२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशओदा फाउन्डेसन : जसले दुर्गम क्षेत्रमा स्वास्थ्य, शिक्षा र कृषि सेवा गर्छ

ओदा फाउन्डेसन : जसले दुर्गम क्षेत्रमा स्वास्थ्य, शिक्षा र कृषि सेवा गर्छ


सुर्खेत – कालीकोटको महावै गाउँपालिका–२ ओदामा रहेको ओदा फाउण्डेसनले कर्णाली दुर्गम तथा पिछडिएको क्षेत्रमा काम गर्ने गरेको छ । दश वर्ष अघि स्थापना भएको हिमालयन सेवा समाज अहिले ‘ओदा फाउन्डेसन’का रूपमा विपन्न, दलित, पिछडिएको क्षेत्रमा स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा काम गरिरहेको हो ।

दुर्गम क्षेत्रमा स्थापना भएको ओदा फाउण्डेसनले महावै गाउँपालिकासँग मिलेर १५ शय्याको अस्पताल सञ्चालन गर्नुका साथै स्थानीय तिल नमुना आधारभूत विद्यालयसँग सहकार्य गरेर शिक्षा र स्थानीय महिलाहरूसँग सहकार्यमा कृषि क्षेत्रमा काम गरिरहेको छ । सुकुम्बासी रहेका स्थानीय २१ जनालाई जग्गा खरिद गरेर घर बास दिनुका साथै विद्यार्थीलाई छात्रवृत्ति समेत दिने गरेको छ । कालिकोट जिल्लामा करिब एक लाखको स्वास्थ्य उपचार सेवा दिएको ओदा फाउण्डेसन अहिले पनि निरन्तर समाजसेवामा रहेको छ ।

कसरी जन्मियो ओदा फाउण्डेसन ?
आजभन्दा १० वर्ष अगाडी कर्णाली वा कालिकोटमा सडक सञ्जाल राम्रोसँग छोएको थिएन । अहिले पनि महावै गाउँपालिकाको ओदा गाउँमा सडकले सञ्जालले छोएको छैन । त्यही गाउँमा स्वास्थ्य सेवा दिने हिसाबले स्थानीय कर्णबहादुर सिंह, अमेरिकी नागरिक जोन त्रिस्टोफर, मिनबहादुर कार्की, टुल्की सिंह र सरिता शाही मिलेर गाउँमा नै स्वास्थ्य क्लिनिक खोल्ने सल्लाह गरे । गाउँमा स्वास्थ्य सेवाको पहुँच नभएको गाउँमा स्वास्थ्य संस्था खोलेर उनीहरूले स्वास्थ्य सेवा दिन थाले । गाउँमा अहिले राम्रोसँग स्वास्थ्य सेवाको पहुँच नभएको अवस्थामा त्यो बेला गाउँमा नै निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले क्लिनिकको स्थापना गरिएको ओदा फाउन्डेसनका अध्यक्ष मिनबहादुर कार्कीले बताए । ‘म सिएम पास गरेर गाउँमा नै बसिरहेको थिए ।

उहाँहरू आएर मलाई स्वास्थ्य क्लिनिकमा काम गर्नु पर्‍यो भनेर भन्नुभयो ।’ उनले भने,‘मसँग पैसा थिएन । जोन र संस्थाका संस्थापक अध्यक्ष रहनु भएका सिंहसँग पैसा थियो । अनि गाउँमा नै क्लिनिक गरेर सेवा दिन थाल्यो ।’ गाउँमा स्वास्थ्य सेवा दिँदै जाँदा जोन क्रिस्टोफरले आफ्नो देश अमेरिकामा आफ्ना केही साथीहरूको सहयोगमा केही रकम जम्मा गरेर स्वास्थ्य तथा शिक्षा क्षेत्रमा काम गर्न थालिएको ओदा फाउण्डेसनका संस्थापक अध्यक्ष कर्णबहादुर सिंहले बताए ।

एउटा युवाको समाज सेवाको हुटहुटीले जन्मिएको संस्था
समाजसेवा गर्ने मानिसको भाव यस्तो हुदोँ रहेछ । न त्यसलाई उमेरले छेक्दो रहेछ । न त्यसलाई कुनै अन्य कुराले व्यवधान ल्याउँदो रहेछ । यस्तै कालिकोट जिल्ला महावै गाउँपालिका–२ (साबिकको ओदानकु गाविस) का ३६ वर्षिय युवा कर्णबहादुर सिंह हुन् । सिंह सानै छँदा उनका बाबु रेवत सिंहको निमोनिया कारणले निधन भयो । बाबुको निमोनिया औषधी नपाएर निधन भएपछि समाज सेवामा लाग्ने उनको सोच त्यहीबाट उदायो ।

सानै उमेर टुहुरा बनेर भारतमा मजदुरी गर्न हिँडेका  सिंहले अहिले कालिकोट जिल्लामा स्वास्थ्य क्षेत्रमा सेतुमा रूपमा काम गरिरहेका छन् । औषधी उपचार नपाएर ८ वर्षको उमेरमा बाबुको निधन भएपछि १२ वर्षको उमेरमा भारतमा मजदुरी गर्न हिँडेका सिंह त्यहीबाट विपन्न र गरिब परिवारलाई कसरी स्वास्थ्य क्षेत्रमा पहुँच पुर्‍याउने सोचेका थिए ।

सानै उमेरमा बाबुले औषधी नपाएर ज्यान गुमाएको पीडितले सताएका सिंहले गरिब विपन्न परिवारको स्वास्थ्य क्षेत्र पहुँच पुर्‍याउन उनले कालिकोट जिल्लाका विपन्न दलित गरिब र अपाङ्गलाई निःशुल्क औषधी उपचार सेवा दिने लक्ष्य राखे ।

सानै उमेरमा नै भारतको ऋषिकेश मजदुरी गर्न हिँडेका थिए ।  निमोनियाको रोगको उपचार गर्न नपाएर मृत्यु भएका बुबाको अवस्था देखेर सिंह सानै उमेरमा समाजसेवा गर्ने भावना जाग्यो र समाजसेवा गर्ने त्यति बेला कै इच्छा भएको बताउँछन् । ‘सानै उमेर बुबा बित्नुभयो, साधारण बिराम थियो । उपचार भएन ।’ सिंहले भने,–‘त्यस दिनदेखि गाउँमा रहेका साधारण मानिसको उपचार गर्ने इच्छा जाग्यो ।’

गाउँकै विद्यालयमा ४ कक्षा पढ्दा पढ्दै स्कुल छाडेर मजदुरी गर्न भारत पुगेका सिंहले त्यहाँ पर्यटकहरू बस्ने एउटा रिसोटमा काम गरेको र त्यहीबाट अमेरिकन पर्यटकहरूसँग सङ्गत भएको सिंहले बताए । ‘म सानै उमेरमा नै भारतमा काम गर्न हिँडेँ ।’ उनले भने,–‘त्यही रहँदा अमेरिकन पर्यटकहरूसँग राम्रो चिनचान भयो ।’

स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक काम गर्ने सोच भएका सिंहले अमेरिकन पर्यटकहरूसँगको सङ्गतले आफूलाई समाज सेवाका लागि थप हौसला र आर्थिक सहयोग पुगेको सिंहले बताए । ‘पर्यटकसँगको सङ्गतले मलाई अमेरिकासम्म पुर्‍यायो ।’ उनले भने,–‘आफू अमेरिका पुगे पनि त्यहाँ बस्न मन लागेन् । गाउँको स्वास्थ्य, शिक्षा उपचार नपाएर बाबुको मृत्यु भएको यादले सताइ रह्यो ।’

अमेरिकाको राम्रो जागिर बसाई छाडेर नेपाल आएका सिंहले दुर्गममा स्वास्थ्य र शिक्षाको पहुँच पुर्‍याउने  उद्देश्यले सामाजिक संस्था बि.स. २०७० सालमा ‘हिमालयन सेवा समाज’को स्थापना गरेर सामाजिक काम गरिरहेका छन् ।

१५ शय्याको अस्पताल सञ्चालन
ओदा फाउण्डेसनले अहिले महावै गाउँपालिकासँग मिलेर १५ शय्याको महावै सामुदायिक अस्पताल सञ्चालनमा ल्याएको छ । एक जना विशेषज्ञ डाक्टरसहित आधुनिक बर्थिङ सेन्टर, ओपिडी र इमरजेन्सी सेवा २४ घण्टा दिँदै आएको छ ।

कर्णाली प्रदेश सरकारको २५ लाख, ओदा फाउन्डेसनको २५ रुपैयाँको साझेदारीमा ल्याब सेवा, २४ घण्टा पोटेबल भिडियो एक्स–रे सेवा दिँदै आएको छ । महावै सामुदायिक अस्पतालमा चिकित्सकसहित ६ जना कर्मचारीलाई गाउँपालिका अन्य २९ जना कर्मचारीलाई ओदा फाउन्डेसनले रोजगारीको अवसर पाएको संस्थाका संस्थापक अध्यक्ष सिंहले जानकारी दिए ।

महावै गाउँपालिकाका मात्रै नभएर जिल्लाभरका १६ वटा स्वास्थ्य संस्थामा १६ सोलार सुटकेस, जिल्लाभर ४ वटा स्वास्थ्य शिविर, संस्था हाल जिल्लाका एक लाख नागरिकको निःशुल्क औषधी उपचार गरेको भने अपाङ्गता भएका १ सय ६१ जनाको औषधी निःशुल्क कृत्रिम अङ्गहरू दिए सिंहले जानकारी दिए ।

नमुना विद्यालय सञ्चालन
ओदा फाउण्डेसनले महावै गाउँपालिकासँग सहकार्य गरेर नमुना विद्यालयमा सञ्चालनमा ल्याएको छ । महावै गाउँपालिका–२ ओदा गाउँमा रहेको तिल नमुना माध्यमिक विद्यालयसँग सहकार्य गरेर नमुना विद्यालय सञ्चालनमा ल्याएको हो ।

ओदा फाउण्डेसनसँग सहकार्य नहुनुभन्दा अघि आधारभूत विद्यालयका रूपमा रहेको तिल नमुना माध्यमिक विद्यालयमा ९० जना विद्यार्थीले अध्ययन गर्ने गरेको र अहिले तिल नमुना माध्यमिक विद्यालयमा ५१२ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।  विद्यालयमा घर कक्षा, अङ्ग्रेजी माध्यमबाट अध्ययन गर्ने गरेको ओदा फाउन्डेसनका अध्यक्ष कार्कीले जानकारी दिए । त्यस्तै, विद्यालयमा ओदा फाउण्डेसन एक जना विद्यालय व्यवस्थापकसँगै एक जना कार्यालय सहयोगी र ६ जना शिक्षक कर्मचारीको व्यवस्था गरेको छ ।

फाउण्डेसनले नरहरिनाथ गाउँपालिकाका २, महावै गाउँपालिका ४, शुभकालिका गाउँपालिका २ र सान्नी त्रिवेणी गाउँपालिकाका २ विद्यालयलाई प्रविधिमैत्री कक्षा सञ्चालनका लागि प्रविधिको हस्तान्तरण समेत गरेको अध्यक्ष कार्कीले बताए ।

जिल्लाका गरिब, विपन्न तथा अनाथ बालबालिकालाई निःशुल्क शिक्षा दिने र पाँच जनालाई छात्रवृत्ति छात्रवृत्तिमा उच्च शिक्षा पढ्नका लागि बाहिर पठाइएको अध्यक्ष कार्कीले जानकारी दिए ।

अर्ग्यानिक कृषि उपजका बस्तु उत्पादनमा जोड
ओदा फाउण्डेसनले अहिले अर्ग्यानिक कृषि बस्तुका जोड दिनमा लागि कर्णाली रत्न सहकारी दर्ता गरेर कृषि उपजका बस्तु उत्पादन गर्दै आएको छ । ओदा फाउन्डेसनमा कार्यरत राजकुमारी दुराको नेतृत्वमा स्थानीय ८० जना महिला सङ्गठित गरेर कृषि उपजका बस्तु उत्पादन र त्यसको बजारीकरण गरिरहेको छ ।

प्रत्येक महिनामा सहकारीको बैठक बस्ने आफैँ ऋण तथा बचत उठाउने, कृषि उपजका बस्तु उत्पादन गरेर त्यसको बजारीकरण गर्दै आएको सहकारी अध्यक्ष सुमित्रा शाही सिंहले जानकारी दिइन् । ‘हामी यहाँ उत्पादन हुने अर्ग्यानिक बस्तु आलु, सिस्नु कुखुरा पालन, बाख्रा पालन अन्य पशुपालनमा जोड दिँदै आएका छौँ ।’ उनले भनिन्,‘यो गैर नाफामूलक संस्था भएका कारणले यहाँको अर्ग्यानिक बस्तु उत्पादन गरेर बाहिरी जिल्लामा निकासी गर्ने गरेका छौँ ।’ विपन्न तथा गरिब परिवारलाई ओदा फाउण्डेसनबाट सहयोग गर्ने गरेको अध्यक्ष सिंहले जानकारी दिइन् ।

कसरी जुटाउँछन् आर्थिक खर्च ?
अमेरिकी नागरिक जोन किस्टोफरले अमेरिकी नागरिकबाट केही रकम सङ्कलन गरेर ओदा फाउण्डेसनलाई प्रत्येक वर्ष हस्तान्तरण गर्छन् । त्यहीँ पैसा यहाँका स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारसँग साझेदारी गरेर समुदायका लागि काम गर्ने गरेको फाउण्डेसनका संस्थापक अध्यक्ष सिंहले जानकारी दिए । ‘हामीलाई वार्षिक नेपाली रु. एक करोड ५० लाख आउने गरेको छ । त्यही पैसाले हामीले नेपाल सरकारका निकायसँग साझेदारी गरेर काम गर्ने गरेका छौँ ।’ उनले भने,‘त्यो पैसा स्थानीय समुदायको माग अनुसार कार्यक्रम सञ्चालन गर्छौ ।’


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ