काठमाडौं–विश्व स्वास्थ्य संगठनको ७५ औं महासभामा भाग लिन गएको नेपालको प्रतिनिधीमण्डलको खर्च ५० लाख रुपैयाँ बढी भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको नेतृत्वमा नेपालबाट गएको ९ सदस्सीय टोलीको खर्च ५० लाख रुपैयाँ बढी भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
९ जनामध्ये मन्त्री, सचिव र महानिर्देशकको भ्रमण खर्च नेपाल सरकारले व्यवहोर्ने गरी तय गरिएको छ । जसमा मन्त्रीको विजनेस क्लास टिकट ५ लाख ४६ हजार रुपैयाँ, दैनिक भ्रमण भत्ता सरकारी नियमअनुसार प्रतिदिन ३ सय ३२ अमेरिकी डलर ९ दिनको ३ लाख ७१ हजार रुपैयाँ निकासाका लागि स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ ।
त्यसैगरी, सचिवको हवाईजहाज टिकट खर्च १ लाख ८६ हजार रुपैयाँ र भ्रमण भत्ता सरकारी नियमअनुसार प्रतिदिन २ सय ९९ अमेरिकी डलर ९ दिनको ३ लाख ३४ हजार रुपैयाँ र महानिर्देशक (विशिष्ट श्रेणी)को पनि सचिव बरावरको रकम निकासाका लागि स्वास्थ्यले अनुरोध गरेको छ ।
भ्रमण दलका अन्य ५ सदस्यको भ्रमण खर्च भने तीन वटा आईएनजिओले तिर्न सहमत भएका छन् । जसअनुसार १ जनाको निक साइमण्ड, २ जनाको ग्लोबल फण्ड अन्र्तगतको सेभ द चिल्ड्रेनबाट र २ जनाको जीआईजेटले खर्च व्यवहोर्नेछ ।
तर, कसको खर्च कुन संस्थाले व्यवहोर्ने भन्ने अझै टुंगो लागिसकेको छैन । उनीहरुको हवाई यातायात र जेनेभाको बसाइँ खर्च ती संस्थाले व्यवहोर्ने सहमति भएको छ । मन्त्रालय स्रोतका अनुसार ५ जनाको खर्च जनही ५ लाख रुपैयाँ बढी हुनेछ ।
मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा. संगीता मिश्राले जेनेभा जाने बेलामा आफू नेपाल सरकारको खर्चमा जाने भनेर बताएतापनि उनले खर्च अहिलेसम्म टुंगो लागेको छैन । ‘उहाँले नेपाल सरकारकै स्रोतबाट जाने भनेर भन्नुभएको थियो,’ स्रोतले भन्यो, ‘तर, अहिलेसम्म मन्त्री, सचिव र डिजीको मात्र फाइल मन्त्रालयबाट उठेर अर्थ पठाइएको छ ।’
विश्व स्वास्थ्य संगठनको महासभाको लागि संगठनले प्रत्येक वर्ष १ जनाको हवाई टिकट व्यवस्था गरिदिने हुँदा मिश्रा सोही टिकटमार्फत गएको हुन सक्ने मन्त्रालयका एक अधिकारीले बताए ।