२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारी अस्पतालका चिकित्सकका भरमा निजी अस्पताल

सरकारी अस्पतालका चिकित्सकका भरमा निजी अस्पताल

सरकारी चिकित्सक देखाएर अस्पताल दर्ता गर्न एक वर्षदेखि संजिवनी अस्पतालका संचालक दौडधुपमा


धनगढी—१७ असार २०७९ असारमा धनगढीको सेती प्रादेशिक अस्पताल नजिकै संजिवनी अस्पताल प्रालि संचालनमा आयो । १५ शैय्याबाट सेवा सुरु गरेको अस्पतालले १ वर्ष भइसक्दा समेत संचालन स्वीकृत पाउन सकेको छैन ।

सेवा सुरु गर्ने क्रममा अस्पतालका अध्यक्ष दुष्यन्त बस्नेतले गुणस्तरीय सेवा दिने बताएका थिए । उनले गुणस्तरीय सेवा दिने उद्देश्यले शल्यक्रिया, भिडियो एक्स–रे, इसिजी, फार्मेसी, मुटुको भिडियो एक्सरे, डिजिटल एक्स–रे, अत्याधुनिक ल्याबलगायतका सेवा उपलब्ध हुने जानकारी दिएका थिए ।

अस्पताल धनगढीको राष्ट्र बैक नजिकैबाट र सेती प्रादेशिक अस्पताल नजिक गरी दुई ठाउँबाट संचालनमा छ । एक वर्ष पुग्दासमेत अस्पतालले संचालन अनमुति नपाएपनि सेवा भने दिइरहेको छ ।

संजीवनी अस्पतालले गत वर्ष संचालन स्वीकृतीका लागि धनगढी उपमहानगर पालिकामा निवेदन दिएको थियो । उपमहानगरले पूर्वाधार निरीक्षण गर्दा उपयुक्त नदेखिएपछि अनुमति प्रक्रिया रोकेको छ । संजीवनी अस्पतालमा भौतिक पूर्वाधारसँगै जनशक्ति पनि छैन् । अस्पताल सेती प्रादेशिक अस्पतालका चिकित्सक देखाएर संचालन स्वीकृती लिने दाउमा रहेको छ ।

उपमहानगरले अनुमति नदिएपछि संजिवनी अस्पतालका संचालकहरु सोही भौतिक संरचना र ठाउँमै २५ शैय्याको संचालन अनुमति लिन स्वास्थ्य कार्यालय कैलाली पुगे । स्वास्थ्य कार्यालय कैलालीले प्रदेश सरकारले सरकारी स्वास्थ्य संस्थाको ३ सय मिटरभित्र निजी स्वास्थ्य संस्थालाई अनुमति नदिने कानुन बनाएको बताएपछि त्यहाँबाट पनि अस्पताल संचालन अनुमति पाउन सकेनन् ।

जसका कारण अस्पतालले पुनः धनगढी उपमहानगरबाटै अनुमति लिन ४ असार २०८० मा संचालन अनुमतिको निवेदन दर्ता गराएको छ । संजिवनी अस्पतालका संचालक दुष्यन्त बस्नेतले अस्पतालले संचालनको प्रारम्भिक प्रक्रिया पूरा दावी गर्दै संचालन अनुमतिको प्रक्रियामा रहेको बताए ।

सरकारी चिकित्सक भरमा अस्पताल

मंगलबार दिउँसो १२ बजे धनगढीस्थित राष्ट्र बैक नजिक रहेको संजिवनी अस्पतालमा धनगढी—१३ कैलाली गाउँका ८० वर्षीय टेकबहादुर चन्द चिकित्सकको प्रतिक्षामा बसेका थिए । हातखुट्टा दुख्ने समस्या भएर अस्पताल पुगेका उनलाई कर्मचारीहरुले चिकित्सक शल्यक्रियामा रहेकाले भोलि आउन भन्दैं फर्काइदिए ।

यसरी फर्किने चन्द त प्रतिनिधी पात्र मात्रै हुन् । संजिवनी अस्पतालमा पूर्णकालीन रुपमा चिकित्सक नै नहुँदा बेला—बेला अरु धेरै बिरामी यसरी न फर्किनुपर्ने बाध्यता छ । अस्पतालको बाहिर सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक नेमप्लेट टाँगिएको छ ।

संजिवनी अस्पतालमा नेमप्लेट टाँगिएका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. जगदीशचन्द्र विष्ट, सर्जन डा. शंकर अधिकारी र हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. मोहन नाथ सेती प्रादेशिक अस्पतालका स्थायी चिकित्सक हुन् । डा. विष्ट संघमा दरबन्दी भएपनि काजमा सेती प्रादेशिक अस्पतालमा कार्यरत छन् । त्यसैगरी, कन्सल्टेन्ट फिजिसियन डा. सुमन चौधरी र दाँत तथा मुख रोग विशेषज्ञ डा. अमृतराज जैशी अस्पतालको बोर्डमा नाम भएका थप चिकित्सक हुन् । उनीहरु दुवै जना सेती प्रादेशिक अस्पतालमा विकास समितितर्फका चिकित्सक हुन् ।

स्वास्थ्य संस्था संचालन मापदण्ड, २०७७ (पहिलो संशोधन) को परिच्छेद ६ मा स्वास्थ्य संस्थामा जनशक्ति सम्बन्धी मापदण्डमा १५ शैय्याको अस्पतालमा मेडिकल डाइरेक्टर १ जना, क्लिनिकल सेवाको लागि स्त्री तथा प्रसुति रोग विशेषज्ञ १ जना, बाल रोग विशेषज्ञ १ जना र एमडिजिपी १ जना, मेडिकल अधिकृत २ जना र डेन्टल हाइजिनिष्ट १ जना हुनुपर्ने उल्लेख छ । तर, अस्पतालले यो मापदण्ड पनि पूरा गरेको छैन ।

सरकारले बनाएको स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७ (पहिलो संशोधन) को परिच्छेद ५ मा १५ शैय्याको अस्पतालले आधारभूत स्वास्थ्य सेवा, सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, स्त्री तथा प्रसुति सेवा, बालरोग तथा शिशु सेवा र सामान्य दन्त सेवा दिन पाउने उल्लेख गरिएको छ ।

१५ शैय्यासम्मका अस्पतालले सम्बन्धित चिकित्सकको उपलब्धतामा आकस्मिक शल्यक्रिया सेवा प्रदान गर्ने तर बिशेषज्ञ सेवा दिन मिल्ने छैन भनि उल्लेख गरिएको छ । यी सेवाहरु दिनका लागि अस्पताललाई आफ्नै फुलटाइम चिकित्सक आवश्यक पर्छ । तर, संजिवनी अस्पतालले त्यो मापदण्ड पनि पूरा गरेको छैन ।

सारथी अस्पतालको दर्ता नवीकरण हुन सकेन

संजिवनी अस्पताल मात्रै होइन्, धनगढी उपमहानगरपालिका—१ मा रहेको सारथी अस्पताल पनि मापदण्ड पूरा नगरेरै संचालनमा छ । उक्त अस्पतालसँग पनि आफ्नो स्वास्थ्य जनशक्ति छैन । धनगढी उपमहानगरले उक्त अस्पतालको भवनको मापदण्ड नमिलेको भन्दै नवीकरण प्रक्रियासमेत रोकेको छ ।

धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले सारथी अस्पतालको भवनको मापदण्ड नमिलेका कारण केही समय दिएको बताए । ‘भवन सम्बन्धि मापदण्ड नपुगेका कारण हामीले केही समय दिएका छौं,’ उनले भने, ‘भवनको मापदण्ड नमिलाएमा खारेजीको प्रक्रिया अगाडि बढाइनेछ ।’

धनगढी उपमहानगरपालिकाले बनाएको स्वास्थ्य संस्था दर्ता नवीकरण स्तरोन्नती तथा सेवा थप सम्बन्धी कार्यविधिमा अनुमति प्राप्त स्वास्थ्य संस्थाले संचालन अनुमतिको अवधि समाप्त हुने मितिभन्दा अगाडि नै उपमहानगरमा निवेदन दिएर अवधि समाप्त भएको तीन महिनाभित्र नवीकरण गर्नुपर्ने उल्लेख छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ