२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्ययी हुन् ६ देश, जहाँ भ्याक्सिनले रोक्यो कोरोना रफ्तार

यी हुन् ६ देश, जहाँ भ्याक्सिनले रोक्यो कोरोना रफ्तार


काठमाडौं—नेपाल, भारतसहितका थुप्रै देशहरु अहिले कोभिड—१९ को दोस्रो लहरसँग जुधिरहेका छन् । पहिलो लहरभन्दा दोस्रो लहर झन खतरानाक रुपमा फैलिइरहेको छ ।

ठीक यही बेला सुखद खबर के छ भने बेलायत, स्पेन, अमेरिका, इजरायल, जर्मनी र फ्रान्सजस्ता कोभिड—१९ को भयानक महामारी सामना गरेको देशहरुमा यसको संक्रमणको रफ्तार कम भएको छ । कुनै समय स्वास्थ्य संरचनाले पनि कोभिड—१९ का बिरामीलाई नधानेका यी देशहरुमा अहिले कोभिड—१९ को संक्रमण कम छ । यसको एकमात्र कारण भ्याक्सिनेसनलाई मानिएको छ ।

विज्ञहरुले पनि धेरैधन्दा धेरै भ्याक्सिनेसनबाटैं कोरोना महामारी रोक्न सकिने दावी गरिरहेका छन् । अहिले भ्याक्सिनेसनको पोजेटिभ रिजल्ट दुनियाँ यी ६ देशमा देख्न सकिने केही विश्लेषकहरुको राय छ ।

भ्याक्सिनेसनको सबैभन्दा ठूलो उदाहरण बेलायतलाई मानिएको छ । बेलायतमा गत वर्षको ८ डिसेम्बरदेखि भ्याक्सिनेसन सुरु भएको थियो । त्यो बेला बेलायतमा ६०—७० हजार संक्रमित दैनिक बढिरहेका थिए । यस्तै मृत्युको संख्या १ हजारदेखि १२ सयको हाराहारीमा थियो । अहिले बेलायतमा दैनिक १५—२० हजार नयाँ संक्रमित भेटिरहेका छन् भने मृत्युको आँकडा १५—२० मा झरेको छ ।

इजरायलमा सबैभन्दा बढी ६१ प्रतिशत जनसंख्यालाई कोभिड—१९ विरुद्धको भ्याक्सिन दिइएको छ । अहिले इजरायलमा अनिवार्य मास्क लगाउने पर्ने नियम पनि हटाइएको छ । जीवनशैली कोभिड—१९ पूर्वकै अवस्थामा फर्किने लयमा छ । अहिलेसम्म ६१ प्रतिशत जनसंख्यालाई भ्याक्सिन दिइएको इजरायलमा आगामी दुई तीन महिनाभित्रै ९० प्रतिशत जनसंख्यालाई भ्याक्सिन लगाइनेछ । पहिले १० देखि ११ हजारसम्म दैनिक नयाँ संक्रमित थपिने इजरायलमा अहिले दैनिक १० देखि १५ नयाँ संक्रमित थपिइरहेका छन् ।

अहिले दक्षिणी छिमेकी मुलुक भारतजस्तै कुनै समय अमेरिका पनि कोरोना महामारीसँग जुधिरहेको थियो । कुनै समय अमेरिकामा १ देखि ३ लाखसम्म दैनिक नयाँ केस थपिन्थे । अवस्था कस्तो पनि थियो भने दैनिक २ देखि ६ हजारसम्म मानिसहरुले कोभिडका कारण ज्यान गुमाइरहेका थिए ।

अमेरिकामा पनि भ्याक्सिनेसन सुरु भयो । अमेरिकाले अहिले ३९.५६ प्रतिशत जनसंख्यालाई भ्याक्सिन दिइसकेको छ । अहिले अमेरिकामा कोरोना संक्रमणमा ८० प्रतिशत कमी आएको छ । पहिले १ देखि ३ लाखसम्म नयाँ संक्रमित थपिने अमेरिकामा अहिले त्यो संख्या ५०—६० हजारमा झरेको छ ।

भ्याक्सिनेसनकै कारण स्पेन, जर्मनी र फ्रान्सको अवस्थामा पनि सुधार आइरहेको समाचार एजेन्सीहरुले जनाएका छन् । जनवरीसम्म स्पेनमा २५—३० हजार नयाँ संक्रमित थपिरहेका थिए भने अहिले त्यहाँ दैनिक ८—१० हजार संक्रमित थपिइरहेका छन् । अहिले स्पेनमा २० प्रतिशत जनसंख्यालाई भ्याक्सिन दिइएको छ । जर्मनीमा २०.०७ प्रतिशत जनसंख्यालाई भ्याक्सिन लगाइएको छ । जसका कारण त्यहाँ मृत्युदरमा कमी आएको छ । जनवरीसम्म १ हजार देखि १५ सयसम्म संक्रमित मृत्यु भइरहेको थियो भने अहिले त्यो घटेर २ देखि ४ सय पुगेको छ ।

यस्तै, फ्रान्समा १८.७३ जनसंख्यालाई भ्याक्सिन दिइएको छ । अप्रिलको सुरुवातसम्म यहाँ दैनिक ६० हजारसम्म संक्रमित थपिएका थिए, अहिले त्यो घटेर २५—३० हजारमा पुगेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ