२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्सिङ काउन्सिल रजिष्ट्रारमा समाजवादी, माओवादी निकट नर्सको फाइल फर्काएर कांग्रेस निकट सिफारिस

नर्सिङ काउन्सिल रजिष्ट्रारमा समाजवादी, माओवादी निकट नर्सको फाइल फर्काएर कांग्रेस निकट सिफारिस


काठमाडौं–११ महिनादेखि खाली रहेको नर्सिङ काउन्सिलको रजिष्ट्रारका लागि सत्ता साझेदार दलहरुबीच रस्साकस्सी चलेको छ । यसअघि स्वास्थ्य मन्त्रालयले नेकपा समाजवादी र नेकपा माओवादी केन्द्र निकट नर्सहरुको नाम रजिष्ट्रार नियुक्तिका लागि पठाएको थियो ।

अहिले ती दुवै नाम फिर्ता गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले खजुरा गाउँपालिकामा कार्यरत नर्सिङ अधिकृत लक्ष्मी केसी ओलीलाई सिफारिस गरेका छन् । नेपाली कांग्रेस कोटामा उनलाई रजिष्ट्रारका लागि सिफारिस गरिएको हो ।

यसअघि मन्त्रालयले सुरुमा समाजवादी निकट गंगा थापाको नाम पठाएको थियो । सरकार परिर्वतन भएर पुष्पकमल दाहाल स्वास्थ्यसहित प्रधानमन्त्री भएका बेला भने थापाको नाम फिर्ता गरेर माओवादी निकट शुक्ला खनालको नाम सिफारिस भएको थियो । थापाको नाम फिर्ता गर्दा उनको शैक्षिक योग्यता स्नातक मात्र भएको कारण देखाइएको थियो ।

तर, दाहालको पालामा सिफारिस गरिएकी नर्स खनाल पनि स्नातक नै थिइन् । रमाइलो त के भने स्नातक मात्र शैक्षिक योग्यता भनेर दुई जनाको फाइल फर्काउँदै गर्दा नयाँ सिफारिस भएकी लक्ष्मी केसी ओलीको पनि योग्यता भने स्नातकसम्म मात्र नै छ ।

‘नर्सिङ काउन्सिल नर्सिङमा पिएचडी गर्नेहरुको पनि नियामक निकाय हो,’ एक सरकारी नर्सिङ कलेजकी प्रिन्सिपल भन्छिन्, ‘मास्टर्स गरेका सयौं नर्स भइसके अझै भर्खर ब्याचलर गरेकाहरु रजिष्ट्रार बनाउन सरकार लागेको छ । कसरी सुधारको अपेक्षा गर्न सकिन्छ ।’

यद्यपि नर्सिङ काउन्सिल ऐनमा भने रजिष्ट्रारका लागि योग्यता स्नातक नै तोकिएको छ । काउन्सिलले दुई वर्ष अघि काउन्सिल ऐन परिवर्तन गरी रजिष्ट्रारका लागि शैक्षिक योग्यता स्नातक रहेको व्यवस्था परिवर्तन गरी स्नातकोत्तर बनाउन मस्यौदा क्याबिनेट पठाएको थियो । तर, सो व्यवस्था अझै परिवर्तन भएको छैन ।

मन्त्रीले सिफारिस गरेकी ओली भेरी अस्पतालमा नेपाल सरकारको नर्सिङ स्टाफ रहेकै बेला पूर्वाञ्चल विश्वविद्यालयबाट बीएन अध्ययन गरेकी हुन् । स्वास्थ्य सेवा नियमावलीमा स्वास्थ्य सेवाका कर्मचारीले छात्रवृत्तिअन्तर्गत पढेमा अनिवार्य अध्ययन बिदा स्वीकृत गराउनुपर्छ भने अस्पताल समय भन्दा बाहेक अध्ययन गराउँदा पनि सरकारलाई जानकारी गराउनुपर्ने उल्लेख छ ।

‘अध्ययन बिदामा बस्नेले अनिवार्य सरकारबाट विदा स्वीकृत गरेर नै पढ्नुपर्छ,’ मन्त्रालयका कानुन उपसचिव रेशराज शर्मा भन्छन्, ‘यदि अन्य किसिमले अध्ययन गर्ने भए कार्य समय बाहिर अध्ययन गर्ने भनेर सरकारलाई जानकारी गराउनुपर्छ यदि नगराएमा र प्रश्न उठेको बेला बढुवालगायतका कुरा रोकिन्छन् ।’ उनी नेपाल सरकारअन्तर्गतका सबै निकायमा लागु हुने बताउँछन् ।

नर्सिङ अधिकृत केसीले आफूले अस्पताललाई अध्ययन गर्ने पत्र दिएर साँझ र बेलुकाको डियुटी गर्दै अध्ययन गरेको बताइन् । ‘मैले भेरी अस्पतालमा इभिनिङ र नाइट ड्युटी गरेर बीएन पढेको हो,’ उनले हेल्थ आवाजसँग भनिन्, ‘काम गर्ने स्थान र कलेज ६ किलोमिटरभन्दा टाढा भए विदामा बसेर पढ्नुपर्ने हुन्थ्यो । तर, भेरी अस्पताल र हामीले पढेको कलेज एक किलोमिटर दूरी पनि छैन ।’ उनले आफूले बीएन पढेका बेला भेरी अस्पतालका अन्य ११ जना नर्सले पनि सँगै पत्र दिएर पढेको बताइन् ।

२३ वर्षअघि स्टाफ नर्स पाँचौं तहमा स्वास्थ्य सेवामा प्रवेश गरेकी उनी हाल ७ औं तहमा कार्यरत रहेकी छन् । उनी बाँके जिल्ला नर्सिङ संघको अध्यक्ष पनि हुन् । ‘काठमाडौं बाहिर बसेर २३ वर्ष स्वास्थ्य सेवामा काम गरे । काठमाडौं बाहिरका नर्सको झन ठूलो समस्या छ,’ उनले भनिन्, ‘के काठमाडौं बाहिर बसेकाहरुले कुनै नेतृत्व गर्ने नपाउने ?’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ