काठमाडौं-सरकारले स्वास्थ्य सम्बन्धि दुई वटा विधेयक संसदमा पेश गर्न स्वीकृती दिने निर्णय गरेको छ । मंगलबार बसेको क्याबिनेट बैठकले स्वास्थ्य सम्बन्धि दुई विधेयक संसदमा लैजाने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीकाअनुसार सरकारले कोभिड-१९ संकट व्यवस्थापन विधेयक र औषधी ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृती दिने निर्णय गरेको छ ।
यी दुई विधेयक संसदमा पेश भएपछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)माथिको कानुनी अड्चन पनि यससँगै हट्नेछ ।कोभिड-१९ युनिफाइड केन्द्रीय (वीर) अस्पताल सञ्चालनमा देखिएको कानुनी संकट अन्त्य हुनेछ । यस्तै, कोभिड-१९ खोप खरिद तथा प्रयोगमा आउन सक्ने कानुनी समस्या पनि हल हुनेछ ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश र औषधी ऐन, २०३५ लाई संशोधन गर्न अध्यादेश ल्याइएको थियो । तर, ६० दिनभित्र संसदमा पेश हुन नसक्दा दुवै अध्यादेश निस्क्रिय भएका थिए ।