२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनवनिर्वाचित प्रतिनिधिहरुको पहिलो प्राथमिकतामा स्वास्थ्य, के-के निर्णय भए ?

नवनिर्वाचित प्रतिनिधिहरुको पहिलो प्राथमिकतामा स्वास्थ्य, के-के निर्णय भए ?


काठमाडौँ – वैशाख ३० को स्थानीय चुनावमा धेरै नयाँ मुहारहरु देखिए । त्यसमध्ये धेरै उम्मेदवारहरु स्वास्थ्यबाट पनि उठेका थिए । यद्यपि हाल मतदान सकिएर गणनाको क्रम जारी छ । त्यसमध्ये कतिपय निर्वाचित घोषणा समेत भइसकेका छन् भने नवनिर्वाचित प्रतिनिधिहरुले धमाधम पदभार समेत ग्रहण गरिरहेका छन्। आफ्नो जिम्मेवारी सम्हालेसँगै उनीहरुले नयाँ निर्णयहरु पनि सार्वजनिक गरिरहेका छन्।

नवनिर्वाचित स्थानीय प्रतिनिधिहरुले पदबहालीलगत्तै धेरै प्रतिनिधिहरुले स्वास्थ्यलाई मुख्य प्राथमिकता दिदैँ विभिन्न निर्णय गरेका छन्।

१. कागेश्वरी नगरपालिका ‘सामुदायिक विद्यालयका विद्यार्थीको नि:शुल्क स्वास्थ्य परीक्षण’

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्वाचित मेयर उपेन्द्र कार्कीले स्वास्थ्यतर्फ सामुदायिक विद्यालयका बालबालिकाको नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेका छन्। सोमबार पदभार सम्हाल्दै उनले सामुदायिक विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुलाई नियमित स्वास्थ्य परिक्षण तथा उपचार सेवा विद्यायलमा नै निःशुल्क उपलब्ध गराउने निर्णय गरेका हुन्।

त्यसबाहेक, जेष्ठ नागरिकहरुलाई मधुमेह, उच्च रक्तचाप तथा निमोनियाको खोपलगायतका स्वास्थ्य परिक्षणसहितको स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन घर घरमा नै स्वास्थ्यकर्मी परिचालन गरी निःशुल्क रुपमा उपचार गर्ने व्यवस्था मिलाउने पनि निर्णय भएको छ।

२. हेटौंडा उपमहानगरपालिका ‘नि:शुल्क स्वास्थ्य विमा’

हेटौंडा उपमहानगरपालिकाले नगरभित्रका अति विपन्न १५ सय ४१ परिवारको निशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ। हेटौंडा उपमहानगरपालिकाकी नवनिर्वाचित मेयर मीना लामाले नगरका १५ सय ४१ परिवारको नि:शुल्क स्वास्थ बिमा गर्ने निर्णय गरेकीहुन् ।

सोमबार पदभार ग्रहण गर्दै नगरका विपन्न १५ सय ४१ परिवारको नि:शुल्क स्वास्थ बिमा गर्ने निर्णय गरेकी हुन्।

३. स्याङ्जाको पुतलीबजार नगरपालिका ‘ब्लड बैंक’ स्थापना गर्ने’

स्याङ्जाको पुतलीबजार नगरपालिकाको नवनिर्वाचित नगरप्रमुख तुल्सीराम रेग्मीले पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने पहिलो निर्णय गरेका छन् । रगतको अभावमा अकालमा कसैको पनि ज्यान नजाओस् भन्ने विषयमा संवेदनशील भइ पहिलो निर्णयको रुपमा ‘ब्लड बैंक’ स्थापनालाई प्राथमिकतामा राखिएको बताइएको छ। रक्त सञ्चार सेवासँगै डायलिसस सेवा पनि प्रभावकारी र सहज बनाउने निर्णय गरेको छ।

४. ललितपुर जिल्ला ‘सुत्केरी र अशक्तलाई निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने’

ललितपुर जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिहरुले दुर्गम क्षेत्रमा पर्ने दुई गाउँपालिकाले सुत्केरी र अशक्तलाई निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेका छन छ। बागमती गाउँपालिका र कोञ्ज्येसोम गाउँपालिकामा आज पदबहाली गर्दै पहिलो निर्णयका रुपमा आवश्यकलाई निःशुल्क एम्बुलेन्सको निर्णय गरेको हो।

बागमती गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष बीरबहादूर लामा र उपााध्यक्ष भक्तबहादूर दर्लार्मीे र कोञ्ज्येसोम गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेका कृष्णमान लामा र उपाध्यक्षमा नेपाली कांग्रेसका राजनप्रसाद घिमिरे लगायतका पदाधिकारीले पदबहाली गरेका छन् ।

यस्तै, बागमती गाउँपालिकाकाले सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा र सुत्केरी स्याहार बापत रु दुई हजार दिइने निर्णय गरेको छ।

५. कालिकोटको खाँडाचक्र नगरपालिका ‘गर्भवती र प्रसूतिलाई निःशुल्क यातायात सेवा दिने’

कालिकोटको खाँडाचक्र नगरपालिकाले गर्भवती र प्रसूतिलाई निःशुल्क यातायात सेवा दिने पहिलो निर्णय गरेको छ । नगरपालिका प्रमुख कमल शाही र उपप्रमुख गणेशबहादुर शाहीले पदभार ग्रहण गर्दै उक्त निर्णय गरेका हुन् ।

६. झापाको कचनकवल गाउँपालिका  ‘सुत्केरी महिलालाई नि:शुल्क एम्बुलेन्स सेवा’

झापाको कचनकवल गाउँपालिकाले सुत्केरी महिलालाई जिल्ला भरी नि:शुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको छ।

७. भोजपुर नगरपालिका ‘प्रसुती सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा’

भोजपुर नगरपालिकाका नवनिर्वाचित मेयर कैलाशकुमार आलेले नगरपालिका भित्रका ६० बर्षभन्दा माथिका ज्येष्ठ नागरिक र प्रसुती सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेका छन्।

८. आमचोक गाउँपालिका ‘क्यान्सर र मृगौलाका बिरामीलाई उपचार खर्च दिने’

भोजपुरको आमचोक गाउँपालिकाका अध्यक्ष बनेका अशोक राईले मिर्गौला फेल, विभिन्न दुर्घटनामा परि ढाड भाचिएको अङ्गभङ्ग भएको र क्यान्सर रोगीहरुलाई रु १ लाख रुपैयाँसम्म उपचार खर्च प्रदान गर्ने निर्णय गरिएको बताएका छन् । उनका अनुसार पालिकाले क्यान्सर रोग, मृगौला रोगी, मुटुको अपरेशन, मष्तिष्कघाट लागायका बिरामीहरुका लागि नागरिक उपचार कोष समेत स्थापना गर्ने निर्णय गरेको छ ।

सोही स्थापना भएको कोषबाट बिरामीहरुले उपचारका लागि १ लाख उपचार खर्च समेत पाउने छन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जयराज तामाङले २ वटा प्रस्ताव अध्यक्ष समक्ष पेश गरेका थिए । सो दुवै प्रस्तावमा हस्ताक्षर गरेर अध्यक्ष राईले निर्णय कार्यान्वयनमा ल्याएका हुन ।

. लेकवेशी नगरपालिका ‘पाँच जना विद्यार्थीलाई डाक्टर पढाउने’

सुर्खेतको लेकवेशी नगरपालिकाले पाँच जना विद्यार्थीलाई डाक्टर पढाउने भएको छ। कार्यभार सम्हाल्दै नगर प्रमुख उमेश पौडेलले पाँच वर्षमा पाँच जना डाक्टर पढाउने निर्णय गरेका हुन्।

नगरपालिकामा प्राथमिक स्वास्थ्य चौकी भएपनि विशेषज्ञ डाक्टरहरु नहुँदा स्थानीय वासिन्दाले उपचार नपाएको भन्दै पाँच वर्षको अवधिमा हरेक वर्ष एक जनालाई छात्रवृत्तिमार्फत डाक्टर पढाउने निर्णय नगरपालिकाले गरेको हो।

उनका अनुसार नगरपालिकामा प्राथमिक स्वास्थ्य चौकी भएपनि डाक्टरहरु बस्न नमान्ने भएकाले यसको दीर्घकालीन समाधानका लागि स्थानीयलाई छात्रवृत्ति दिएर डाक्टर पढाउने निर्णय गरिएको हो।

१०. सुनापति गाउँपालिका ‘सुत्केरी महिलाको भत्ता वृद्धि गर्ने’

रामेछापको सुनापति गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ठुलोकान्छा तामाङले सुत्केरी महिलाको भत्ता वृद्धि गर्ने निर्णय गरेका छन्। सोमबार पदभार गरेसँगै उनले स्वास्थ्यतर्फ पहिलो सो निर्णय गरेका हुन्।

आर्थिक अभावका कारण प्रसुतिका लागि अस्पताल जान नसक्ने अवस्था भएकोले गर्दा सुत्केरी भत्ता स्वरूप ४ हजार दिने निर्णय गरेको उनको भनाइ छ। त्यसबाहेक उनले प्रसुति गृह आफ्नै पालिकामा बनाउने योजना रहेको बताएका छन्।

११. चन्दननाथ नगरपालिका -४ ‘नि:शुल्क  स्वास्थ्य बीमा’  

जुम्लाको चन्दननाथ नगरपालिका -४मा सबै वडावासीको स्वास्थ्य बीमा गर्ने, जेष्ठ नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय भएको छ । नवनिर्वाचित प्रतिनिधिहरुले पदभार सम्हाले लगतै सो निर्णय गरेका हुन् ।

त्यसबाहेक रक्त कोषको स्थापना गर्नका लागि पहल गर्ने पनि निर्णय भएको बताइएको छ ।

१२. अन्नपूर्ण गाउँपालिका ‘नागरिकको स्वास्थ्य बिमा ५० प्रतिशत अनुदानमा गरिदिने’

कास्कीको अन्नपूर्ण गाउँपालिकाले पालिकाभरीका नागरिकको स्वास्थ्य बिमा ५० प्रतिशत अनुदानमा गरिदिने निर्णय गरेको छ ।नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको पदबहालीका क्रममा अध्यक्ष विष्णु केसीले पालिकामा रहेका ६ हजार चार सय ६ घरपरिवारलाई प्रतिपरिवार तीन हजार पाँच सयमध्ये ५० प्रतिशत पालिकाले ब्यहोरिदिने निर्णय गरेका हुन् । यो निर्णयले पालिकाको वर्षेनी एक करोड १२ लाख रुपैयाँ बिमामै खर्च हुनेछ ।

पालिकाकाे आन्तरिक आम्दानी दुई करोड पनि छैन । संघ र प्रदेश सरकारको अनुदानमा निर्भर पालिकाले यतिधेरै रकम अनुदान दिने निर्णय गरेको हो ।

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ