२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा एक जना नर्सले ४० जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता

कोशी अस्पतालमा एक जना नर्सले ४० जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता

अस्पतालमा दरबन्दीअनुसार नर्स छैनन्, ३०० नर्स तत्काल आवश्यक


विराटनगर—विराटनगरस्थित कोशी अस्पतालको हाडजोर्नी विभागमा कार्यरत नर्स गोमा श्रेष्ठले दैनिक १६ देखि २० जनासम्म बिरामीको रेखदेखमा खटिएपछि मात्र उनको डियुटी अवधि सकिन्छ । कामको बोझ धेरै भएकै कारण उनलाई दिनको ६ घण्टा दायाँ—बायाँ गर्नेसम्म फुर्सद हुँदैन् ।

दैनिक ६ घण्टा ड्युटी गर्ने गोमाले काम गर्ने वार्ड कोशीको अर्थो विभागमा जम्मा ३२ शैय्या छ । एउटा सिफ्टमा दुई जना नर्स ड्युटीमा खटिन्छन् । ‘कोशीको अर्थोपेडिक वार्ड दैनिकजसो बिरामीले भरिभराउ हुने गरेको छ,’ श्रेष्ठले भनिन्, ‘एउटा सिफ्टमा दुई जना नर्सले भर्ना भएका सबै जना बिरामी हेर्नुपर्ने बाध्यता छ । यसले कसरी राम्रो सेवा दिन सकिएला भनेर चिन्ता लाग्छ ।’

कोशी अस्पतालकोे स्त्री तथा प्रसुती विभागमा पनि उस्तै समस्या छ । ७० शैय्या विभागमा शल्यक्रिया गरेपछि राखिने बिरामीको लागि १० शैय्याको पोस्टअप वार्ड छ । पोस्टअप वार्डमा कार्यरत एक जना नर्सले १० जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता रहेको पोस्टअप वार्डमा कार्यरत नर्स ममता श्रेष्ठले बताइन् ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक पोस्टअप बराबर एक नर्स हुनुपर्छ । मापदण्डअनुसार स्त्री तथा प्रसुति विभागको पोस्टअपमा १० जना नर्सको आवश्यकता पर्छ । तर, अस्पतालले उक्त मापदण्ड पूरा गर्न सकेको छैन । अस्पतालले मापदण्ड पूरा गर्न नसक्नुको कारण आवश्यकताअनुसार नर्सको संख्या नहुनु हो ।

आईसीयुसहित अन्य १४ वटा विभागको अवस्थामा पनि उस्तै छ । कोशी अस्पतालमा ३५० शैय्याको हस्पिटल हो । यहाँ दैनिक १ हजारदेखि १ हजार ५ सयसम्म बिरामी ओपीडिमा आउने गरेको अस्पतालको अभिलेखमा देखिन्छ । जसले गर्दा हस्पिटलको सबै बेड भरिभराउ हुने गरेको छ । जनरल वार्डमा एक जना नर्सले ४० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ ।

पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल भएकोले कोशीमा प्रदेश १ बाहेक मधेश प्रदेश र भारतसम्मका बिरामी आउँछन् । गुणस्तरीय उपकरण र सस्तो शुल्कमा दक्ष जनशक्तिबाट उपचार हुने भएकाले यो अस्पताल नागरिकको पहिलो रोजाइमा पर्छ । तर, नागरिकले अपेक्षित स्वास्थ्य सेवा प्राप्त गर्न भने कठिन बन्दै गएको छ । त्यसको एउटा कारण हो– आवश्यकताअनुसार नर्सहरू नहुनु । अस्पतालले मापदण्डअनुसारको सेवा दिन नसक्नुको प्रमुख कारणमध्ये एक आवश्यकताअनुसार नर्सको संख्या नहुनु हो ।

‘कोशी अस्पतालमा हामी चिकित्सक त चाहिए जति नै छौं’, कोशी अस्पतालकी स्त्री तथा प्रसूति विभाग प्रमुख डा. अन्जु देव भन्छिन्, ‘तर, चिकित्सक मात्रै भएर स्वास्थ्य सेवा पूर्ण हुँदैन् । चिकित्सकसहित नर्सहरूको भूमिका महत्वपूर्ण हुन्छ । हाम्रो अस्पताल नर्सको चरम अभाव छ । यसले हाम्रो सेवा थप गुणस्तरीय हुन चुनौती थपिरहेको छ ।’

अस्पतालका फिजिसियन डा. रोशन खड्का बिरामीको उपचारमा सबैभन्दा ठूलो महत्व नै नर्सको हुने बताउँछन् । ‘चिकित्सकले उपचार गरिदिएपछि बिरामीलाई निको पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने नै सिस्टरहरू हो’, उनी भन्छन्, ‘तर, कोशीमा नर्सकै ठूलो अभाव छ । एकै जनाले दर्जनौं बिरामी हेर्नुपर्ने बाध्यता देख्दा हामीलाई ज्यादै नरमाइलो हुन्छ । त्योभन्दा बढी हाम्रा बिरामीले पाउने सेवा प्रभावित भएकोमा बढी चिन्ता लाग्छ ।’

अस्पतालका मेसु डा. लक्ष्मीनारायण यादवले अस्पतालमा नर्सको जनशक्ति पर्याप्त मात्रामा नभएका कारण विश्व स्वास्थ्य संगठनको मापदण्ड पालना हुन नसकेको बताए । ‘विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आईसीयूमा एउटा बिरामीलाई एक जना नर्सले हेर्नुपर्ने हुन्छ । नर्सिङ जनशक्ति कम हुँदा त्यो मापदण्डलाई पालना गर्न सकेका छैनौं,’ मेसु डा. यादवले भने ।

अस्पतालका अनुसार विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गर्ने हो भने अस्पतालले तत्काल ३५० जना नर्स नियुक्त गर्नुपर्ने हुन्छ । तर, त्यसमा अस्पताल र सरकार दुवै मौनजस्तै देखिन्छन् ।

कोशी अस्पतालकी नर्सिङ प्रमुख मन्जु यादवले उत्पादित जनशक्ति खपत गर्न नसक्दा सरकारी अस्पतालहरूमा नर्सको अभाव भएको बताउँछिन् । उत्पादित जनशक्तिको खपतको समस्याका कारण अस्पतालमा बिरामी र नर्सको अनुपात पनि मिलेको छैन । ‘सरकारले अस्पतालमा बिरामी र नर्सको अनुपात मिलाउन सक्यो भने बिरामीले गुणस्तरीय सेवा पाउने थिए । वर्षौंदेखिकोे दरबन्दीअनुसार कोशीमा प्रयाप्त मात्रमा नर्सको पदपूर्ति भएको छैन्,’ उनी भन्छिन्, ‘हाम्रो अस्पतालमा तत्काल ३५० भन्दा बढी नर्सको आवश्यकता छ । अहिलेको अवस्थामा हामीसँग जति नर्स छन् । त्यतिले नै काम चलाउनुुपर्ने बाध्यता छ । हामीसँग नर्स छैनन्, हामी उपचार गर्न सक्दैनौं भनेर हामीले भन्न मिल्दैन ।’

कोशीमा १९९ जना नर्सको दरबन्दी रहेको छ । अस्पतालमा अहिले २ सय ५० देखि ३०० जना नर्सको आवश्यकता रहेको यादवको भनाइ छ । उनले भनिन्, ‘अस्पतालमा ३ सय जना नर्स भए भने मात्र हामीले गुणस्तरीय सेवा दिन सक्छौं ।’ नर्सले सेवा सुविधा नथपिँदा सेवा राम्रोसँग दिन नसक्ने अवस्था भएको उनले बताइन् । नर्सलाई दिने भत्तामा पनि राज्यबाट विभेद् गरेको उनको गुनासो छ । ‘ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीलाई तलबको २५ प्रतिशत भत्ता दिने गरिन्छ,’ उनले भनिन्, ‘यहाँ कार्यरत नर्सलाई तलबबाहेक केही पाउँदैनन् । यसमा पनि विभेद गरिएको छ ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ