२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधनगढी उपमहानगरपालिका पनि आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न असफल

धनगढी उपमहानगरपालिका पनि आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न असफल


धनगढी-कैलाली र कञ्चनपुरका अधिकांश स्थानीय पालिकाले स्वास्थ्य संस्थाहरुको उचित व्यवस्थापन गर्न नसकेपछि नागरिकले सास्ती खेप्नुपर्ने बाध्यता रहेका बेला धनगढीमा पनि उस्तै अवस्था रहेको छ ।

उपमहानगरपालिकाले मातहतका स्वास्थ्य संस्थाको उचित व्यवस्थापन गर्न नसक्दा नागरिक आधारभूतस्तरको सेवा पाउनबाट वञ्चित भएका छन् ।

स्वास्थ्य संस्थाका लागि आवश्यक पर्ने औषधी खरिदलगायतका काम व्यवस्थापन गर्न नसक्दा नगरवासीले आधारभूतस्तरको स्वास्थ्य सेवा समेत नपाएका हुन् । सहरी स्वास्थ्य केन्द्रका प्रमुख कृष्णदत्त पन्तले सरकारले अनिवार्य गरेका सबै औषधी वितरण गर्न नसकिएको उल्लेख गरे ।

उनले अहिले जिल्ला स्वास्थ्य कार्यालय र प्रादेशिक स्वास्थ्य व्यवस्थापन केन्द्रबाट औषधीको आपूर्ती गरिरहेपनि उपमहानगरपालिकाको बजेटले खरिद नभएको बताए । उपमहानगरपालिकाले भने आर्थिक वर्षको छ महिना बित्दा समेत स्वास्थ्य संस्थाका लागि आवश्यक पर्ने औषधी खरिद नसकेको हो ।

खरिद प्रक्रिया थाल्न नै ढिलाइ गरेपछि समस्या भएको हो । स्वास्थ्य सेवाको व्यवस्थापनका लागि मात्रै झण्डै साढे पाँच करोड छुट्याएको उपमहानगरपालिकाले गत कात्र्तिकमा मात्रै टेण्डर आह्वान गरी मंसिरमा मात्रै ठेक्का सम्झौता गरेको स्वास्थ्य शाखा प्रमुख कुम्भराज शर्माले बताए ।

उनले अहिले प्रादेशिक स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र र जिल्ला स्वास्थ्य कार्यालयबाटै आवश्यक पर्ने औषधी खरिद गरी वितरण गरिरहेको जनाए । तर केही दिन भित्रै औषधी आपूर्ती गरिने दावी शर्माको छ ।

स्थानीय तहलाई १५ शैय्यासम्मको अस्पताल सञ्चालन र व्यवस्थापन गर्ने अधिकार भएपनि स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रकै व्यवस्थापनमा धनगढी उपमहानगरपालिका असफल भएको हो । निर्वाचित जनप्रतिनिधीहरुको ध्यान जनसेवा भन्दा पनि आफ्नो स्वार्थ पूर्तीमा केन्द्रीत भएपछि आम नगरवासीले आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको गुनासो पनि गरिदै आएको छ ।

तर, धनगढीका जनप्रतिनिधिहरु भने नयाँ व्यवस्था भएका कारण केही समस्या भएको दावी गर्दै आएका छन् । उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले कर्मचारी समायोजनका कारण आउने जाने क्रम जारी रहेको बताए । उनले बजेट अभावले औषधी आपूर्तीमा केही समस्या भएपनि खरिद प्रक्रिया अगाडी बढाएको दावी गरे ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ