२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकान्तिमा एक वर्षमा १ लाख १६ हजार बढी बिरामीले लिए ओपीडी सेवा

कान्तिमा एक वर्षमा १ लाख १६ हजार बढी बिरामीले लिए ओपीडी सेवा

राष्ट्रिय बाल स्वास्थ्य अध्ययन संस्थान बनाउने गुरुयोजना


काठमाडौं—कान्ति बाल अस्पतालमा एक वर्षमा १ लाख १६ हजार ४ सय ५१ जना बिरामीले ओपीडी सेवा लिएका छन् । शुक्रबार अस्पतालको ६१ औं वार्षिकोत्सवका अवसरमा आर्थिक वर्ष ०७८/७९ मा १ लाख १६ हजार ४ सय ५१ जना बिरामीले ओपीडी सेवा लिएको जानकारी दिइएको हो ।

यसैगरी, आर्थिक वर्ष ०७८/७९ मा अस्पतालले ४४ हजार ८ सय ९२ जनालाई इर्मेजेन्सी सेवा प्रदान गरेको छ । अस्पतालले २ हजार ५ सय ८७ जनालाई बिमा वापत स्वास्थ्य सेवा प्रदान जनाएको छ भने विपन्नबाट ४ सय ३३ जनालाई सेवा प्रदान उल्लेख गरेको छ । त्यस्तै, ओसीएमसीबाट ३० जनालाई सेवा प्रदान गरेको थियो भने सामाजिक सेवा इकाईबाट ९ सय ५८ जनाले सेवा लिएका छन् ।

अस्पतालका निर्देशक डा. युवानिधी बसौलाले अहिले कान्तिमा नेपाल सरकारतर्फ २ सय ६४ जना र अस्पताल विकास समितितर्फ २ सय ९६ जनाको दरबन्दी गरी ५ सय ६० जना कर्मचारी रहेको जानकारी दिए । ‘एक हजार बेडको सुविधा सम्पन्न केन्द्रीय बाल अस्पताललाई राष्ट्रिय बाल स्वास्थ्य अध्ययन संस्थान बनाउने गुरुयोजना रहेको छ,’ उनले भने, ‘सय रोपनी जग्गामा ०७९ साल कार्तिक १५ बाट सहरी विकास तथा भवन निर्माण विभागबाट डिपिआरको कार्य प्रारम्भ भई काम अगाडि बढिसकेको छ ।’

अस्पताल प्राणंगणमा आयोजित वार्षिकोत्सव समारोह स्वास्थ्य सचिवद्वय देवकुमारी गुरागाई र डा. रोशन पोखरेलको अभिभावकत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा. डी.एन. शाह, विशिष्ट अतिथिहरूमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह रहेका थिए ।

विशेष अतिथीका रुपमा जेआईसीए नेपालका मुख्य प्रतिनिधी अकिमित्सु ओकुबो रहेका थिए । वार्षिकोत्सव समारोहमा मन्त्रालयका कर्मचारी, अस्पतालका कर्मचारी, चिकित्सक, पत्रकार, समाजसेवीलगायतका उपस्थिती रहेको थियो ।

वि.सं. २०१९ पुस २२ बाट कान्ति बाल अस्पतालले ५० शैययाबाट सेवा प्रारम्भ गरेको थियो । अहिलेसम्म आइपुग्दा कान्ति बाल अस्पताल देशकै सबैभन्दा ठूलो र एक मात्र केन्द्रीय बाल अस्पताल हो । अहिले कान्ति बाल अस्पतालको क्षमता ३ सय ३० शैय्या रहेको छ । अस्पतालले सामान्यदेखि विशिष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । अस्पतालले २०७८ सालमा नर्सिङ अध्यापन पनि सुरु गरेको छ । ‘सम्पूर्ण नेपाली बालबालिकाका लागि सर्वसुलभ पहुँच तथा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले आगामी वर्षमा नयाँ योजनासहित थप सेवा विस्तार गर्ने योजना छ,’ अस्पतालका निर्देशक डा. बसौलाले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ