२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसमन्वय महाशाखा प्रमुखमा आफू सहज कर्मचारी ल्याउन शक्ति केन्द्र भिड्दैं

समन्वय महाशाखा प्रमुखमा आफू सहज कर्मचारी ल्याउन शक्ति केन्द्र भिड्दैं


काठमाडौं– कुनै पनि मन्त्रालयको महाशाखाको प्रमुख तोक्ने काम सम्बन्धित मन्त्रालयका मन्त्रीको हो । सह-सचिवस्तरको कुन कर्मचारीलाई मन्त्रालयभित्र कहाँ के जिम्मेवारी दिने भन्ने कुरा मन्त्रीले मुल्यांकन गर्ने हो ।

तर, स्वास्थ्य तथा जनसख्या मन्त्रालयमा समन्वय महाशाखा प्रमुख बनाउन शक्ति केन्द्रहरु मरिहत्ते गरेर लागिरहेको पाइएको छ । शक्ति केन्द्रहरुको रोजाइमा फरक–फरक कर्मचारी परेपछि स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले एक महिनादेखि खाली रहेको सो महाशाखामा प्रमुख नियुक्त गर्न सकेका छैनन् । सो महाशाखाकी निवर्तमान प्रमुख डा. संगीता मिश्रा १२ औं तह प्रमुख विशेषज्ञमा बढुवा भएपछि खाली रहेको छ । बढुवा भएतापनि अघोषित रुपमा डा. मिश्राले नै सो महाशाखा चलाउँदैं आएकी छन् ।

मन्त्रालय स्रोतका अनुसार सो महाशाखामा आउन अहिले मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झा नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालको सिफारिस लिएर मन्त्री खापुङलाई दबाब दिइरहेका छन् । उनलाई प्रमुख बनाउन फाइल अगाडि बढिसकेको अवस्थामा राज्यमन्त्री हिराचन्द्र केसीले फिर्ता गरिदिएका छन् । ६ महिनाअघि ११ औं तहमा बढुवा भएका उनी चैतमा अनिवार्य अवकाश पाउँदैछन् । पार्टी अध्यक्षकै सिफारिस भएकाले मन्त्री खापुङले नाइ भन्न सकेका छैनन् ।

सो महाशाखामा आउन तीव्र आकाक्षा बोकेर शक्ति केन्द्र धाउनेमा मन्त्रालयमा ११ औ तहकी रिता जोशी पनि छन् । सुदूरपश्चिम गृह क्षेत्र भएकी उनी प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाको पावरमा स्वास्थ्य राज्यमन्त्रीदेखि सचिवहरुसम्मलाई दबाब दिइरहेकी छन् ।

अनिवार्य अवकास पाउन चार महिना मात्र बाँकी रहेकी उनी यसअघि एक महिनाका लागि सोही महाशाखा प्रमुख भएकी थिइन् । कार्यक्षमता कमजोर रहेको भन्दै उनलाई जिम्मेवारीबाट हटाइएको थियो । झाको साटो उनलाई सो महाशाखा प्रमुखको जिम्मेवारी दिनुपर्छ भन्नेमा राज्यमन्त्री केसी पनि सकारात्मक छन् ।

राज्यमन्त्री केसी यदि जोशीको नहुने हो भने उनका ‘अघोषित सल्लाकार’ समेत रहेका गृह जिल्ला दाङका चिकित्सक डा. सर्वेश शर्मालाई समन्वय महाशाखा प्रमुख बनाउनुपर्ने अडानमा छन् । उनी पनि केही समयअघि मात्रै ११ औं तहमा बढुवा भएका हुन् ।

मन्त्रालयको सचिव तथा प्रमुख विशेषज्ञहरुको रोजाइमा भने ६ महिना अघि ११ औं तहमा बढुवा भएकी यशोदा अर्याल छिन् । मन्त्रालय स्रोतका अनुसार अर्याललाई सो महाशाखा प्रमुख नदिने हो भने प्रवक्ताको जिम्मेवारी दिनुपर्नेमा दुवै सचिव र प्रमुख विशेषज्ञहरुले अडान राखेपछि सोही अनुसार फाइल अगाडि बढेको थियो । त्यसमा पनि राज्यमन्त्री केसीले विगतमा रहेको समन्वय महाशाखा प्रमुख नै प्रवक्ता हुने प्रचलन कायम राख्नुपर्ने भन्दै असहमति जनाउँदै फाइल फिर्ता गराएका छन् ।

किन रोजाइमा समन्वय महाशाखा ?

मन्त्रालयका ५ महाशाखामध्ये कामका हिसाबले नीति, योजना, अनुगमन तथा मुल्यांकन महाशाखापछिको आकर्षक महाशाखामा यो पर्छ । यो रोजाइमा पर्नुमा तीन प्रमुख आकर्षण रहेको मन्त्रालयका उच्च अधिकारी बताउँछन् ।

पहिलो, अधिकांश स्वास्थ्यका कार्यक्रममा विदेशी दातृ निकायको पुछ्र्रे बजेट झुण्डिएको छ । पुछ्र्रे बजेटका कारण दाताहरुले मन्त्रालयका सानादेखि ठूला सबै कार्यक्रममा प्रत्यक्ष प्रभाव पार्छन् । दाताहरुसँग नजिकिएर विदेश भ्रमणदेखि रिटायर्ड भएपछि पनि जागिरका लागि लविङ गर्न यो महाशाखामा नेतृत्व लिएपछि सहज हुने हुन्छ ।

दोस्रो, निजी तथा सामुदायिक स्वास्थ्य संस्थाले सामाग्री ल्याउँदा हुने भन्सार छुटको सिफारिसमा कलम चल्ने महाशाखा हो । यही महाशाखाले सिफारिस दिएको भरमा करोडौंका स्वास्थ्य सामाग्रीमा सरकारले भन्सार छुट दिन्छ ।

तेस्रो, आकर्षण भनेको प्रवक्ताको समेत जिम्मेवारी हो । मन्त्रालयभित्रका हरेक कुराकाको सूचनाको केन्द्रसँगै सञ्चार माध्यमसँग पनि सम्बन्ध निकट हुने हुँदा यो महाशाखामा आउन स्वास्थ्यका कर्मचारीको लविङ हुने गर्छ ।


यो पनि पढ्नुस

स्वास्थ्यमन्त्री खापुङ र राज्यमन्त्री केसीबीच ‘टसल’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ