२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसेती अस्पतालको सेवा ४ महिनामा सुधार नभए राजीनामा दिन्छुः अध्यक्ष जोशी

सेती अस्पतालको सेवा ४ महिनामा सुधार नभए राजीनामा दिन्छुः अध्यक्ष जोशी


धनगढी-सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा दुर्गा जोशीलाई नियुक्त गरेको साढे चार महिना भएको छ । गठन आदेश मन्त्रिपरिषद्बाट पारित भएको झण्डै ६ महिनापछि साउन अन्तिम साता सेती अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा जोशीलाई नियुक्त गरिएको थियो ।

अस्पताल व्यवस्थापन समितिहरुलाई अस्पतालको व्यवस्थापन र संचालन गर्ने, अस्पताल व्यवस्थापनको लागि दीर्घकालीन तथा अल्पकालीन योजना तर्जुमा गर्ने र गराउने, आवश्यक साधन र स्रोत जुटाउने, अस्पतालको बजेट स्वीकृत गर्ने, अस्पतालको सेवा शुल्क निर्धारण गर्ने, भौतिक सम्पत्तिको संरक्षण तथा मर्मत सम्भार गर्नेलगायतका अधिकार दिइएको हुन्छ ।

सोही अधिकारको प्रयोग गर्दै सेती प्रादेशिक अस्पतालका अध्यक्ष जोशीले अबको चार महिना भित्रै सेवा सुधार गर्ने बताएका छन् । जोशीले चार महिनामा सेती अस्पतालको सेवा सुधार नभए राजीनामा दिने बताएका छन् ।

‘२०७६ साल चैत मसान्तसम्म राम्रो अस्पताल बनाउन नसके कुर्सीमा बसिराख्नपर्ने कुनै कारण हुँदैन्,’ जोशीले भने, ‘अस्पतालको सेवा सुधार नभए बैशाख १ गते नै राजीनामा दिन्छु ।’

उनले उक्त अवधिभर एएचए सेवा सुरु गर्ने, सरसफाइलाई उच्च प्राथमिकता राख्ने, चिकित्सकसँगै स्वास्थ्य कर्मचारीको पदपुर्ती गर्ने, कुकुर हटाउने अभियानलाई पूर्णता दिने योजना राखेको बताए । अस्पताल विकास समितिका सदस्यसँगै आफू पनि राती ९ बजेसम्म वार्डमा घुमिरहेको बताउँदै उनले विरामीको गुनासो सुन्ने पहिलो व्यवस्थापन समिति भएको दावी गरे ।

‘हामीले सेती प्रादेशिक अस्पताललाई मन्दिर सम्झेका छौं, आफूलाई त्यो मन्दिरको पुजारी सम्झेका छौं । बैशाख महिनामा अस्पतालमा आउनुस तपाईहरु पक्कै परिवर्तन देख्नुहुन्छ,’ जोशीले भने ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ