२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगंगालाल हृदयरोग केन्द्रबाट पहिलोपटक अन्तर्राष्ट्रियस्तरमा ‘पीसीआई केस लाइभ’

गंगालाल हृदयरोग केन्द्रबाट पहिलोपटक अन्तर्राष्ट्रियस्तरमा ‘पीसीआई केस लाइभ’


काठमाडौं—शहीद गंगालाल हृदय रोग केन्द्रले अन्तर्राष्ट्रिय मञ्चमा पहिलो पटक प्रेकुटेनियस क्रोनरी इन्टरभेन्सन (पीसीआई) केसको लाइभ भिडियो प्रस्तुती दिएको छ । बुधबार नेसनल हार्ट फाउन्डेसन र रिसर्च इन्स्टिच्युट बंगलादेशको संयुक्त आयोजनामा भइरहेको ‘कन्फरेन्स अफ कार्डियोभास्कुलर डिजिज’मा केन्द्रले सो प्रस्तुती दिएको हो ।

‘नेपालले यसरी अन्तर्राष्ट्रिय प्लाटफर्ममा अस्पतालबाट पीसीआई केसको लाइभ प्रस्तुती दिएको पहिलो पटक हो,’ अस्पतालका कार्डियोलोजिष्ट डा. अमृत बोगटीले भने । अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारी, डा. धर्मनाथ यादवको नेतृत्वमा ६ जनाको टिमले सो लाइभ प्रस्तुती गरेको थियो ।

अस्पतालका चिकित्सकहरुले ५ दिनअघि हृद्धयघात भएर अस्पताल भर्ना भएका ५४ वर्षीय पुरुषको क्रोनरी एन्जिओ प्लाष्टि गरेका थिए । ती बिरामीको एन्जिओग्राम गरेर गर्दा मुटुको धमनीमध्ये बायाँतिर मुख्य आर्टरीको मुखबाट नै ९० प्रतिशत साघुरिएको थियो । सो प्रस्तुतीले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएको डा. बोगटी बताउँछन् ।

‘नेपालमा गंगालाल अस्पतालले अन्तर्राष्ट्रियस्तरको सेवा दिएको छ भन्ने कुरा अन्तर्राष्ट्रिय विज्ञहरुले समेत देख्न पाए,’ डा. बोगटी भन्छन्, ‘यसले देशकै गौरव बढाएको छ । यसअघि यस्तो प्रसारण हामीले गर्न पाएका थिएनौं ।’ उक्त लाइभ प्रस्तुतीमा कोरोनरी एन्जियोप्लास्टी गरेको एञ्जियोग्राम, कोरोनरी आटर्री हेर्ने इन्टर भास्कुलर अल्ट्रासाउण्डको क्रियाकलापहरु झण्डै ३० मिनेट देखाइएको थियो ।

यस्तो लाइभ प्रस्तुती नेपालजस्ता देशहरुका अस्पतालका लागि धेरै चुनौती कार्य मानिन्छ । आर्थिक पक्ष, लाइभ प्रसारण गर्नका लागि टेक्निकल अवरोध, समयमा टिम र बिरामीको व्यवस्थापन गरेर दिइएको अवधिमा सबै कुरा गरेर देखाउने भएकाले यो चुनौतीपूर्ण काम मानिन्छ । ‘तर, यी सबैको बाबजुद पनि हामीले सफल पार्न सक्यौं ।

यो संस्था र नेपालकै लागि गर्वको कुरा हो,’ उनले थपे । अस्पतालले अन्तर्राष्ट्रिय सम्मेलनहरुमा यस्ता लाइभ प्रस्तुती दिने जनाएको छ । अहिले गंगालाल अस्पतालले वार्षिक २ हजारको हाराहारीमा हृद्धयघात भएका बिरामीहरुको प्राइमरी एन्जियोप्लास्टी गरिरहेको छ ।

प्रेकुटेनियस क्रोनरी इन्टरभेन्सन (पीसीआई) के हो ?

प्रेकुटेनियस क्रोनरी इन्टरभेन्सन (पीसीआई)लाई सामान्य भाषामा स्टेन्टसहितको एन्जियोप्लास्टी भनिन्छ । यो मुटुका ब्लक भएको धमनीहरूको अवरोध खोल्ने प्रक्रिया हो । यो नन सर्जिकल प्रक्रियाबाट सम्पन्न गर्ने गरिन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ