२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार९ करोड बेरुजु भएको धुलिखेल अस्पताललाई पुनः ८ करोड अनुदान दिने तयारी

९ करोड बेरुजु भएको धुलिखेल अस्पताललाई पुनः ८ करोड अनुदान दिने तयारी


काठमाडौं–पटक—पटक गरी नेपाल सरकारबाट अनुदान पाएको झण्डै ९ करोड रुपैयाँको हिसाब किताब फर्स्योट नगरी काभ्रेमा रहेको धुलिखेल सामुदायिक अस्पताललाई सरकारले थप ८ करोड रुपैयाँ अनुदान दिने तयारी गरेको छ ।

पहुँचका आधारमा नियमित अनुदान लिदैं आएको सो अस्पतालले ०७४ सालमा पाएको ३४ लाख ४८ हजार रुपैयाँको पुँजीगत अनुदानको हिसाब सरकारलाई अझै बुझाएको छैन । महालेखा परीक्षकको कार्यलयले प्रत्येक वर्ष निकाल्ने बेरुजुमा ५ वर्षदेखि नियमित सो बेरुजु पनि देखिदै आएको छ ।

अझ रमाइलो त के छ भने सो अस्पतालको प्रत्येक वर्ष पूरानो बेरुजु देखिएतापनि थप रकम अनुदान पाउँदैं आएको छ । सो अस्पतालले ०७५/७६ मा उपकरण खरिदको लागि पाएको ८ करोड ५० लाख रुपैयाँ बराबरको अनुदानको पनि हालसम्म हिसाब—किताब नबुझाएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

पुरानो २ वर्षको ८ करोड ८४ लाख रुपैयाँ अनुदानको फर्स्योट नभई ०७६/०७७ मा थप १० लाख रुपैयाँ अनुदान सरकारले थपिदिएको थियो । पूरानो अनुदानको हिसाब फर्स्योट नहुँदै सरकारले आ.व. २०७९/०८० को लागि सिधै अर्थ मन्त्रालयबाट थप ८ करोड रुपैयाँ अनुदान शीर्षकमा रकम विनियोजन गरिएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रस्ताव विनै विनियोजन गरिएको सो रकम निकासाका लागि धुलिखेल अस्पतालले स्वास्थ्य मन्त्रालयमा प्रक्रिया सुरु गरिसकेको छ । ‘भण्डारबाटै सिधैं धुलिखेलको नाममा भाग लागेर आएको छ,’ मन्त्रालयका एक अधिकारीले व्यग्यांत्मक शैलीमा भने, ‘भान्सेले त बाँडिदिने त हो नि ।’

कुन प्रयोजन र केका लागि दिने भन्ने स्वास्थ्य मन्त्रालयका अधिकारीलाई थाहा नभएको उनले बताए । ‘अघिल्ला वर्षका वेरुजु नै करोडौं छन्,’ उनले भने, ‘पूरानो हिसाब नै नबुझाइ थप करोडौ थपिदिएको छ । देश भगवान भरोसामा नै चल्दो रहेछ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ