसले यी रोगहरुको निदान र उपचारमा सहयोग पुग्नेछ ।
‘यसबाट सबै पक्षले यी प्राथमिकतामा परेका अवस्थाहरुको आवश्यक तयारी तथा जनचेतना प्रयोगशाला किटको व्यवस्थाका साथै औषधी व्यवस्थापन गर्न सहज हुन्छ,’ डा. पौडेलले भने ।
