काठमाडौं—लामो संसदीय राजनीतिबाट पहिलो पटक राजकीय पदमा पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले यसअघिका मन्त्रीहरुकै पदचाप पछ्याउँदैं स्वास्थ्यका उच्च अधिकारीहरुको सरुवालाई नै प्राथमिकता बनाएका छन् ।
स्वास्थ्यमन्त्री भएको २ महिना नपुग्दैं उनले झण्डै एक दर्जन सरुवा गरिसकेका छन् । नीतिगत अप्ठ्याराहरु सहज बनाउन भूमिका खेल्नुपर्ने मन्त्री उच्च अधिकारीहरुको सरुवामै केन्द्रित हुँदा मन्त्रालयको नीतिगत कामहरु अलपत्र पर्न थालेका छन् । यसअघि मन्त्रालयले अगाडि सारेका प्रतिष्ठान छाता ऐन, फुड एण्ड एडमिनिष्ट्रेसन, सेन्ट्रल फर डिजिज कन्ट्रोललगायतका दूरगामी नीतिगत कामहरु थाती राखेर मन्त्री सरुवामै अल्झिन थालेका छन् ।
सरकारको महत्वकांक्षी र महत्वपूर्ण मानिएको स्वास्थ्य विमा सहज बनाउने नीतिगत काममा पनि मन्त्रीको रुचि देखिदैन् । त्यसैगरी, सरकारी स्वास्थ्य सेवालाई आमूल परिवर्तन गर्न कोशेढुंगा सावित हुने मानिएको ‘एक स्वास्थ्य संस्थाः एक चिकित्सक÷स्वास्थ्यकर्मी’ कार्यक्रम पनि अलपत्र नै छ । अघिल्लो सरकारले एकै पटक शिलान्यास गरेर सुरु गरेका ३ सय ९७ अस्पतालहरुको अनुगमनको अवस्था नाजुक छ । १२ औं तहको प्रमुखसहित ८ सय ३४ दरबन्दी थप भएको वीर अस्पताल १० औं तहको नेतृत्वमा चलेको छ भने कर्मचारी पदपूर्ति अगाडि बढ्न सकेको छैन । ३ सय ५० भन्दा बढी ११ औं तह दरबन्दी भएतापनि २ सयभन्दा बढी ११ औं तहका दरबन्दी रिक्त छन् । त्यो भन्दा बढी १० औं र ११ औं तहका विशेषज्ञ चिकित्सकको दरबन्दी खाली नै छ ।
स्वास्थ्य सेवा मन्त्रीले सम्पादन गर्नुपर्ने नीतिगत कामको चाङ रहँदा—रहँदै पनि विगतका मन्त्रीहरुकै शैली पछ्याउँदैं खतिवडा सरुवामै मग्न हुन थालेका छन् । परिणाम नै मान्नुपर्छ, पछिल्लो एक सातामा मात्रै उनले ८ जना स्वास्थ्यका उच्च अधिकारीहरुको सरुवा गरेका छन् ।
मन्त्रालयको महत्वपूर्ण महाशाखा मानिएको अन्तर्राष्ट्रिय समन्वय महाशाखामा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. संगीता मिश्रालाई ल्याइएको छ । सो महाशाखा सम्हालिरहेकी रिता जोशीलाई मन्त्रालयमै फाजिलमा थन्काइएको छ । डा. मिश्रा निर्देशक रहेको प्रसुती अस्पतालको निर्देशकमा एनेस्थेसियोलोजिष्ट डा. अमिरबाबु श्रेष्ठलाई ल्याइएको छ । उनी सोही अस्पतालका एनेस्थेसियोलोजिष्ट हुन् । संगठन संरचनामा प्रसुती गृहको निर्देशक अब्स्टेटिक तथा गाइनोकोलोजिष्ट रहने व्यवस्था छ ।
दुई महिनाअघि मात्रै परिवार कल्याण महाशाखाबाट सार्क क्षयरोग केन्द्रमा लगिएका डा. तारा पोखरेललाई नीति, योजना तथा अनुगमन महाशाखामा ल्याइएको छ । डा. पोखरेल आगामी माघ १० गते सेवाबाट अनिवार्य अवकास पाउँदैछन् । यसअघिका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनी १२ औं तहमा बढुवा भएपछि सो पद खाली रहेको थियो ।
डा. पोखरेलको ठाउँमा ट्रोपिकल डिजिजका विशेषज्ञ डा. अनुप बाँस्तोलालाई लगिएको छ । कोभिड—१९ को समयमा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उत्कृष्ट काम गरेका डा. बाँस्तोलालाई सेवा समूह नै नमिल्ने सार्क क्षयरोग केन्द्रमा थन्काउन लगिएको हो । सो केन्द्र पनि मन्त्रीलाई मन परेका व्यक्तिहरु थन्काउने ठाउँका रुपमा लिइन्छ । डा. बाँस्तोलाको ठाउँमा सोही अस्पतालका चिकित्सक डा. मनिषा रावललाई जिम्मेवारी दिइएको छ ।
स्वास्थ्य सेवा विभागको सबैभन्दा आकर्षक ठाउँ मानिने व्यवस्थापन महाशाखाको जिम्मेवारी अर्थोपेडिक सर्जन डा. रुद्र मरासिनीलाई दिइएको छ । डा. मरासिनी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ११ औं तहका अर्थोपेडिक सर्जन हुन् । संगठन संरचनाअनुसार व्यवस्थापन महाशाखाको प्रमुख हेल्थ इन्पेक्सन समूह ११ औं तह रहने व्यवस्था छ । यसअघि सो महाशाखा प्रमुख डा. भिमसिंह तिंकरी रहेका थिए । उनी १२ औं तह बढुवा भएपछि सो पद खाली रहेको थियो ।
सोही महाशाखाअन्तर्गतको व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुंगानालाई पनि हटाइएको छ । उनको ठाउँमा यसअघि पटक—पटक विवादमा तानिएका सुरेन्द्र चौरासियालाई लगिएको छ । मन्त्री खतिवडाका विज्ञ सल्लाहकार डा. रमेश ढकाल सरुवा नियमित प्रक्रियामा भएको बताउँछन् । ‘केही खाली ठाउँमा पूर्ति गरिएको मात्रै हो,’ उनले हेल्थआवाजसँग भने, ‘यो नियमित प्रक्रियाअन्तर्गत हो । काम गर्न सजिलोको लागि गरिएको हो ।’
स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेल पार्टीनिकट कर्मचारीहरुको लबिइङ र पार्टी निकटका ल्याएपछि काम गरिदिइहाल्छन् भन्ने मन्त्रीको मनोविज्ञानका कारण मन्त्रीहरुको पहिलो ध्यान सरुवा जाने गरेको बताउँछन् । ‘मन्त्रीहरु राजनीति पार्टी निटकको ल्याएपछि आफूले चाहेको काम भइहाल्छ भन्ने ठान्छन् । तर, एउटा सिष्टम हुन्छ, ऐननियम छन्,’ उनी भन्छन्, ‘सिद्धान्त मिलेपनि नमिलेपछि कर्मचारी ऐननियमबाहेक काम गर्न सक्दैनन् । तर, सिद्धान्त मिलेपनि नमिलेपनि ऐन, नियम नै फ्लो गर्ने हो ।’
मन्त्रीहरु अन्य महत्वपूर्ण कामहरु छाडेर सरुवामै केन्द्रित हुँदा यसले दुई वटा प्रभाव पार्ने डा. प्याकुरेल बताउँछन् । ‘एउटा आफ्नो कर्तव्य पालना गर्ने प्रतिवद्ध कर्मचारीलाई असर गर्छ,’ उनी भन्छन्, ‘अर्को, सही व्यक्ति नछान्दा नेतृत्वलाई नमान्ने समस्या पनि हुन्छ ।’