२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजापानद्वारा कीर्तिपुर आँखा अस्पताललाई १ करोड ८५ लाख बराबर सहयोग

जापानद्वारा कीर्तिपुर आँखा अस्पताललाई १ करोड ८५ लाख बराबर सहयोग


काठमाडौं—जापानी नागरिकहरुकातर्फबाट नेपाल नेत्रज्योति संघ कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रलाई प्रदान गरिएको आँखा स्वास्थ्य सम्बन्धी उपकरणहरु हस्तानान्तरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार नेपालका लागि जापानी राजदूत किकुता युताकाले किर्तिपुर आँखा अस्पतालमा आयोजित एक कार्यक्रमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

रेटिना रोगको उपचारसँग सम्बन्धित करिब १ करोड ८५ लाख नेपाली रुपैयाँ बराबरका स्वास्थ्य सामाग्रीहरु जापान सरकारको ग्रान्ट एसिस्टेन्ट फर ग्रासरुट प्रोजेक्ट—जीजीपी कार्यक्रअन्तर्गत प्रदान गरिएको हो ।

नेपाल नेत्रज्योति संघद्धारा वि.सं. २०७२ सालमा आँखा उपचार केन्द्रका रुपमा स्थापना भएको कीर्तिपुर आँखा अस्पताललाई वि.सं. २०७४ सालमा आँखा अस्पतालका रुपमा स्तरोन्नति गरिएको थियो । अस्पतालले आम नागरिकहरुलाई सर्वसुलभ मूल्यमा गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

अस्पतालको सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक स्वास्थ्य उपकरणहरु प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा वि.सं. स २०७७ मा नेपालस्थित जापानी राजदूतावास र नेपाल नेत्रज्योति संघबीचमा हस्ताक्षर भएको थियो ।

सन् २०२२ मा अस्पतालले २३ हजार ५४० जनालाई आँखा उपचार सेवा प्रवाह गरेको थियो भने हालसम्म अस्पतालबाट करिब ७ हजारभन्दा बढी व्यक्तिको आँखाको शल्यक्रिया भइसकेको छ जसमध्येमा करिब ३ हजार जनाको शल्यक्रिया निःशुल्क भएको थियो ।

अस्पतालले हाल काठमाडौं र ललितपुरमा गरी जम्मा ४ वटा आँखा उपचार केन्द्रसमेत सञ्चालन गरिरहेको छ । काठमाडौंको शंखरापुर नगरपालिकामा साँखु आँखा उपचार केन्द्र, दक्षिणकाली नगरपालिकामा दक्षिणकाली आँखा उपचार केन्द्र र चन्द्रागिरी नगरपालिकामा चन्द्रागिरी आँखा उपचार केन्द्र रहेका छन् भने ललितपुरको महालक्ष्मी नगरपालिकामा लुभु आँखा उपचार केन्द्र सञ्चालनमा छ ।

हाल नेत्रज्योति संघले २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरुमार्फत नागरिकहरुलाई सर्भसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ