२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआमा सुरक्षा कार्यक्रम संकटमा, अस्पतालले सेवा नवीकरण गर्न छोडे

आमा सुरक्षा कार्यक्रम संकटमा, अस्पतालले सेवा नवीकरण गर्न छोडे


काठमाडौं—नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको आमा सुरक्षा कार्यक्रम संकटमा परेको छ । नेपाल सरकारको अनुदानबाट सञ्चालनमा भएका ठूला अस्पतालले नै बेवास्ता गरिरहेको सो कार्यक्रमबाट पछिल्लो समय निजी मेडिकल कलेज र निजी अस्पतालहरुले पनि धमाधम हात झिक्न थालेका छन् ।

आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्नका लागि कार्यक्रम सञ्चालन स्वीकृती पाएका ३६ वटा मेडिकल कलेज तथा निजी अस्पतालमध्ये यो समाचार तयार पार्दासम्म ११ वटा अस्पतालले मात्रै नवीकरण गरेका छन् । नवीकरण नगर्नेमा अधिकांश ठूला मेडिकल कलेज र नाम चलेका अस्पतालहरु छन् । आमा सुरक्षा कार्यक्रम नवीकरण नभएसँगै प्रसुति गराउने आमाहरुले महंगो शुल्क तिर्नुपर्ने बाध्यात्मक परिस्थिती सिर्जना भएको छ ।

आमा सुरक्षा कार्यक्रमअन्तर्गत प्रसुति गराउँदा सरकारबाट पाउने अनुदान वापतको रकम कम भएको भन्दैं अधिकांश निजी तथा नेपाल सरकारबाट अनुदान लिने अस्पतालहरुले नवीकरण नगरेको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेकलाल कर्णले बताए । ‘हामीले दिने रकम कम भएको भन्दैं अस्पतालहरुले आमा सुरक्षा कार्यक्रम नवीकरण गराउन छाडेका छन्,’ उनले भने, ‘सो रकमलाई पुनःविचार नगर्ने हो भने आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न नै गाह्रो पर्छ ।’

नेपाल सरकारले आमा सुरक्षा कार्यक्रम सञ्चालन गरेका अस्पतालहरुमा ४ पटक गर्भ जाँच गराएको र सुत्केरी गराएको अधिकतम (शल्यक्रिया)को ७ हजार रुपैयाँ दिने गर्छ । तर, नेपाल सरकारकै अर्को कार्यक्रम स्वास्थ्य विमा सञ्चालन भएको अस्पतालमा सोही प्रकृतिको सेवा दिँदा झण्डै तेब्बर (१९ हजार रुपैयाँ) पाउने व्यवस्था छ ।

डा. लाल आमा सुरक्षा कार्यक्रमको पैसा कम हुँदा अस्पतालहरु बिमातर्फ बढी आकर्षिक भएको हुन सक्ने बताउँछन् । परिवार कल्याण महाशाखाले आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन अहिले दिइरहेको सेवा शुल्कलाई दोब्बर बनाउने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएतापनि पास हुन नसकेको उनी बताउँछन् ।

आमा सुरक्षा कार्यक्रमअन्तर्गतको शोधभर्ना अति कम भएको भन्दैं नेपाल सरकारकै ठूला अस्पतालहरु त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र निजामती अस्पतालले यो कार्यक्रममा चासो नै देखाएका छैनन् । यो कार्यक्रम सञ्चालन गर्न स्वीकृती लिएका ठूला मेडिकल कलेजहरु काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज, नेपालगन्ज मेडिकल कलेज, मणिपाल मेडिकल कलेज, नेशनल मेडिकल कलेज, धुलिखेल अस्पताल, चितवन मेडिकल कलेजले आमा सुरक्षा कार्यक्रम नवीकरण नै गरेका छैनन् ।
यी अस्पतालहरुमा वर्षमा कम्तिमा १ लाख हाराहारीमा प्रसुति गराउन महिलाहरु जाने गर्दछन् ।

सुरुमा आमा सुरक्षा कार्यक्रम गरेर पुनः नवीकरण नगर्ने अन्य अस्पतालहरुमा लाइफकेयर अस्पताल दाङ, सप्तऋषि अस्पताल लहान, लमजुङ सामुदायिक अस्पताल बेसीसहर, शंकरापुर अस्पताल जोरापाटी, फुलकुमारी महतो अस्पताल सिरहा, बयलपाटा सामुदायिक अस्पताल अछाम, पद्यमा अस्पताल कैलाली, नमुना अस्पताल सर्लाही, मनमोहन सामुदायिक अस्पताल फर्पिङ, सिडिडब्लुसी सामुदायिक अस्पताल काभ्रे, एडभान्स अस्पताल दमक, नेपाल परिवार नियोजन संघ काभ्रे, कीर्तिपुर अस्पताल कीर्तिपुर, सुदूरपश्चिमाञ्चल सामुदायिक अस्पताल अत्तरिया, शहीद स्मृती सामुदायिक अस्पताल वर्दघाट, सिद्धार्थनगर सिटी अस्पताल रुपन्देही रहेका छन् ।

आमा सुरक्षा कार्यक्रम नवीकरण गर्नेहरुमा नेपाल मेडिकल कलेज जोरपाटी, गण्डकी मेडिकल कलेज पोखरा, शीर मेमोरियल अस्पताल बनेपा, विराट मेडिकल कलेज विराटनगर, वीरेन्द्र सैनिक अस्पताल छाउनी, छिन्नमस्ता अस्पताल राजविराज र सुर्या अस्पताल विरगन्ज छन् । त्यसैगरी, वीरगन्ज हेल्थकेयर, अन्जली अस्पताल विर्तामोड, नोबेल मेडिकल कलेज, रोल्वालिङ सामुदायिक अस्पताल दोलखा रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ