२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२० जिल्ला अस्पताल ‘स्याटेलाइट सर्जिकल अस्पताल’, विशेषज्ञ शल्यचिकित्सा सेवा दिइने

२० जिल्ला अस्पताल ‘स्याटेलाइट सर्जिकल अस्पताल’, विशेषज्ञ शल्यचिकित्सा सेवा दिइने


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० वटा जिल्ला अस्पताललाई ‘स्याटेलाइट सर्जिकल अस्पताल’का रुपमा सञ्चालन गर्ने भएको छ । शुक्रबार स्याटेलाइट सर्जिकल अस्पताल सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जिल्ला अस्पताल र मेडिकल कलेजबीच सम्झौता भइरहेको छ ।

जसमध्ये मन्त्रालय, केही जिल्ला अस्पताल र मेडिकल कलेजबीच सम्झौता भइसकेको छ भने केही अस्पतालको हुने प्रक्रियामा रहेको छ । १६ भदौं २०७८ मा सरकारबाट स्वीकृत भएको मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध गराउने सम्बन्धि कार्यविधी, २०७८ बमोजिम मन्त्रालयले १६ अस्पताललाई स्याटेलाइट सर्जिकल अस्पताल बनाएको हो ।

सोही व्यवस्थाअनुसार स्याटेलाइट सर्जिकल अस्पतालका लागि छनोट भएका देशभरका २० वटा अस्पतालबाट अब विशेषज्ञ शल्य चिकित्सा सेवा सुरु हुनेछ । ती अस्पतालका लागि सम्झौता भएका सरकारी तथा निजी मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले १ जना विशेषज्ञ शल्यचिकित्सक, १ जना प्रसुती तथा स्त्री रोग विशेषज्ञ र १ जना एनेस्थेसियोलोजिष्ट वा एनेस्थेसिया सहायक उपलब्ध गराउनुपर्नेछ ।

‘प्रदेशस्तरका २५ तथा ५० शैय्याका अस्पतालबाट विशेषज्ञ शल्यक्रिया सेवा प्रदान गर्न चिकित्सा शिक्षा ऐनको मर्मअनुसार यो कार्यविधी तयार गरिएको हो,’ मन्त्रालयका नीति, योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेलले भने, ‘कार्यविधीअनुसार सम्झौता प्रक्रिया सुरु भइसकेको छ । चाडै नै यसले पूर्णता पाउनेछ ।’ यो कार्यविधी पूर्ण रुपमा लागु भएपछि दुर्गमका जनताले आकस्मिक शल्यक्रिया गर्न सहरी क्षेत्रमा रहेका ठूला अस्पताल धाउनु नपर्ने उनले बताए ।

मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध गराउने सम्बन्धि कार्यविधी, २०७८ मा मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुले एउटा स्याटेलाइट अस्पताल चलाउनुपर्ने व्यवस्था छ ।

मेडिकल कलेजहरुले ती अस्पतालमा विशेषज्ञ शल्यचिकित्सा सुरु गरेवापत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक बजेटको व्यवस्था गर्ने कार्यविधीमा छ । सो रकम मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिने जनशक्तिलाई प्रोत्साहन भत्ता स्वरुप विशेषज्ञ चिकित्सकलाई नेपाल सरकारको स्वास्थ्य सेवाको नवौं तहको न्यूनतम तलब बराबरको र अन्य हकमा समान तहअनुसार उपलब्ध गराइनेछ व्यवस्था गरिएको छ ।

यसरी शल्यचिकित्सा सेवा सुरु गर्न मन्त्रालय, विभिन्न मेडिकल कलेज र जिल्ला अस्पतालबीच सम्झौता हुने क्रम जारी छ । जसमा जाजरकोट अस्पतालमा नेपालगंज मेडिकल कलेज, रुकुम अस्पतालमा युनिभर्सल मेडिकल कलेज अफ साइन्सेज, गुल्मी अस्पतालमा लुम्बिनी मेडिकल कलेज, हुम्ला अस्पतालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमौली अस्पतालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्याङजा अस्पतालमा गण्डकी मेडिकल कलेज, पर्वत अस्पतालमा मणिपाल मेडिकल कलेज, टीकापुर अस्पतालमा चितवन मेडिकल कलेज, रोल्पा अस्पतालमा कलेज अफ मेडिकल साइन्सेज, गोरखा अस्पतालमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिन्धुपाल्चोक अस्पतालमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जले विशेषज्ञ सेवा दिनेछन् ।

यसैगरी, धादिङ अस्पतालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, रामेछाप अस्पतालमा काठमाडौं मेडिकल कलेज, दोलखा अस्पतालमा किष्ट मेडिकल कलेज, खोटाङ अस्पतालमा नेपाल मेडिकल कलेज, सिन्धुली अस्पतालमा केयु स्कुल अफ मेडिकल साइन्सेज, गौर अस्पतालमा नेशनल मेडिकल कलेज, धनकुटा अस्पतालमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाँचथर अस्पतालमा नोबेल मेडिकल कलेज र तेह्रथुम अस्पतालमा विराट मेडिकल कलेजले विशेषज्ञ शल्यचिकित्सा सेवा दिनेछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ