२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारी स्वास्थ्य संस्थामा दुई दिन विदा नदिने पक्षमा स्वास्थ्य मन्त्रालय, सरोकारवालाहरू असन्तुष्ट

सरकारी स्वास्थ्य संस्थामा दुई दिन विदा नदिने पक्षमा स्वास्थ्य मन्त्रालय, सरोकारवालाहरू असन्तुष्ट


काठमाडौं–सरकारले सरकारी निकायहरुमा दुई दिने बिदा अर्को महिनाबाट लागु गर्ने तयारी गरिरहेका बेला स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकारी स्वास्थ्य संस्थाहरुमा भने दुई दिने विदा कार्यन्वयन गर्न नसकिने बताएका छन् । बुधबार मन्त्री खतिवडाले अहिलेकै जसरी सरकारी स्वास्थ्य संस्थामा हप्तामा ६ दिन नै नियमित ओपीडी सेवा सञ्चालन हुने गरी मन्त्रालयले तयारी गरिरहेको बताए ।

‘सरकारी स्वास्थ्य संस्थामा सातामा दुई दिन बिदा दिन सकिदैंन् । नियमित अवस्थाजस्तै ६ दिन ओपीडी सेवा संचालन हुन्छ,’ मन्त्री खतिवडाले हेल्थआवाजसँग भने ‘सरकारी विदाको दिन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई थप सेवा सुविधा दिएर या विदा पालो मिलाएर भएपनि ६ दिन नै ओपीडि चलाउने पक्षमा हामी छौं ।’

सरकारी स्वास्थ्य संस्थाहरुमा नियमित रुपमा साताको ६ दिन नै ओपीडी सेवा प्रवाह हुने उनले बताए । ‘भोलि (बिहिबार) सरकोकारवालाहरुसँग कुन मोडलमा गर्ने भन्ने कुराको छलफलका लागि बोलाइएको छ, विभिन्न मोडल छन् जुन उपयुक्त हुन्छ त्यही मोडलमा जाने हो,’ उनले भने । मन्त्री खतिवडाले नियमित सेवा प्रवाह भइरहेको जस्तै अब पनि सोहीअनुसार हुनुपर्नेमा स्पष्ट रहेको बताए ।

मन्त्रालयले सोहीअनुसार तयारी समेत अगाडि बढाइरहेको छ । तर, चिकित्सकहरुले भने यसको विरोध गरिरहेका छन् । चिकित्सकहरुको पेशागत संगठन नेपाल चिकित्सक संघ (एनएमए)ले २ दिने विदाको स्वागत गर्दै विज्ञप्ती निकालिसकेको छ भने सरकारी चिकित्सक संघ (गोदान)ले सरकारी स्वास्थ्य संस्थामा हप्तामा दुई दिने बिदा कार्यन्वयनमा नल्याउने मन्त्रालयको तयारीप्रति विरोध जनाएको छ । उसले विज्ञप्ति नै निकालेर हचुवाका भरमा सरकारका अधिकारीले नै दुई दिने विदाको निर्णय लागु गर्न नसकिने भन्नु दुखद्् रहेको जनाएको छ ।

सरकारी चिकित्सक संघका महासचिव महासचिव डा. कीर्तिपाल सुवेदीले चिकित्सकलाई दुई दिन विदा दिएर आलोपालो गरेर सेवामा निरन्तरता दिन सकिने बताए। ‘सरकारले नै दुई दिन विदा दिने भनेपछि स्वास्थ्य संस्थालाई मात्र किन नपाउने ?,’ उनले प्रश्न गरे, ‘सेवा सुविधाको कुरा आउँदा सबै पेसा एकै हो भन्ने तर छुट्टी डाक्टरले मात्रै किन नपाउने ? दुई दिन विदा हुँदा ओपिडीमा समस्या आउँछ। त्यसले मार पर्ने त हामीलाई नै हो।’ उनले यसका लागि के विकल्प हुन सक्छ भनेर सरकारले पनि आफूहरुसँग छलफल गर्न आवश्यक रहेको बताए ।

एनएमएका अध्यक्ष डा. लोचन कार्कीले डाक्टरले २४ घण्टा खटिएर काम गर्नुपर्ने हुँदा आरामको लागि पनि दुई दिनको विदा आवश्यक रहेको बताए । ‘समय नै नहुने र तनावपूर्ण पेशा चिकित्सकको हो,’ उनले भने, ‘यस्तोमा दुई दिन आराम गर्दा डाक्टरले अझै उर्जावान भएर उपचारमा खटिन सक्छन्।’ डा. कार्कीले सरकारी चिकित्सकहरु मात्रै नभएर निजी स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि दुई दिन विदा चाहिने बताए ।

नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राई सरकारले दिएको निर्देशन पालना गर्ने हो तर सेवासुविधा आवश्यक पर्ने उनले बताइन् । ‘सरकारले दिएको निर्देशन पालना गर्छौ,’ उनले भनिन्, ‘दुई दिन हामीलाई नदिने हो भने त्यसवापत अतिरिक्त विदा वा सेवासुविधाहरुको व्यवस्था हुनुपर्छ ।’ उनले बिहिबार मन्त्रालयसँग छलफल हुने भएकाले एउटा निष्कर्षमा पुगिने विश्वास व्यक्त गरिन् ।

प्रजातन्त्रवादी आयुर्वेदिक चिकित्सक संघले पनि दुई दिन विदा नदिने मन्त्रालयको तयारीप्रति असन्तुष्टि व्यक्त गरेको छ । बुधबार संघले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य क्षेत्रलाई विशेष क्षेत्र मान्ने हो भने स्वास्थ्यकर्मीलाई कार्यबोझ मात्रै नथपेर थप सुविधा र अतिरिक्त प्रोत्साहन भत्ता दिने अनिवार्य रहेको जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ