२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहिउँ परेर चिसो बढेपछि स्वास्थ्य चौकीमा आगो बालेर सुत्केरी गराउनुपर्ने बाध्यता

हिउँ परेर चिसो बढेपछि स्वास्थ्य चौकीमा आगो बालेर सुत्केरी गराउनुपर्ने बाध्यता


बझाङ—भारी हिमपात घट्दो तापक्रमसँगै भौतिक पूर्वाधार र स्वास्थ्य व्यवस्थापन समितिको अभावले बित्थड चिर गाउँपालिका भित्रका स्वास्थ्य चौकीको सेवा प्रभावित बनेको छ । स्वास्थ्य चौकीमा विद्युत, खानेपानी, स्वास्थ्यकर्मीदेखि औषधी र उपकरण अभावसम्मका समस्या छन् ।

बझाङको बित्थड चिर गाउँपालिका ९ वटै वडामा रहेका आधारभूत स्वास्थ्य चौकीमा वडाअध्यक्षहरुको अटेरीले आधारभूत स्वास्थ्य चौकी सञ्चालनमा समस्या आएको हो ।

वडा नम्बर १ मा रहेको बित्थड आधारभूत स्वास्थ्य चौकी स्थापना भएको पाँच महिना बितिसक्दा पनि स्वास्थ्य व्यवस्थापन समिति गठन हुन सकेको छैन् । व्यवस्थापन समिति नभएकै कारण आधारभूत स्वास्थ्य चौकीको सेवा प्रवाहमा समस्या आएको छ । व्यवस्थापन समिति गठनका लागि वडा अध्यक्षले चासो देखाएका छैनन् ।

बित्थड आधारभूत स्वास्थ्यचौकी इन्चार्ज महेन्द्र बोहरा कार्यालय परिसरको हिउँ बेल्चाले सफा गर्दै ।

स्वास्थ्य चौकीका इन्चार्ज महेन्द्रबहादुर बोहराकाअनुसार कार्यालय परिसरमा विद्युतका तार पुगेको महिनौ बितेपनि मिटर बक्स उपलब्ध नभएकै कारण विद्युत सेवा विस्तार हुन सकेको छैन् । बर्थिङ सेन्टरसहितको आधारभूत स्वास्थ्य चौकीमा विद्युत सेवा उपलब्ध नहुँदा आगो बालेर सुत्केरी गराउनुपर्ने बाध्यता रहेको उनले गुनासो गरे ।

सौर्य वत्तीमा वर्षा र हिमपातले घाम नपर्दा अध्यारोमा टर्च बालेर सुत्केरी गराउनुपर्ने बाध्यता रहेको अनमी संगीता बोहराले बताइन् । ‘प्रसव पीडामा महिला छट्पटिँदा सम्हाल्न पनि गाह्रो पर्छ,’ उनले भनिन्, ‘चिसो मौसम छ । बाहिर ढकमक्क हिउँ परेको छ, डेलिभरी गराउने ठाउँ हिटरको व्यवस्था छैन् । आगोको धुवाले बच्चाको स्वास्थ्यमा असर पर्ने भएपनि बाध्य भएर आगो बाल्नु परेको छ ।’

स्रोत साधन अभावमै गत साउन यता मात्रै स्वास्थ्य चौकीबाट ९ जनालाई प्रसुती सेवा दिइएको इन्चार्ज बोहराले बताए । अन्य रोगका बिरामी दैनिक १० देखि १५ जना जति आउने गरेको उनले जानकारी दिए । ज्वरो, रुघाखोकी, छाला तथा कानका संक्रमणका साथै घाउचोटका बिरामी आउने गरेको उनले बताए ।

ज्वरो, खोकी तथा गर्भवती जाँचका लागि आएका महिलाको रगत, जन्डिसजस्ता समस्याको पहिचान गर्न ल्याब (प्रयोगशाला) आवश्यक पर्छ । यो सेवा अनिवार्य भएपनि स्वास्थ्य चौकीले प्रवाह गर्न सकेको छैन । ‘सामान्य अवस्थामा त बिरामीको लक्षण हेरी औषधी दिन्छौं,’ उनले भने, ‘तर, जटिल अवस्थामा बाहिर रिफर गर्नुको विकल्प छैन । ल्याबको समस्या बित्थड चिर गाउँपालिकाका सबै स्वास्थ्य चौकीमा रहेको छ ।’

बित्थड चिर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिभक्त अवस्थीले आफूले बित्थड चिरका ९ वटै वडामा स्वास्थ्य चौकी व्यवस्थापन समिति गठनको लागि दुई महिना पहिले नै पत्र पठाएको बताए । उनले हालसम्म कुनै पनि वडामा व्यवस्थापन समिति गठन नभएको भन्दै वडा अध्यक्षहरुले अटेर गरिरहेको बताए । गाउँपालिकाले स्वास्थ्य चौकी व्यवस्थापनको लागि दुई लाख बढी बजेट विनियोजन गरेको र व्यवस्थापन समिती गठ्न नहुँदा बजेट कार्यान्वयनमा समेत समस्या आएको बताए ।

बित्थड चिर गाउँपालिका-१ का वडा अध्यक्ष धनबहादुर बोहराले स्वास्थ्य चौकी व्यवस्थापनको लागि गाउँपालिकाले बजेट बिनियोजन नगरेको कारण देखाउँदै व्यवस्थापन समिति गठन नगरेको बताएका छन् । उनले व्यवस्थापन शीर्षकमा बजेट बिनियोजन गरेपछि छिट्टै समिति गठ्न गर्ने बताएपनि गाउँपालिकाले उक्त शीर्षकमा बजेट विनियोजन गरिसकेको छ । यस्तै वडा कार्यालयमा विद्युत सेवा विस्तारको लागि केही कमजोरी भएको भन्दै केही दिनभित्रै पहल गर्ने वडाअध्यक्ष बोहराले बताए ।

उच्च पहाडी क्षेत्रपर्ने बित्थड हिउँदको समयमा झण्डै चार महिना हिमपात हुने र हिउँ जम्ने गर्छ । गत शुक्रबार र शनिबार भएको भारी हिमपातका कारण त्यहाँका मानिसको जनजीवन निकै कष्टकर बनेको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ