२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा विज्ञान विश्वविद्यालय स्थापनापछि सुदूरपश्चिममा विशेषज्ञ सेवामा पहुँच सुनिश्चित : प्रधानमन्त्री

चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनापछि सुदूरपश्चिममा विशेषज्ञ सेवामा पहुँच सुनिश्चित : प्रधानमन्त्री


महेन्द्रनगर—प्रधानमन्त्री पुष्पकमल दाहालले गेटामा राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना भएपछि सुदूरपश्चिम क्षेत्रमा विशेषज्ञ उपचार सेवामा पहुँच सुनिश्चित गर्न सकिने बताएका छन्। आइतबार सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले प्राविधिक शिक्षामा पहुँच अभावलाई महसुस गरेर चिकित्सा विज्ञान विश्वविद्यालय निर्माणको कार्य अगाडि बढाइएको बताए ।

‘यस क्षेत्रमा उच्च प्राविधिक शिक्षामा पहुँचको अभावलाई महसुस गरी सरकारले कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ,’ प्रधानमन्त्रीले भने ।

चिकित्सा विज्ञान विश्वविद्यालय संचालनमा आशंका व्यक्त भइरहेका बेला प्रधानमन्त्रीले भने त्यस्ता आशंका चिर्ने गरी अभिव्यक्ति दिएका छन् । उनले विश्वविद्यालय स्थापनाका लागि कानुन निर्माणको कामहरु द्रुत गतिमा भइरहेको बताए ।

‘विश्वविद्यालय स्थापनाको लागि ऐन निर्माणलगायतका कामहरू द्रूत गतिमा अगाडि बढिरहेका छन्,’ उनले भने । दाहालले गेटामा स्थापना हुने विश्वविद्यालय यस क्षेत्रको विकासमा एउटा कोशेढुङ्गो सावित हुने विश्वास व्यक्त गरे।

उनले सुदूरपश्चिम विश्वविद्यालय प्रदेशका नागरिकहरूको उच्च शिक्षामा पहुँच विस्तार गर्न विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गर्दै विभिन्न विधामा गुणस्तरीय जनशक्ति उत्पादन गरी मुलुकमा आवश्यक दक्ष जनशक्तिको खाँचो पूरा गर्न विश्वविद्यालयले सहयोग गरेको बताए ।

‘खासगरी यस विश्वविद्यालयले यस क्षेत्रका निम्न तथा मध्यम आय भएका विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षा प्रदान गरी पुर्‍याएको योगदान प्रशंसनीय छ,’ प्रधानमन्त्रीले भने ।

सुदूरपश्चिम विश्विद्यालयले प्राविधिक धारतर्फ स्वास्थ्य विज्ञान सङ्कायअन्तर्गत चिकित्सा शिक्षाको पठनपाठन सुरू गरिसकेको बताउँदैं प्रधानमन्त्रीले विश्वविद्यालयले सेवा विस्तार गर्नुपर्ने बताए । उनले त्यसका लागि नेपाल सरकारको आवश्यक सहयोग रहने उल्लेख गरे ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ