काठमाडौं—नेकपा एकीकृत समाजवादीले स्वास्थ्यमन्त्रीमा भवानी खापुङको नाम सिफारिस गरेको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले स्वास्थ्यमन्त्रीमा भवानीप्रसाद खापुङलाई पठाउने निर्णय गरेको समाजवादीका उपमहासचिव डा. विजय पौडेलले बताए ।
‘पार्टीको तर्फबाट सरकारमा पठाएका मन्त्रीहरुलाई फिर्ता गरेर नयाँ टिम पठाइएको छ,’ उनले हेल्थआवाजसँग भने, ‘स्वास्थ्य राज्यमन्त्री खापुङलाई फूलमन्त्रीका रुपमा पार्टीबाट सिफारिस गरिएको छ ।’
यसअघि पार्टीको तर्फबाट सरकारमा सहभागी टिममा हेरफेर गर्दै समाजवादीले नयाँ टिम पठाएको हो । यसअघि स्वास्थ्यमन्त्रीमा विरोध खतिवडा थिए ।
स्वास्थ्य राज्यमन्त्रीमा भने हिरा केसीलाई सिफारिस गरिएको डा. पौडेलले बताए ।
सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। जसमा जीवनराम श्रेष्ठ पर्यटनमन्त्री, शेरबहादुर कुँवर श्रममन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्रीका लागि सिफारिस गरिएको छ।
यसअघिका पर्यटनमन्त्रीमा प्रेमबहादुर आले, श्रममन्त्री किसान श्रेष्ठ र सहरी विकास मन्त्री रामकुमारी झाक्रीलाई फिर्ता बोलाइएको छ।