२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशआफै औषधी उत्पादन गर्छ आयुर्वेद औषधालयले

आफै औषधी उत्पादन गर्छ आयुर्वेद औषधालयले


सुर्खेत – कर्णाली प्रदेश आयुर्वेद औषधालय वीरेन्द्रनगर सुर्खेतले अस्पतालमा नै आयुर्वेदिक औषधी उत्पादन गर्ने गरेको छ । आयुर्वेद औषधालयले १० प्रकारका आयुर्वेदिक औषधी उत्पादन गर्दै आएको हो ।

कर्णाली प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले औषधालयमा नै अश्वगन्धा, सितो पलादी, आमलकी, अविपतिकर, अमृत चिया, पिडाहर तेललगायत औषधि उत्पादन गरिरहेको जनाएको छ ।

अस्पतालले ग्यास्ट्रिक, पेटको रोग, बाथलगायतका बिरामीको उपचारका लागि २०७७ सालबाटै ती औषधि उत्पादन गरिरहेको अस्पतालका प्रमुख डा. शंकरप्रसाद रिजालले बताए । ‘हामीले यहीको जडीबुटी किनेर औषधी उत्पादन गर्ने गरेका छौँ ।’ उनले भने,‘यहाँ नभएको जडीबुटी काठमाडौं र अन्य ठाउँबाट ल्याउने गरेका छौँ ।’

कोभिड–१९ को महामारीका बेला आयुर्वेद औषधीको माग उच्च रहेको प्रमुख डा.रिजालले जानकारी दिए । ‘कोभिड–१९ सङ्क्रमितलाई मात्र विशेष औषधि उपलब्ध गराइएको थियो । औषधालयले धेरै जना बिरामीको आयुर्वेद औषधीको प्रयोग गरिएको थियो ।’ उनले भने, ‘त्यो बेला निकै प्रभावकारी आयुर्वेद औषधीलाई मानिएको थियो ।’

कर्णाली प्रदेश जडीबुटीको हब भएका कारणले यहाँको जडीबुटी प्रयोग गरे विभिन्न औषधी उत्पादन गर्न सकिने भए पनि कार्यालयसँग पर्याप्त जनशक्ति र बजेट नहुँदा समस्या रहेको औषधालयका प्रमुख डा. रिजालले जानकारी दिए ।

‘हामी यही विभिन्न रोग प्रतिरोधी औषधी बनाउन सक्थ्यौँ’, उनले भने,‘जनशक्ति र बजेटका अभावका कारणले सोचे जति आयुर्वेद औषधी उत्पादन गर्न सकिएको छैन ।’

औषधालयले उत्पादन गरेको औषधी बजारीकरण भन्दा पनि बढी जिल्ला जिल्लामा दिने गरिएको अहिले बजारमा औषधी बिक्रि गर्ने काम नगरिएको डा. रिजालले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ