२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवैदेशिक रोजगारीमा रहेका नेपालीलाई वीर अस्पतालले टेलिमेडिसिन सेवा दिने

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वीर अस्पतालले टेलिमेडिसिन सेवा दिने


काठमाडौं—वैदेशिक रोजगारीमा रहेका नेपालीलाई वीर अस्पतालले टेलिमेडिसिन सेवा दिने भएको छ । शुक्रबार वैदेशिक रोजगार बोर्ड र वीर अस्पतालबीच वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई टेलिमेडिसिन सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको हो ।

वीर अस्पतालमा निर्देशक डा. सन्तोष पौडेलले बोर्डसँगको सम्झौताअनुसार अस्पतालले नियमित रुपमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई टेलिमेडिसिन सेवा उपलब्ध गराउने बताए । ‘हामी वैदेशिक रोजगारीमा रहेका सबै नेपालीलाई नियमित टेलिमेडिसिन सेवा उपलब्ध गराउँछौं,’ उनले भने, ‘हप्ताको दुई दिन शनिबार र आइतबार एमबीबीएस चिकित्सकको रिफरका आधारमा विशेषज्ञ चिकित्सकबाट टेलिमेडिसिन सेवा दिनेछौं ।’

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई टेलिमेडिसिन सेवा दिन एक जना मेडिकल अधिकृत र एक जना हेल्थ असिस्टेन्ट नियमित सेन्टरमा खट्नेछन् ।

धेरै देशहरुमा आइतबार पनि विदा हुने भएकाले दुई दिन विशेषज्ञ सेवा दिन लागिएको उनले बताए । ‘धेरैजसो नेपालीहरु रहेका देशहरुमा आइतबार र शनिबार दुई दिन विदा हुने भएकाले दुई दिन नै विशेषज्ञ सेवा दिनेछौं,’ उनले भने, ‘यसले सेवा प्रवाहमा सहजता ल्याउनेछ ।’

कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल रहँदा वीर अस्पतालमा कोभिडका बिरामीहरुलाई सेवा दिने उद्देश्यका साथ विश्व स्वास्थ्य संगठनको सहयोगमा टेलिमेडिसिन सेवाका लागि सेटअप बनाइएको थियो । उक्त सेटअपबाट कोभिड-१९ महामारीका बेला कोभिड-१९ का संक्रमितका लागि हेल्पलाइन संचालन गरिएको थियो । कोभिड-१९ महामारी न्यून भएसँगै उक्त टेलिमेडिसिन सेवा अवरुद्ध थियो ।

डा. पौडेल निर्देशक बनेर आएसँगै उनले उक्त टेलिमेडिसिन सेवा पुनः सुचारु गरेका हुन् । ‘अहिले वैदेशिक रोजगार वोर्डसँग सहमति गरेर हामीले यो सेवा सुरु गरेका छौं,’ उनले भने, ‘विस्तारै यो सेवालाई कसरी स्वदेशभित्रै पनि विस्तार गर्ने भन्ने विषयमा सोच्दैछौं ।’

वीर अस्पतालले टेलिमेडिसिन सेवा उपलब्ध गराए वापत बोर्डले मातहतको वैदेशिक रोजगार कोषमार्फत एक जना मेडिकल अधिकृत र हेल्थ असिस्टेन्टका लागि तलब वीर अस्पताललाई उपलब्ध गराउनेछ । त्यसबाहेक बिरामी हेर्ने विशेषज्ञ चिकित्सकहरुलाई भत्ता पनि उपलब्ध गराउनेछ ।

सम्झौता पत्रमा वीर अस्पतालका तर्फबाट निर्देशक डा. पौडेल र बोर्डका निर्देशक राजन पौडेलले हस्ताक्षर गरेका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ