२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारके हो कोभिड-१९ को डेल्टा प्लस भेरियन्ट, महामारीको तेस्रो लहर ल्याउन सक्ने चिन्ता

के हो कोभिड-१९ को डेल्टा प्लस भेरियन्ट, महामारीको तेस्रो लहर ल्याउन सक्ने चिन्ता


काठमाडौं—मुलुक कोभिड-१९ को दोस्रो लहरबाट तग्रिनै लागेको छ । देशका विभिन्न भागका लगाइएका निषेधाज्ञाहरु संक्रमण दरमा कमी आएसँगै केही ठाउँमा हटाइदैं छन् भने केही ठाउँमा स्वरुप परिवर्तन गरिदै छन् ।

तर, यही बेला सम्भावित तेस्रो लहरको चुनाैती बन्न सक्ने ठानिएको डेल्टा प्लस भेरियन्टलाई लिएर संसारभर चिन्ताहरु बढिरहेका छन् । ७ असारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ९ जनामा कोभिड-१९ को डेल्टा प्लस पुष्टि भएको जानकारी दिइसकेको छ । मुलुकका विभिन्न ठाउँबाट संकलन गरिएका ४८ वटा नमूनामध्ये ९ जनामा डेल्टाको उत्परिवर्तित स्वरुप डेल्टा प्लस (K417N Mutation) पुष्टि भएको थियो । उक्त नमुनाहरु नेपालबाट संकलन गरेर सिक्वेसिङका लागि भारत पठाइएको थियो ।

सरकारले कोभिड-१९ विरुद्ध मुख्य हतियार मानिएको निषेधाज्ञालाई खुकुलो बनाउँदैं लगेको छ । यसले जनस्वास्थ्यमा जोखिम झनै बढाउँदैं लैजाने चिन्ताहरु थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. बासुदेव पाण्डे यो भेरियन्ट थप चुनौती ल्याउन सक्ने बताउँछन् ।

‘अहिलेसम्मका अध्ययनबाट डेल्टा प्लसको इन्फेक्टीभिटी धेरै भएको भन्ने छ । यसले धेरै मान्छेमा चाडो सर्ने सम्भावना छ,’ उनले भने, ‘यसले फोक्सोमा गएर डाइरेक्ट असर गर्न सक्ने सम्भावना पनि छ । मानिसको शरीरमा भ्याक्सिन र नेचुरल रुपमा बनेको एन्टीबडीमा पनि यसले असर गर्न सक्छ ।’ उनले भारतका वैज्ञानिकहरुले डेल्टा प्लसले अर्को वेवको ल्याउन सक्ने चेतावनी दिइसकेको बताए ।

नेपालमा ‘जिनोमिक पहिचान’ नगरिने भएकाले डेल्टा प्लसका कति केसहरु छन् भन्ने पहिचान गर्न पनि गाह्रो रहेको विज्ञहरु बताउँछन् ।

अधिक संक्रामक भनिएको कोभिड-१९ उत्परिवर्तित स्वरुप डेल्टा प्लस भेरियन्ट मानव संसारका लागि नयाँ खतरा बन्ने संकेत देखिएको छ । कोभिड—१९ लाई नियन्त्रणमा राख्न सफल रहेको अष्ट्रेलियाको सिड्नीमा मात्रै डेल्टा भेरियन्टका ८० केस पुष्टि भएपछि त्यहाँ शनिबारदेखि लकडाउन गरिएको छ ।

बेलायत, इजरायल, अमेरिका, पोर्चुगल, स्वीजरल्याड, जापान, पोल्याण्ड, नेपाल, क्यानडाजस्ता देशहरुमा पनि डेल्टा प्लस भेरियन्ट केसहरु भकाभक पुष्टि हुन थालेका छन् ।

भारतमा डेल्टा प्लसका केसहरु तीब्र रुपमा पुष्टि भइरहेका छन् । भारतमा आइतबार विहानसम्म ५० भन्दा बढी डेल्टा प्लसका केसहरु पुष्टि भएका छन् । भारतको महाराष्ट्रमा सबैभन्दा बढी २१, मध्यप्रदेशमा ७, केरला र तमिलनाडूमा ३/३, पन्जाब र जम्बुमा १/१ केस डेल्टा प्लसको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

डेल्टा प्लसलाई कोभिड-१९ को तेस्रो लहरको कारण बन्ने सक्ने भन्दैं विज्ञहरुले चिन्ता प्रकट गरिरहेका छन् । यो भेरियन्ट गत मार्चमै पुष्टि भएपनि १३ जुनदेखि फैलिन थालेको बताइन्छ ।

डेल्टा प्लस भेरियन्ट के हो ?

भारतमा पुष्टि भएको कोभिड–१९ भाइरसको डबल म्यूटेन्ट स्ट्रेन बी.१.६१७.२ लाई विश्व स्वास्थ्य संगठनले डेल्टा नाम दिएको थियो । बी.१.६१७.२ मा एक अर्को म्युट्रेसन के४१७एन भएको छ, जो यसअघि कोभिड–१९ भाइरसको बीटा र गामा भेरियन्टसँग पनि मिलेको थियो । नयाँ म्युट्रेसनबाट बनेको भेरियन्टलाई डेल्टा प्लस भेरियन्ट वा एवाई.१ वा बी.१.६१७.२.१ पनि भनिन्छ ।

के४१७एन म्युट्रेशनबाट बनेको यो भेरिन्ट ओरिजिनल भाइरसभन्दा अधिक संक्रामक छ । यो भेरियन्टमा भ्याक्सिन र औषधीहरुको असर पनि कम हुन सक्ने चिन्ता पनि प्रकट भइरहेका छन् ।

वास्तवममा बी.१.६१७ लाइनेजबाट डेल्टा भेरियन्ट (बी.१.६१७.२) बनेको थियो । यसैका दुई अरु भेरियन्ट छन्—बी.१.६१७.१ र बी.१.६१७.३, जसमा बी.१.६१७.१ लाई विश्व स्वास्थ्य संगठनले भेरिन्ट अफ इन्टरेष्ट (भीओआई)को सूचीमा राखेर कप्पा नाम दिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ