२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभारतीय फर्मा व्यवसायी भन्छन्, ‘नेपाली फर्मा व्यवसाय निकै विकास भएको छ’

भारतीय फर्मा व्यवसायी भन्छन्, ‘नेपाली फर्मा व्यवसाय निकै विकास भएको छ’


चितवन–चितवनमा ९ जेठदेखि सुरु भएको तीन दिने भएको आठौँ फर्मा तथा हेल्थ एक्स्पो सम्पन्न भएको छ । नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा जारी उक्त एक्स्पो आइतबार सम्पन भएको हो ।

एक्स्पोमा स्टल रहेको भारतीय कम्पनी ‘द बम्बे इञ्जियरिङ वर्कस’का मालिक मयुर जोशीले नेपाल फर्मा उद्योगमा निकै विकास भएको बताएका छन् । ‘१० वर्षअघि एक्स्पोमा आउँदा उद्योगहरु सिमित थिए र त्यसको भिजन पनि सिमित थियो,’ उनले भने, ‘तर, अहिले उद्योग निकै ठूलो र अन्तर्राष्ट्रिय क्षेत्रलाई कम्पिट गर्ने खालको सुधार भएको देख्दा निकै खुसी लाग्यो ।’ उनले ट्याब्लेट फर्मामा आउने सम्पूर्ण औषधि बनाउने मेसिन प्रदर्शनमा राखेको उल्लेख गर्दै स्टल हेर्न आउनेको संख्या सोचेकोभन्दा बढी देख्दा उत्साहित भएको बताए ।

नेपालले भारतीय फर्मा कम्पनीहरुसँग नेटवर्किङ्ग बढी बनाएमा एक्स्पो तीन गुणा बढी हुने उनको भनाइ थियो । ‘यहाँ फर्मामा सामानको कारोबार हुने कम्पनी मात्र आइरहेका छन् । आयोजक टिमले भारतीय कम्पनीहरुसँग नेटवर्किङ बढाउने, सामान ल्याउने लाने शुल्कमा सहुलियत दिने हो भने अझै धेरै प्रविधि नेपालमा भित्रिने र तीन गुणा एक्स्पो राम्रो हुनेछ,’ उनले थपे ।

पुराना कम्पनीदेखि नयाँ उद्योगहरुले आफ्ना उत्पादनहरु प्रर्दशनीमा राखेका थिए । भारतीय औषधी कम्पनी अधिनाथ केयरका मालिक जिग्नेश शाहले एक्स्पोमा स्टल पहिलोपटक राखेको बताए । ‘सन् २०१९ मा एक्स्पो हुँदा भ्रमण गर्न मात्र आएको थिए,’ उनले सुनाए, ‘त्यही बेलाबाट बिजनेस गर्ने मन भएको हुँदा स्टल यसपटक राखेको हुँ ।’ उनले स्टलमा ग्राहक आएर हेर्दा र प्रतिक्रिया दिंदा निकै खुसी लागेको छ । ‘रहनसहन र भाषा मिल्दोजुल्दो भएकोले उत्साहित छौँ,’ उनले थपे, ‘नेपाली फर्मा उधोग निकै विकास भएछ ।’

त्यस्तै, नेपाल साइन्टिफिक इन्स्ट्रमेन्ट सोलुसनका प्राविधिक निर्देशक सरोज दाहालले अवलोकनकर्ताहरु सोचेकोभन्दा बढी नै आएको बताए । ‘तर, गर्मी ठाउँ भएको हुँदा काठमाडौंबाट भने त्यति आएको पाइएन्,’ उनले भने, ‘एक्स्पोमा ठूलो लगानी गरिसकेपछि आयोजकले एसीजस्ता सुविधामा पनि ध्यान दिनुपर्ने हो । किनभने एक्स्पोकै लागि भनेर देश विदेशदेखि व्यक्तिहरु आउनु हुन्छ । गर्मीका कारणले अवलोकनकर्तालाई मात्र हैन हामीलाई नै सास्ती भएको छ ।’ नेपाल साइन्टिफिक इन्स्ट्रमेन्ट सोलुसनले नेपाल बाहिरबाट आयात गरी ल्याबहरुमा चाहिने सामान अटोमेसन सप्लाई गर्ने गर्छ ।

आठौँ फर्मा एक्स्पोको उद्घाटन शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । एक्स्पोमा भारत, बंगलादेश र नेपाली औषधि तथा सर्जिकल कम्पनी गरेर कुल १६५ वटा स्टल राखिएको थियो । जसमध्ये सबैभन्दा बढी स्टल भारतीय कम्पनी रहेका थिए । त्यसपछि ४५ वटा स्टल नेपाली उद्योगको रहेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ