काठमाडौँ – काठमाडौँको धरहराबाट छारे रोगसम्बन्धि सचेतना फैलाइएको छ। हरेक वर्ष मार्च २६ का दिन मनाइने विश्व छारे रोग दिवसको अवसरमा शनिबार साँझ धरहरालाई पर्पल कलरले सजाएर छारेसम्बन्धि सचेतनामुलक सामग्री प्रस्तुत गरिएको थियो।
महाराजगञ्जस्थित नेशनल न्युरो सेन्टर र इपिलेप्सी फाउन्डेसन अफ नेपालको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । छारे रोग लागेका मानिसहरु पनि उपचार गराएमा सामान्य अवस्थामा फर्कन सक्छन् भन्ने सन्देश दिनका धरहरालाई पर्पल कलरले सजाएर सचेतनामुलक सामग्री प्रदर्शन गरिएको आयोजक टोलीले बताएको छ।
धरहरामा प्रदर्शन कार्यक्रम पछि टोलीले छारेरोग सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा आइओएमका पूर्व डिन तथा मस्तिष्क रोग विशेषज्ञ डा. जेपी अग्रवाल, नेपाल पक्षघात संघका अध्यक्ष तथा वरिष्ठ न्युरोलोजिष्ट डा. राजुु पौडेल, नेशनल न्युरो सेन्टरका निर्देशक तथा वरिष्ठ न्युरोलोजिष्ट डा. थापा, उपनिर्देशक तथा वरिष्ठ न्युरोलोजिष्ट डा. सुमन भट्टराई र मनोरोग विशेषज्ञ डा. आशिष दत्तको सहभागिता थियो।
सो कार्यक्रममार्फत नेशनल न्युरो सेन्टर, नेपाल पक्षघात संघ र स्वास्थ्य पत्रकार मञ्च नेपालको सहकार्यमा सञ्चालन गरिएको छारेसम्बन्धि लेखनवृत्ति कार्यक्रमलाई समापन गरिएको थियो । लेखनवृत्तिमा कार्यक्रममा सहभागि ७ जना स्वास्थ्य पत्रकारलाई नगद र प्रमाणपत्रसहित पुरस्कृतसमेत गरिएको थियो ।