२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकीकृत स्वास्थ्य सेवा ऐन ल्याउनदेखि सबै संघीय अस्पताल पूर्ण क्षमतामा संचालन गर्न एमालेको माग

एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउनदेखि सबै संघीय अस्पताल पूर्ण क्षमतामा संचालन गर्न एमालेको माग


काठमाडौं—नेकपा एमालेको स्वास्थ्य विभागले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवलाई भेटेर एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउन माग गरेको छ । ६ जेठमा मन्त्री यादवलाई भेटेर ध्यानाकर्षण पत्र बुझाउँदैं एमाले स्वास्थ्य विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठसहितका पदाधिकारीले एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउन माग गरेका हुन् ।

यस्तै, स्वास्थ्य बीमा जनशक्ति पूर्ति गरेर व्यवस्थित गर्न पनि एमालेले माग गरेको छ । १६ बुँदे ध्यानाकर्षणपत्रमा स्वास्थ्य सेवामा बाँझिएका कानुनलाई तत्काल संशोधन गर्न, स्थानीय तहमा बन्न लागेका आधारभूत अस्पतालको निर्माण सम्पन्न गरी ओएनएम गरेर स्वास्थ्यकर्मी पदपूर्ति गर्नुपर्ने, आस्थाका आधारमा गरिएको जथाभावी सरुवा, बर्खास्ती र नियुक्ति सच्चायाएर कर्मचारीको मनोबल उच्च राख्नुपर्ने माग पनि उसले गरेको छ ।

एमालेले शल्यक्रिया र डायलाइसिस सेवा सर्वसुलभ बनाउन यथाशीघ्र पहल गर्नुपर्ने, रोग रोगथाम तथा नियन्त्रण केन्द्र, प्रत्यायन प्राधिकरणजस्ता राष्ट्रिय संरचनाको निर्माण गर्नुपर्ने, स्वास्थ्य विज्ञान प्रतिष्ठान छाता ऐन बनाउनुपर्ने र प्रदेशमा स्थापना गर्नुपर्ने प्रतिष्ठानको काम सुरु गर्नुपर्ने, फाजिलमा रहेका र समायोजन नमिलेका कर्मचारीलाई जिम्मेवारी दिनुपर्ने, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षालाई प्रभावकारी बनाउन कानुन कडाइपूर्वक लागु गर्नुपर्ने, जल उत्पन्न विपत्ति व्यवस्थापनको तयारीको पूर्व कार्य गर्न समेत मन्त्री यादवको ध्यानाकर्षण गराएको छ ।

उसले वीर अस्पताललगायतका सबै संघीय अस्पतालमा जनशक्ति थप गरेर पूर्ण क्षमतामा संचालन गर्नुपर्ने, आईसीयु, शल्यक्रिया र आकस्मिक सेवामा रहेको अभावलाई पूरा गरी जनतालाई छिटो र सहज सेवा दिनुपर्ने, चिकित्सक तथा युवा जनशक्ति विदेश पलायन रोक्न पनि स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ