२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएक्सनमा वीरका निर्देशक डा. पौडेलः सेवा प्रवाहदेखि कार्यालय समयसम्ममा कडाइ

एक्सनमा वीरका निर्देशक डा. पौडेलः सेवा प्रवाहदेखि कार्यालय समयसम्ममा कडाइ

सवा ९ बजेबाट ओपीडी सेवा सुरु हुने, ९ देखि ५ बजेसम्म ड्युटी आवर अनिवार्य पालना गर्नुपर्ने


काठमाडौं—वीर अस्पतालमा निर्देशक डा. सन्तोष पौडेल एक्सनमा उत्रिएका छन् । २८ फागुन र ९ चैतमा उनले दुई वटा छुट्टाछुट्टै सर्कुलर जारी गर्दै सेवा प्रवाह र नियम पालनामा कडा रुपमा प्रस्तुत हुने संकेत गरेका छन् ।

मुलुककै जेठो वीर अस्पतालमा चरम अव्यवस्था कारण सेवा प्रवाहमा समस्या रहेको गुनासो आइरहेकै बेला डा. पौडेलले विभागीय प्रमुखहरुसँग बैठक गरेर २८ फागुनमा निर्णय कार्यन्वयन गर्नेबारेमा शीर्षकमा सेवा प्रवाह सम्बन्धि ५ बुँदे सर्कुलर मातहतका कर्मचारीलाई जारी गरेको पाइएको छ । यस्तै, ९ चैतमा उनले समय पालना सम्बन्धि अर्को छुट्टै ६ बुँदे सर्कुलर जारी गर्दै सेवा प्रवाह हुने ढिलाइ र कामचोर कर्मचारीप्रति निर्मम रुपमा प्रस्तुत हुने संकेत गरेका छन् ।

यसअघि वीरमा सेवा प्रवाह यथोचित रुपमा नहुने र केही कर्मचारीहरु अस्पतालमा हाजिरी गरेर क्लिनिकमा धाउने गरेको गुनासो आउने गरेको थियो । हेल्थआवाजलाई प्राप्त सेवा प्रवाह सम्बन्धि २८ फागुनको सर्कुलरअनुसार विहान ९ः १५ बजेदेखि नै ओपीडी सेवा सुरु गर्ने र ओपीडीमा एउटा कन्सल्ट्यान्ट र एक जना रजिष्ट्रारबाट सेवा प्रवाह गर्नुपर्नेछ ।

यसैगरी, आफू मातहतका कर्मचारीहरुको ड्युटी रोष्टर सोही महिनाको एक गतेभित्रै निर्देशक र प्रशासनलाई पठाउने, आईसीयु र क्याबिनमा भर्ना गर्दा प्रत्येक बिरामीले १५ हजार रुपैयाँ र वार्डमा भर्ना गर्दा १ हजार ५ सय अनिवार्य धरौटी राख्ने, वार्डमा भर्ना भएका बिरामीले दैनिक बेड चार्ज हरेक ५ दिनमा २ सय रुपैयाँका दरले तिर्न लगाउने, आईसीयु र क्याबिनमा भर्ना भएका बिरामीले तीन—तीन दिनमा तिर्न लगाउने र हरेक वार्ड १० प्रतिशत वेड पूर्ण निःशुल्क उपलब्ध गराउने निर्देशक पनि डा. पौडेलको छ ।

यस्तै, उनले निदानात्मक सेवामा नियमित शुल्क लिने र छुट गराउनुपर्ने भए विभागीय प्रमुख वा युनिट प्रमुखको सिफारिसमा छुट दिने र नभएमा कन्सल्ट्यान्ट सिफारिसमा छुट गर्न निर्देशन दिएका छन् । तर, यो शुल्क पूर्ण निःशुल्क गरिएका बेडहरुमा भने लागु हुने छैन् । डा. पौडेलले सिटी, एमआरआई, डिटिपिए, सिईसिटी सिफारिस गर्ने अधिकार कन्सल्ट्यान्टलाई मात्रै दिएका छन् ।

९ देखि ५ बजेसम्म ड्युटी आवर अनिवार्य पालना गर्नुपर्ने

वीर अस्पतालले आफ्ना सबै कर्मचारीहरुलाई ९ बजेदेखि ५ बजेसम्म अनिवार्य कार्यलय काममा रहन निर्देशन दिएको छ । हेल्थआवाजलाई प्राप्त ९ चैतमा अस्पतालका निर्देशक डा. पौडेलले जारी गरेको आन्तरिक सर्कुलरमा सिफ्ट ड्युटीमा काम गर्ने कर्मचारीलाई भने दैनिक ८ घण्टा वा हप्ताको ४८ घण्टा अनिवार्य काम गर्ने भनिएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को शैक्षिक क्रियाकलापमा सहभागी हुने चिकित्सकहरुले भने विहान ८ बजेदेखि हाजिरी हुनुपर्नेछ । शल्यक्रिया संलग्न हुने चिकित्सक भने हाजिरी केही ढिला भएपनि गणना हुने व्यवस्था गरिएको छ । अन ड्युटी चिकित्सकलाई नाइट ड्युटीपछि नाइट अफको व्यवस्था गरिएको छ भने आउट हाजिरी अनिवार्य गरिएको छ ।

ड्युटी रोष्टरअनुसारको हाजिरीलाई मात्रै आधिकारिक मानिने अस्पतालको निर्णय छ । अस्पतालले १ बैशाखदेखि माथि उल्लेखित कार्यघण्टालाई आधारमा मानेर विस्तारित भत्ता उपलब्ध गराइने जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ