२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसेती प्रादेशिक अस्पतालमा एक जना बिरामीको पेटमा भेटियो बोतल

सेती प्रादेशिक अस्पतालमा एक जना बिरामीको पेटमा भेटियो बोतल


धनगढी—सेती प्रादेशिक अस्पतालमा एक जना बिरामीको पेटको एक्स—रे गर्दा पेटमा बोतल भेटिएको छ । बिहीबार उपचारका लागि अस्पताल पुगेका फूलवारी एच गाउँका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटको एक्स—रेमा बोतल देखिएको हो ।

रोक्कामगर पेट दुःखेपछि सेती प्रादेशिक अस्पताल पुगेका थिए । अस्पतालमा उपचारका क्रममा आएका एक बिरामीको पेटको एक्स—रे गर्दा बोतल देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले जानकारी दिए ।

‘उपचार आउनुभएको एक जना बिरामीको पेटको एक्स रे गर्दा बोतल देखिएको कुरा आएको छ,’ उनले भने, ‘अस्पतालमा उपचार प्रक्रिया अगाडि बढाउँछ ।’

अस्पतालका सूचना अधिकारी हेमराज उपाध्यायले बिरामी पेट दुखेपछि बिहीबार अस्पतालमा चेकजाँच गर्न आएको जानकारी दिए । ‘दुई दिन जति अघि साथीहरुसँग मदिरा सेवन गर्दा साथीले बोतल घुसाइदिएको बिरामीको भनाइ छ,’ उनले भने, ‘सुरुमा मेडिकल वार्ड उपचार भयो । बिरामीले ब्रिफ गरेपछि एक्स—रे गर्न लगाइयो । एक्स—रे गर्दाखेरि पेटमा बोतल देखियो ।’

अहिले बिरामीलाई सर्जिकल वार्डमा राखेर बोतल निकाल्ने प्रयासमा चिकित्सकहरु रहेको सूचना अधिकारी उपाध्यायले बताए । ‘शल्यक्रिया नगरेर निकाल्ने कि शल्यक्रिया गर्ने भन्ने विषयमा चिकित्सकहरु अध्ययन गरिरहनुभएको छ,’ उनले थपे, ‘शल्यक्रिया नगरी निकाल्न सकिने भए तत्काल निकालिनेछ, यदि शल्यक्रिया गर्नुपर्ने अवस्था भए अन्य तयारी पनि गर्नुपर्छ ।’ घरबाट बिरामी सामान्य पेट दुख्यो भनेर अस्पताल आएकाले अवस्था सामान्य रहेको उनले बताए ।

यसअघि रौतहटका एक युवाको पेटमा रक्सीको बोतल भेटिएपछि उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा शल्यक्रिया गरिएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ