२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगेटा अस्पताल पूर्वाधार विकास समितिद्वारा भवन हस्तान्तरण

गेटा अस्पताल पूर्वाधार विकास समितिद्वारा भवन हस्तान्तरण


धनगढी— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको गेटा मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिले अस्पतालसँग सम्बन्धित भवनहरु गेटा अस्पताललाई हस्तान्तरण गरेको छ। आइतबार गेटा मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिका सदस्य सचिव बैकुण्ठ सुवेदीले अस्पतालका निर्देशक डा. विप्लव सापकोटालाई भवन हस्तान्तरण गरेका हुन्।

भवन हस्तान्तरण कार्यक्रमपछि डा. सापकोटाले अस्पतालको सेवा विस्तारका लागि यो निकै ठूलो सफलता भएको बताए । उनका अनुसार अस्पतालसँग सम्बन्धित ६ वटा भवन हस्तान्तरण भएका हुन्।

अस्पताल सञ्चालनका लागि लामो समयदेखि भवन हस्तान्तरण नहुँदा गेटामा सेवा सुरु हुन समस्या भइरहेको थियो। भवन प्राप्त गरेसँगै अस्पतालका लागि आवश्यक संरचना निर्माण प्रक्रिया अगाडि बढाउँदै सेवा विस्तारको काम सुरु हुने डा.सापकोटाले जानकारी दिए।

पूर्वाधार विकास निर्माण समितिलाई गेटा अस्पतालले भवन आवश्यक परेको भन्दै ११ मंसिर पत्र पठाएको थियो। सोही पत्रपछि समितिले अस्पताललाई भवन हस्तान्तरण गरेको हो।

समितिले भवनको भौतिक संरचनात्मक स्वरुपमा असर नपर्ने गरी र अस्पताल भवनमा जडान भएका संलग्न सुची बमोजिमका पानी, बिजुली, सञ्चार, एसी, अक्सिजन सप्लाई सिस्टमलगायतको प्रयोजनार्थ प्रयोग हुने उपकरण, मेसिनरी सामान र फर्निचरहरु लगायतको सम्पूर्ण रेखदेख संरक्षण सम्बर्द्धन तथा मर्मत संभारको सम्पूर्ण जिम्मेवारी अस्पताल निर्देशकको रहने गरी भवन हस्तान्तरण गरेको हो।

१ कात्तिकदेखि सेवा सञ्चालनमा आएको अस्पताललाई आर्थिक वर्ष २०८०/८१ को बजेटमा गेटा अस्पताललाई १ सय शैय्या क्षमताको अस्पतालको रुपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरिएको थियो। संघीय सरकारले चालु आर्थिक वर्षमा कर्मचारीको तलब सुविधाका लागि तीन करोड ५० लाख र उपकरण खरिदका लागि ८० करोड बजेट बिनियोजन गरेको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ