२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशपातारासीको छात्रवृत्तिमा एमबिबिएस चिकित्सक पढाउने निर्देशिका पारित

पातारासीको छात्रवृत्तिमा एमबिबिएस चिकित्सक पढाउने निर्देशिका पारित


जुम्ला–जुम्लाको पातारासी गाउँपालिकाले १० औँ हिउँदे गाउँ सभाबाट एमबिबिएस डाक्टर पढ्ने विद्यार्थीलाई छात्रवृत्ति निर्देशिका २०७९ बहुमतले पारित गरेको छ ।

पालिका भित्रका विद्यार्थीलाई उच्चशिक्षा अध्ययन गर्नका लागि हिउँदे गाउँ सभाबाट छात्रवृत्ति निर्देशिका पारित गरेको हो ।

पालिकाको लगानीमा एक जनालाई एमबिबिएस डाक्टर पढाउन ३५ लाख लगानी गर्ने भएको छ । पाँच वर्षसम्म ७ लाखका दरले पालिकाले डाक्टर पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने निर्देशिका पारित गरेको हो ।

पातारासी गाउँपालिकाको उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृत्तिमा अहिले सो गाउँपालिका–४ लुम गाउँका २३ वर्षीय नविन रेउले देव दह मेडिकल कलेज बुटवलमा चिकित्सा शिक्षा अध्ययनरत छन् ।

जिल्लाका आठ वटै स्थानीय तहमध्ये सो गाउँपालिकाले यहाँका विद्यार्थीलाई चिकित्सक बनाउन लगानी गरेको हो ।

यो कार्यक्रममा ऐन, नियमावली र निर्देशिका सबै गाउँ सभाबाट पारित भएर पूर्ण रूपमा कार्यान्वयनमा आएको स्वास्थ्य शाखा प्रमुख रतन बुढा थापाले बताए ।

अघिल्लो जनप्रतिनिधिले ल्याएको एमबिबिएस डाक्टर पढ्ने कार्यक्रमलाई निरन्तरता दिएको र प्राविधिक शिक्षामा पनि पालिकाले छात्रवृत्ति प्रदान गरिने गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए ।

हिउँदे गाउँ सभाबाट पालिकाका सबै वडामा बालविवाह न्यूनीकरणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नारा लाई मध्यनजर गर्दे बालविवाह रोकथामका विभिन्न सचेतना कार्यक्रम चलाइने र पालिकाको वडा नं. ४ र ५ लाई बालमैत्री वडा घोषणा गर्ने निर्णय गाउँ सभाबाट पारित भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धिताले बताए ।

पालिका भित्रका सबै स्थानीय वासीको निःशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रम लागू भई कार्यान्वयनमा आएको छ । प्रमुख प्रशासकीय अधिकृत धितालले भने खानेपानी सरसफाइ स्वच्छता, तथा अनुगमन निर्देशिका ऐन हिउँदे गाउँ सभाबाट पारित भई अब कार्यान्वयनमा आउने छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ