२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमाग पूरा नभए २९ साउनदेखि सत्याग्रह थाल्ने डा. केसीको ‘अल्टिमेटम’

माग पूरा नभए २९ साउनदेखि सत्याग्रह थाल्ने डा. केसीको ‘अल्टिमेटम’


काठमाडौं—प्रा.डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए २९ साउनदेखि सत्याग्रह सुरु गर्ने अल्टिमेटम दिएका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले सिटीइभिटीका चिकित्सा शिक्षा ऐन विपरितका निर्णय सच्चाउन, दोषी पदाधिकारीलाई बर्खास्त गर्न र आयोगको नयाँ नेतृत्व चयनको प्रक्रिया तत्काल अगाडि नबढाइए सत्याग्रह सुरु गर्ने चेतावनी दिएका हुन् ।

डा. केसीले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी)ले चिकित्सा शिक्षा ऐन विपरित निर्णय सच्चाउन, दोषी पदाधिकारीलाई बर्खास्त गर्न, पिसिएल नर्सिङ, एचए, फार्मेसीमा शुुल्क बढाउने निर्णय पनि खारेज गर्न माग गरेका छन् ।

यस्तै, उनले आगामी भदौबाट रिक्त हुन लागेको चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन, नेतृत्वबिहीन नहुने गरी उपाध्यक्ष नियुक्तिको प्रक्रिया अगाडि बढाउन समेत माग गरेका छन् ।

आयोगका अहिलेका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको ४ वर्षे कार्यकाल ४ भदौंमा सकिदैंछ । गत जेठमै आयोगको कार्यकारी परिषद्को बैठकले नयाँ उपाध्यक्ष नियुक्तिको प्रक्रिया सुरु गर्न सरकारलाई सिफारिस गरिसकेको छ । तर, अहिलेसम्म सरकारले आयोगको नयाँ उपाध्यक्ष सिफारिसको प्रक्रिया सुरु गरेको छैन ।

यस्तै, डा. केसीले सबै प्रदेशमा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान स्थापना गर्ने, एकीकृत स्वास्थ्य शिक्षा (विज्ञान) प्रतिष्ठान ऐन र पदाधिकारी नियुक्तिको मापदण्ड सम्बन्धी कानुन बनाउने, सरकारी अस्पतालमा शैय्याअनुरुपको दरबन्दी सिर्जना गर्ने, सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क औषधी र उपचार प्रदान गर्नुपर्ने कानुन कडाइपूर्वक लागु गर्न समेत माग गरेका छन् ।

उनले आफूसँग ८ असोज २०७९ मा भएका सम्झौता कार्यन्वयन गर्न समेत माग गरेका छन् । डा. केसीले आफूहरुको आन्दोलनबाट प्राप्त चिकित्सा शिक्षा उपलब्धिहरू उल्ट्याउने प्रयास भएको टिप्पणी समेत गरेका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ