२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘नेलम्बो नेपालले गाउँ-गाउँमा दाँत अस्पताल पुर्‍याएको छ’

‘नेलम्बो नेपालले गाउँ-गाउँमा दाँत अस्पताल पुर्‍याएको छ’


पोखरा – पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको फार्मेसीमा एकदेव देवकोटा काम गर्थे, त्यहाँ उनले ३ वर्ष जति काम गरे । त्यहीँ काम गर्नेबेला आजभन्दा करिब ३० वर्ष अघि नै उनलाई मुख स्वास्थ्य सचेतना, दाँतको सुरक्षा र दाँत उपचारबारे विशेषज्ञ र सेवाको अभाव महसुस भएको थियो ।

अस्पतालमा एक दिनमा १०–१५ जनाको मात्रै दाँतको जाँच हुन्थ्यो । अस्पतालमा त यस्तो अवस्था छ भने गाउँ गाउँमा अवस्था कस्तो होला भन्ने विचार गरी दाँतको उपचार सेवा दिन सके आम मानिसमा खुसी थप्न सकिन्छ भन्ने सोच बनाएका उनी विसं. २०७४ पुसमा नेलम्बो नेपाल नामक संस्था खोलेर काम सुरु गरे ।

नेलम्बोले गण्डकी प्रदेशभर नै सेवा दिने गरी काम थालेको भए पनि सबै जिल्लामा पुग्न सकेको छैन । तर निरन्तर सेवा दिने उद्देश्यले नेलम्बोका अध्यक्ष उनै एकदेव देवकोटा गाउँ गाउँमा पुगेर दाँतको मोबाइल क्लिनिक सञ्चालन गरिरहेका छन् । निःशुल्क दन्त शिविर सञ्चालन गरी दाँतका बिरामीको उपचार, चेकजाँच, दाँतको एक्स-रे, अस्थायी भर्ने, जरैदेखि उपचार, दाँतको सुरक्षा र मुख स्वास्थ्यबारे सचेतना सेवा दिइरहेका छन् ।

हालसम्म २२ मुख्य शिविरबाट अत्याधुनिक दाँत उपचार सेवा र १२ शिविरबाट फलोअप सेवा दिएको अध्यक्ष देवकोटा बताउँछन् । ती शिविरहरूबाट ७ हजार ८ सय जनाले निःशुल्क सुविधा लिएको उनले सुनाए । निःशुल्क शिविर सञ्चालनका लागि दाँतका विशेषज्ञ डाक्टर १, हाइजेनिस्ट २, ड्राइभर १, टेक्निकल एसिस्टेन्ट २, क्लिनिकल सपोर्ट १ र प्रशासनिक १ गरी ८ जनाको टिम रहेको छ ।

सिटी एरियाका अस्पतालको जस्तै सेवा नेलम्बोले सञ्चालन गरेको घुम्ती दन्त शिविरबाट पाउन सकिन्छ, त्यसमाथि ग्रामीण बस्तीमा विपन्नको उपचारका लागि  । उनी भन्छन्, ‘हामीले मुख्य रुपमा सचेतना दिएका छौँ, दाँत दुखेपछि मात्रै दाँतको समस्या भएको थाहा पाउने अवस्था छ । दाँत दुख्न सुरु गर्दा नै दाँत बिग्रिसकेको हुँदो रहेछ । त्यसबाहेक दाँतको समस्या पहिचान, उपचार गर्ने र विकल्प नहुँदा निकाल्नेसम्मको सेवा दिन्छौँ, भ्यानमा नै दाँतको शल्यक्रिया हुन्छ र फलोअप पनि हुन्छ ।’

दाँत र मुख स्वस्थ राख्न सक्दा मात्रै मुखको क्यान्सर कम गर्न सकिने उनको भनाइ छ । मुखको क्यान्सर न्यूनीकरणका साथै दाँतका कारण हुने रोगका साथै दाँतले पार्ने असर घटाउन शिविरले महत्त्वपूर्ण भूमिका खेलेको उनको दाबी छ ।

उनले २१ वर्ष आइएनएफमा काम गरे । उनले पश्चिम नेपालको दुर्गम बस्तीमा के कस्तो अवस्था थियो भन्ने बुझेर नै दाँत क्षेत्रमा काम गर्ने योजना बनाए । अरू क्षेत्रमा धेरैले धेरै क्षेत्रमा काम गरेको छन् तर मुख र दाँतको क्षेत्रमा काम गर्ने कम छन् भन्ने कुरालाई ध्यानमा राखेर ८० प्रतिशत विद्यालयमा र २० प्रतिशत समुदायमा शिविर सञ्चालन गरिएको उनको भनाइ छ ।

नेलम्बोले २० जना विद्यार्थीलाई इन्जिनियरिङका लागि ४० हजार र व्यवस्थापकीय शिक्षाका लागि २० हजारका दरले अध्ययनका लागि छात्रवृत्तिसमेत उपलब्ध गराउँदै आएको छ ।

कोभिड महामारीका बेला समाज कल्याण परिषद्को निर्देशनमा एनजिओको २० प्रतिशत कोभिड नियन्त्रणमा गर्न पाउने भएकाले निःशुल्क स्यानिटाइजर र मास्क वितरणसमेत गरेको उनले बताए ।

नेलम्बोका अध्यक्ष देवकोटाका अनुसार आगामी दिनमा २/३ वटा भ्यान थपेर थप सेवा बिस्तार गर्ने योजना छ । ५ वर्षमा ३५–४० हजार मानिसलाई सेवा दिने लक्ष्य रहेको उनले बताए । सन् २०२४ सम्म दाताले सहयोग गर्ने सम्झौता भएको छ । त्यसपछि नेपाल सरकार र स्थानीय तहसँग सहकार्य गरेर काम गर्ने योजना पनि उनले सुनाए ।

(विश्व मुख स्वास्थ्य दिवसका अवसरमा नेलम्बोका अध्यक्ष देवकोटाको कुराकानीमा आधारित)


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ