काठमाडौं-चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रको लागि स्नातकतर्फको एकीकृत चिकित्सा शिक्षा प्रवेश परीक्षा आजबाट सुरु गर्ने भएको छ । आयोग स्थापना भएपछि स्नातक तर्फको यो दोस्रो एकीकृत परीक्षा लिन लागिएको हो ।
यस पटकको परीक्षालाई आयोगले ५० प्रतिशत पर्सन्टायलको माध्यमबाट रिजल्ट प्रकाशित गर्ने भएको छ । जुनसुकै विषयमा पनि परीक्षामा समावेस भएका विद्यार्थीमध्ये ५० प्रतिशत प्रवेश परीक्षामा उत्तीर्ण हुनेछन् ।
आयोगले परीक्षाको सुरक्षालाई मध्यनजर राख्दै यस पटकबाट बायोमेट्रिक्स प्रणालीबाट हाजिरी गर्ने भएको छ । विदेशी विद्यार्थी पनि परीक्षामा सामेल हुने हुँदा बायोमेट्रिक्स प्रणालीमा हाजिरी गरी पछि पनि अध्ययन गर्दा कैफियत भए परिक्षा रद्ध गरिने आयोगका कार्यकारी उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले जानकारी दिए ।
‘परीक्षालाई मर्यादित बनाउन आयोगले सम्पूर्ण तयारी गरेको छ,’ उनले भने, ‘परीक्षामा नक्कली विद्यार्थी भएको पाइएमा त्यस्तो परीक्षार्थीलाई दुई वर्षसम्मका परीक्षामा सहभागी हुन पाउँदैन् साथै मतियारलाई पनि कानुनी कार्वाही गरिन्छ ।’
आयोगले परिक्षा मर्यादित बनाउन गृह मन्त्रालयसँग समन्वय गरिएको समेत जनाएको छ । परीक्षाको समयमा सबैले मर्यादित भएर सहयोग गर्न समेत विज्ञप्तीमार्फत अनुरोध गरेको छ । यसअघिका परीक्षामा सञ्चार माध्याम प्रयोग गरी अर्नगल प्रचार भएको आरोप लगाउँदै त्यस्ता आरोपहरुको अनुसन्धान अगाडि बढेको पनि जनाइएको छ ।
