२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकैलालीमा गर्भपतन गराउनेको संख्या बढ्यो

कैलालीमा गर्भपतन गराउनेको संख्या बढ्यो


कैलाली–नेपालमा सरकारले गर्भपतनलाई कानूनी मान्यता दिएपछि जिल्लामा गर्भपतन गराउनेको संख्या पनि बढेको छ । गर्भपतनले कानूनी मान्यता पाउनुअघि नेपालमा असुरक्षित तथा लुकिछिपी अनिच्छित गर्भपतन गराएकामध्ये धेरै जसो गर्भवती महिलाले जोखिम बेहोर्नु परिरहेको थियो ।

नेपालमा कुल मातृ मृत्युमध्ये ७ प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनको कारणले हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार १९ प्रतिशत महिलाको अनिच्छित गर्भ हुने गरेको छ।कैलालीमा सुरक्षित गर्भपतन गराउने किशोरीको संख्या अधिक देखिएको छ । गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरीको संख्या बढी छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीको तथ्यांक अनुसार हालसम्म जिल्लामा गर्भपतन गराएकामध्ये २० वर्षमुनिका किशोरीको संख्या एक हजार एक सय ८४ अर्थात ९ दशमलव ८९ प्रतिशत छ ।आर्थिक वर्ष २०७५/७६ मा गर्भपतन गराएका दुई हजार आठ सय ९२ मध्ये दुई सय ४१ जना (आठ दशमलव तीन प्रतिशत) २० वर्षमुनिका किशोरी छन् ।

त्यस्तै, आर्थिक वर्ष २०७४र७५ मा ४ हजार ४ सय ८३ ले गर्भपतन गराएकोमा ४ सय ७६ जना (१० दशमलव ६१ प्रतिशत) २० वर्षमुनिका किशोरी रहेका छन् भने आर्थिक वर्ष २०७३/७४ मा ४ हजार ५ सय ९६ जनाले गर्भपतन गराएकोमा ४ सय ६७ जना (१० दशमलव १६ प्रतिशत) २० वर्षमुनिका किशोरी छन् ।

सरकारबाट स्वीकृति लिएर सुरक्षित गर्भपतन गराउने संस्थाहरुले औषधि खुवाएर र शल्यक्रियामार्फत गर्भपतन गराउने गर्छन् । कैलालीमा औषधिभन्दा शल्यक्रियामार्फत गर्भपतन गराउनेको संख्या उच्च छ ।
आर्थिक वर्ष २०७५÷७६ मा एक हजार चार सय ८४, आर्थिक वर्ष ०७४÷७५ मा दुई हजार सात सय ४९ र आर्थिक वर्ष ०७३÷७४ मा दुई हजार नौ सय ६१ महिलाले शल्यक्रियामार्फत गर्भपतन गराएका थिए ।

त्यस्तै, औषधि खाएर भन्दा शल्यक्रियामार्फत गर्भपतन गराउने २० वर्षमुनिका किशोरीहरु बढी रहेको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७५÷७६ मा एक सय ११, आर्थिक वर्ष २०७४/७५ मा दुई सय ८८ र ०७३÷७४ मा तीन सय ४१ किशोरीले शल्यक्रियामार्फत गर्भपतन गराएको कैलाली स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ ।

२०१४ को तथ्याङ्क अनुसार नेपालमा वार्षिक एक लाख ८६ हजार एक सय ४४ जना अर्थात ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेको उल्लेख छ। नेपालमा सन् २०१५–२०१६ मा अनुमानित एक लाख ६० हजार पाँच सय ६६ प्याकेट गर्भपतनका औषधि खपत भएको देखिन्छ, जसमध्ये ७ प्रतिशत गर्भपतनका औषधि नेपालमा दर्ता नभएका औषधि हुन् ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले गर्भवती हुन नचाहने अवस्थामा अकस्मात गर्भ बसेमा महिलालाई सुरक्षित बनाउन गर्भपतन सेवा ल्याइए पनि अहिले समाजमा यो फेसन जस्तै बनेको बताए।
चिकित्सकको सुझाव बिना नै जथाभावी औषधि किनेर सेवन गर्ने प्रवृति बढेको बताउँदै उनले भने,‘स्थानीय तहबाटै असुरक्षित गर्भपतनलाई शून्यमा झार्न पहल गरिनुपर्छ ।’

सेती प्रादेशिक अस्पताल धनगढीकी स्वास्थ्यकर्मी यशोदा ढकालले जसले र जहाँ पनि अहिले गर्भपतनका औषधि बिक्री गरिरहेको बताइन् । चिकित्सकको सल्लाहबिना यसरी औषधी सेवन गर्दा महिलाको स्वास्थ्य जोखिममा पर्ने गरेको उनको भनाइ छ ।
धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा संयोजक खगेन्द्र बमले किशोर किशोरीमा गर्भपतनको असर, सुरक्षित हुने तरिका लगायतका बारेमा जनचेतना फैलाउन आवश्यक रहेको बताए। विद्यालय तहमै यसबारे शिक्षा फैलाउनु पर्ने उनी सुझाउँछन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ