२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्ट‘जीवन्त एडभान्स इमेजिङ’मा कहलिएका ३८ चिकित्सकको लगानी, कुन चिकित्सकको कति लगानी ?

‘जीवन्त एडभान्स इमेजिङ’मा कहलिएका ३८ चिकित्सकको लगानी, कुन चिकित्सकको कति लगानी ?

एक जनाको ५० हजारदेखि ४५ लाखसम्म लगानी


काठमाडौं—देशकै मुटु मानिने दरबारमार्गस्थित ‘जीवन्त एडभान्स काठमाडाैं इमेजिङ प्रा.लि.’ ले चिकित्सा स्वास्थ्यका जटिल रोगहरु पत्ता लगाउने काम गर्छ । काठमाडौं उपत्यकाबाट मात्रै नभएर देशका विभिन्न भागहरुबाट पनि बिरामीहरु एमआरआई, सिटिस्क्यान, एमआरसीपी, कार्डियाक एमआरआई, क्यान्सर स्क्यानिङ, एमआर स्क्रेप्टोकोपीलगातयका सेवाहरु लिन आउँछन् ।

अन्य सेवाहरुको तुलनामा यस्ता सेवाहरु निकै खर्चिला हुने गर्छन् । नेपाल सरकारले स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नती मापदण्ड, २०७० जारी गर्दा १ सय बेडभन्दा माथिका अस्पतालहरुलाई यी सेवाहरु अनिवार्य अस्पतालमै हुनुपर्ने उल्लेख गरेको छ । तर, अहिलेसम्म पनि कतिपय अस्पतालहरुले यी सेवाहरु सुरु गरेका छैनन् भने भएका अस्पतालहरुमा पनि नियमित हुन सकेको छैन । कारण, सरकारी अस्पतालमा आएका महंगा मेसिनहरु धेरै दिन काम नै गर्दैनन् ।

सेवा सञ्चालन गरिरहेका सरकारी अस्पतालहरुमा यी सेवाको नियमितता नभएपछि निजी डाइग्नोष्टिक सेन्टर धाएर महंगो शुल्क खर्चिनुपर्ने बाध्यता बिरामीलाई छ । अस्पतालहरुमा यी सेवा लिन गएका बिरामीहरु अस्पतालमा नपाएको र चिकित्सक वा अस्पतालको कुनै कर्मचारीले कमिसनको लोभमा निश्चित ठाउँमा जान सुझाउने गरेको गुनासो आउने गरेको छ । हेल्थआवाजले प्राप्त गरेको जीवन्तको सेयर सम्बन्धी गोप्य दस्तावेजले पनि यो गुनासोलाई बल पु¥याउँछ ।

स्वार्थ बाँझिने गरी केही ठूला सरकारी अस्पतालदेखि निजी अस्पतालमा काम गर्ने चिकित्सकहरुले नै निजी डाइग्नोष्टिक सेन्टरमा लगानी गरेको पाइएको छ । हेल्थआवाजलाई प्राप्त जीवन एडभान्स काठमाडौं इमेजिङ प्रा.लि. सेयर बाँडफाँड सम्बन्धि गोप्य दस्तावेजमा नाम कहलिएका ३८ जना चिकित्सकको लगानी रहेको पाइएको छ । उनीहरुले ५० हजार रुपैयाँदेखि ४५ लाखसम्म लगानी गरेका छन् । (हेर्नोस अन्तिममा सूची)

जबकी ८ साउन २०७६ सम्म जीवन्त एडभान्स इमेजिङ प्रा.लि.मा ५५ जना व्यक्तिगत र दुई वटा संस्थाको गरी ५७ लगानीकर्ता रहेका छन् । यसको संस्थापक ललितपुरकी ममता हमला घिमिरे र काठमाडौं इमेजिङ प्रा.लि. रहेका छन् । काठमाडौं इमेजिङ प्रा.लि.को तर्फबाट मोरङ विराटनगर स्थायी ठेगाना भएकी डा. ज्योति अग्रवाल संस्थापक छन् ।

अझ रोचक त के भने उक्त इमेजिङ सेन्टरले डाक्टर कन्सल्टेसनका नाममा मात्रै वार्षिक २ करोडभन्दा बढी वितरण गर्ने गरेको सो संस्थाको अडिट रिपोर्टमा देखिन्छ । इमेजिङ प्रा.लि. स्रोतकाअनुसार उक्त कन्सल्टेन्सन वापत डाक्टर दिइने भनिएको शुल्क चिकित्सकले बिरामीलाई डाइग्नोसिसका लागि सिफारिस गरे वापत लिने कमिसन हो ।

‘ल्याबका मुख्य सञ्चालकहरुले नै कहलिएका चिकित्सकहरुलाई सेयर धनी बनाएर बिरामी पठाउने वातावरण निर्माण गर्छन्,’ एक अस्पताल सञ्चालक भन्छन्, ‘ती डाक्टरले आफूलाई सेयर दिएको ठाउँमै पठाउँछन् । र, त्यसवापत उनीहरुलाई छुट्टै कमिसन दिइन्छ ।’ स्रोतकाअनुसार चिकित्सकहरुले यस्ता सेवाका लागि बिरामी पठाएवापत ३५ प्रतिशतसम्म कमिसन पाउने गर्छन् ।

जीवन्त एडभान्स काठमाडौं इमेजिङको कर्मचारीले हेल्थआवाजलाई दिएको सेवाको मुल्यसूचीअनुसार एमआरसीपको १२ हजार रुपैयाँ, एमआरआईको २५ हजार, कार्डियाक एमआरआई ६५ हजार रुपैयाँ, होलबडी स्क्यानिङ ३५ हजार रुपैयाँ, कप्लीट ब्रेस्ट स्क्यानमा २० हजार रुपैयाँ, कम्पिलिट प्रोस्टेट जाँच २० हजार रुपैयाँ, कम्पिलिट स्पाइन होल स्पाइन एमआरआई इन सिंग्गल इमेज २८ हजार रुपैयाँ, बोन जोइन्टसको १५ हजार, होल एपडोमेन टेष्ट १६ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म लाग्ने गरेको छ । जसमध्ये अधिकांस जाँचहरुमा औषधीको थप ४ हजारदेखि ६ हजार रुपैयाँसम्म शुल्क लाग्ने जीवन्तका कर्मचारीले हेल्थ आवाजलाई टेलिफोनमा जानकारी दिए । शुल्कमा कमिसन पनि जोडिने भएकाले बिरामीहरु थप महंगोमा पर्छन् ।

जीवन्त एडभान्स काठमाडौं इमेजिङका लगानीकर्तामध्येमा केही गनिएका सरकारी चिकित्सकसमेत छन् । नेपाल सरकारका कुनै पनि कर्मचारीले आईपीओबाहेक अन्य सेयरमा लगानी गर्न नपाउने कानुनी प्रबन्ध छ । तर, स्वास्थ्य मन्त्रालय प्रवक्ता डा. कृष्ण पौडेल मेडिकल क्षेत्रमा धेरै स्वास्थ्यकर्मीहरुले आफ्नै नाममा वा परिवारका सदस्यका नाममा कम्पनीमा लगानी गर्ने गरेको पाइएको बताउँछन् । ‘कानुनतः यसरी लगानी गर्न पाइदैंन् । यो कन्फिलिट अफ इन्ट्रेष्टसँग जोडिएको विषय पनि हो,’ उनी भन्छन्, ‘तर, स्वास्थ्य क्षेत्रमा धेरैले लगानी गरेको पाइन्छ । नियमन हुन सकेको छैन ।’ प्रवक्ता पौडेल चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको समयअनुसार सेवा सुविधा बढाएर ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम लागु गर्न सके यस्ता समस्याहरु हल हुने दावी गर्छन् ।

जीवन्त एडभान्स काठमाडौं इमेजिङमा ३८ जना डाक्टरको सेयर विवरण

१. डा. ऋषिकुमार काफ्ले १० हजार कित्ता १० लाख रुपैयाँ
२. डा. रमेश कुमार चोखानी ४५ हजार कित्ता ४५ लाख रुपैयाँ
३. डा. रेशा पलाञ्चोक श्रेष्ठ १ हजार कित्ता १ लाख रुपैयाँ
४. डा. ज्योति अग्रवाल ३५ सय कित्ता ३५ लाख रुपैयाँ
५. डा. प्रवीण श्रेष्ठ १ हजार कित्ता १ लाख रुपैयाँ
६. डा. युवराज खरेल २ हजार कित्ता २ लाख रुपैयाँ
७. डा. प्रवीण नेपाल २० हजार कित्ता २० लाख रुपैयाँ
८. डा. भुपेन्द्रकुमार बस्नेत ७ हजार कित्ता ७ लाख रुपैयाँ
९. डा. विकल घिमिरे ७ हजार कित्ता ७ लाख रुपैयाँ
१०. डा. बुद्धिप्रसाद पौडेल १० हजार कित्ता १० लाख रुपैयाँ
११. डा. शेखर राजभण्डारी १ हजार कित्ता १ लाख रुपैयाँ
१२. डा. पंकज जलान २० हजार कित्ता २० लाख रुपैयाँ
१३. डा. अम्बुज कर्ण १० हजार कित्ता १० लाख रुपैयाँ
१४. डा. अमित थापा ५ हजार कित्ता ५ लाख रुपैयाँ
१५. डा. बसन्त पन्त ५ हजार कित्ता ५ लाख रुपैयाँ
१६. डा. प्रकाश न्यौपाने १ हजार कित्ता १ लाख रुपैयाँ
१७. डा. योगेन्द्रप्रसाद सिंह ५ हजार कित्ता ५ लाख रुपैयाँ
१८. डा. दीर्घराज आरसी ७ हजार कित्ता ७ लाख रुपैयाँ
१९. डा. ब्यापक पौडेल २ हजार ५ सय कित्ता २ लाख ५० हजार रुपैयाँ
२०. डा. चक्रराज पाण्डे ५ हजार कित्ता ५ लाख रुपैयाँ
२१. डा. जीवन भट्टराई (सान्ड्रा भट्टराईका नाममा) १२ हजार कित्ता १२ लाख रुपैयाँ
२२. डा. राजेशध्वज जोशी १० हजार कित्ता १० लाख रुपैयाँ
२३. डा. सुशीलकृष्ण शिल्पकार ५ हजार कित्ता ५ लाख रुपैयाँ
२४. डा. सरस्वती बज्राचार्य १ हजार कित्ता १ लाख रुपैयाँ
२५. डा. समीर आचार्य ३ हजार कित्ता ३ लाख रुपैयाँ
२६. डा. प्रवेश राजभण्डारी १ हजार कित्ता १ लाख रुपैयाँ
२७. डा. गोपाल सेढाई ५ हजार कित्ता ५ लाख रुपैयाँ
२८. डा. कृष्णचन्द्र देवकोटा १० हजार कित्ता १० लाख रुपैयाँ
२९. डा. प्रकाश पौडेल ५ सय कित्ता ५० हजार रुपैयाँ
३०. डा. प्रसन्न वीर सिंह ७ हजार कित्ता ७ लाख रुपैयाँ
३१. डा. राजु पौडेल २ हजार कित्ता २ लाख रुपैयाँ
३२. डा.विन्दुलक्ष्मी शाह ६ हजार ५ सय कित्ता ६ लाख ५० हजार
३३. डा. सरोज प्रसाद वझा १ हजार कित्ता १ लाख
३४. डा. रवीन्द्र श्रेष्ठ २ हजार कित्ता २ लाख
३५. डा. राकेशप्रसाद श्रीवास्तव ३ हजार कित्ता ३ लाख
३६. डा. दीपा शाह ४ हजार ५ सय १० कित्ता ४ लाख ५१ हजार रुपैयाँ
३७. डा. अजयकुमार शाह १ हजार ५ सय १० कित्ता १ लाख ५१ हजार रुपैयाँ
३८. डा. दानबहादुर कार्की (सीमा कार्कीका नाममा) २८ हजार कित्ता २८ लाख रुपैयाँ


क्याटेगोरी : विशेष रिपोर्ट, समाचार
ट्याग : #जीवन्त एडभान्स काठमाडाैं इमेजिङ प्रा.लि


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ