२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअस्पताल पुगेका बिरामीलाई मध्यमार्गी बाटोबाट सेवा दिदैं सरकारी अस्पतालहरू

अस्पताल पुगेका बिरामीलाई मध्यमार्गी बाटोबाट सेवा दिदैं सरकारी अस्पतालहरू


काठमाडौं—नेपाल चिकित्सक संघले आकस्मिक रुपमा ओपीडी सेवाहरु बन्दको आव्हान गरेपछि सरकारी अस्पतालहरुले भने मध्यमार्गी बाटोबाट सेवा प्रवाह गरेका छन् । आइतबार संघ देशभरका अस्पतालहरुमा इमर्जेन्सीबाहेकका सेवा ठप्प पार्ने हठात निर्णय गरेपछि प्रमुख सरकारी अस्पतालहरुले सेवा प्रवाहका लागि मध्यमार्गी बाटो रोजेका हुन् ।

बिरामीहरु स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस भनेर सरकारी अस्पतालहरुले इमर्जेन्सीको टिकट काटेर अस्पताल पुगेका बिरामीहरुलाई ओपीडी सेवा प्रवाह गर्न थालेका छन् । गंगालाल हृदय रोग केन्द्रले भने ओपीडीबाटैं सेवा प्रदान गरिरहेको छ ।

त्रिवि शिक्षण अस्पतालले ओपीडीमा आउने नयाँ बिरामीलाई इमर्जेन्सी टिकट दिएर सेवा दिइरहेको छ भने फ्लोअपमा आउने बिरामीहरुलाई नियमित रुपमा सेवा दिइरहेको अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले जानकारी दिए । उनकाअनुसार तालिकाअनुसार गरिने नियमित शल्यक्रिया, ल्याब परीक्षण र अन्य जाँच सेवाहरु नियमित रुपमा चलिरहेका छन् ।

कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधी बसौलाकाअनुसार अस्पतालले आएका उपचारका लागि आएका बिरामीलाई नफर्काउने गरी सेवा प्रदान गरिरहेको छ । ‘हामीले आएका बिरामीलाई फर्काएका छैनौं । ओपीडी सेवा बन्द छ तर इमर्जेन्सीको टिकट लिएर बिरामीहरुलाई सेवा प्रदान गरिरहेका छौं,’ उनले भने ।

परोपकार प्रसुति गृहले पनि नियमित रुपमा सेवा प्रदान गरिरहेको छ । अस्पतालका निर्देशक डा. पवनजंग रायमाझीकाअनुसार अन्य दिनभन्दा बिरामी केही कम आएतापनि ओपीडी कक्षबाटै बिरामीलाई सेवा प्रवाह भइरहेको छ । ‘हाम्रो फरक प्रकृतिको अस्पताल हो । गर्भवती महिलाहरुलाई सेवा दिने भएकाले फर्काउन सकिदैंन्,’ उनले भने, ‘ठाउँ पनि सानो भएकाले हामीले ओपीडी कक्षबाटै सेवा दिइरहेका छौं ।’

वीर अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. भुपेन्द्र बस्नेतले गम्भीर प्रकृतिका बिरामीहरुलाई नफर्काएर उपचार दिइरहेको बताए । ‘हामीले गम्भीर प्रकृतिका अर्जेन्ट बिरामीहरुलाई इमर्जेन्सीमार्फत सेवा दिइरहेका छौं,’ उनले भने, ‘तय भएका शल्यक्रियाहरु पनि नियमित भइरहेका छन् ।’ डा. बस्नेतकाअनुसार अरु दिनको तुलनामा पनि अस्पतालमा आउने बिरामीको संख्या भने कम छ ।

२७ माघमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका सर्जन डा. जनिथ सिंहमाथि प्रहरीले लाठी चार्ज गरेको थियो । प्रहरीको लाठी चार्जबाट डा. सिंह गम्भीर घाइते भएका थिए । त्यसपछि चिकित्सकहरुले दोषीलाई कारवाही गर्नुपर्नेलगायतका माग राखेर आन्दोलन गर्दै आएका छन् ।

प्रहरीले घटनामा संलग्न प्रहरी हवल्दारलाई निलम्बन गरिसकेको अवस्था पनि संघले देशभरका अस्पतालहरुमा आकस्मिक रुपमा ओपीडी सेवा बन्द गर्ने निर्णय गरेपछि देशभरका चिकित्सकहरु विभाजित बनेका छन् भने त्यसको चौतर्फी रुपमा आलोचना भएको छ । सरकार वार्ता गरिरहेको र स्वास्थ्य मन्त्रालयले वार्तामार्फत समस्या समाधान गर्न आग्रह गर्दागर्दै वन्दजस्तो अन्तिम विकल्प सुरुमै रोज्ने नेपाल चिकित्सक संघको निर्णय विवादमा परेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ